दि एक्सेलसियर र रेडिअन्ट सेमिफाइनलमा

काठमाडौ । छैटौँ दी एक्सेलसियर कप अन्तरविद्यालय खेलकुद प्रतियोगिताअन्तर्गत बास्केटबलतर्फ आयोजक दी एक्सेलसियर र रेडिअन्टका दुवै टिम सोमबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित दी एक्सेलसियरको कोर्टमा भएको बास्केटबलको सिनियर छात्रातर्फ दी एक्सेलसियरले ग्यालेक्सी पब्लिकलाई १९–१५ को स्कोरमा हराउँदा केल्साङ डोल्मा शेर्पाले सर्वाधिक १२ स्कोर गरिन् ।

सिनियर छात्रको क्वार्टर फाइनल खेलमा रितेश बस्नेतको महत्वपूर्ण २६ स्कोरको सहयोगमा दी एक्सेलसियरले महामञ्जुश्रीमाथि ४७–१९ को सहज जित निकाल्यो । जुनियर छात्रको क्वार्टर फाइनल खेलमा रेडिअन्टले महामञ्जुश्रीलाई ३५–२१ को स्कोरमा हराउँदा प्रस्तुत पौडेलले सर्वाधिक ११ स्कोरको योगदान दिए ।

सिनियर छात्रको क्वार्टर फाइनल खेलमा रेडिअन्टले अरुणोदयलाई ४७–७ को फराकिलो अन्तरले हरायो । रेडिअन्टको जितमा नायक बनेका सुजन थपलियाले सर्वाधिक २० स्कोर गरे ।

छात्रा बास्केटबलको क्वार्टर फाइनमा स्किब्सले स्वर्णिम २०–१६ तथा टिआइएले रुपिजलाई २२–१२ को स्कोरमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित गरे ।स्किब्सको जितमा देव्यानी केसीले ७ स्कोर गर्दा टिआइएको जितमा रिन्छेन मुत्तानले ८ स्कोरको योगदान दिएकी थिइन् ।

आयोजक दी एक्सेलसियरको आर्टिफिसियल खेल मैदानमा भएको जुनियर छात्र फाइभ ‘ए’ साइड फुटबलमा दी एक्सेलसियरले न्यु जेनितलाई ४–२ को स्कोरमा हराउँदै क्वार्टर फाइनलमा स्थान बनायो । सनियर छात्र फाइभ ‘ए’ साइड फुटबलमा राजन मेमोरियल र माउन्टग्लोरीले सफलता हात पार्दा आयोजक हरियो र एम्सले गोलरहित बराबरी खेलेका छन् । राजन मेमोरियलले शिशु निकुञ्जलाई ३–१ ले हराउँदा माउन्टग्लोरीले काब्यलाई ५–४ गोल अन्तरले स्तब्ध बनायो ।

प्रतिक्रिया