-लोकेश धामी । पुस २ गते, सुदूरपश्चिम महोत्सवको तेस्रो दिन । अरू वर्ष मंसिर २२ देखि आयोजना हुने महोत्सव विशेष कारणले यो वर्ष मंसिर २९ गतेदेखि सुरु भएको हो । १० दिनसम्म आयोजना हुने महोत्सवमा विभिन्न आकर्षण रहेका छन् । म पनि पाँच वर्षदेखि नछुटाई महोत्सव अवलोकन गरिरहेको छु । महोत्सवमा मलाई अरूभन्दा पनि स्टेज कार्यक्रम हेर्न औधी मजा लाग्छ । किनकि, महोत्सवको स्टेजमा नाम कमाएका गायक–गायिका आउँछन् । र, उनीहरूले आफ्ना चर्चित गीत प्रत्यक्ष प्रस्तुत गर्छन् । महोत्सवमा आउने हरेकको मन स्टेज कार्यक्रममा बढी हुने गर्दछ ।
सुप महोत्सवको स्टेजमा हरेक दिन विभिन्न प्रस्तुति प्रस्तुत हुने गर्दछन् । कोहीले गीत गाउँछन् । कोहीले विभिन्न प्रकारका गीतमा कर्मर मर्काउँछन् । कोहीले भने पेट मिचीमिची हसाउन प्रसिद्ध कलाकारका आवाज हुबहु निकाल्छन् । यति मात्रै होइन, अन्य प्रस्तुति पनि उक्त स्टेजमा देख्न पाइन्छन् । महोत्सवमा सबैको ध्यान गीत सँगीतमा बढी हुने गर्दछ । ति गीतमा राष्ट्रिय कलाकारले आवाज दिएका हुन्, वा स्थानीय कलाकारले । जसले गाएका पनि ध्यान भने त्यहाँ उपस्थित दर्शकले गीत सँगीतमा दिई रहेका हुन्छन् ।
दर्शकले समर्थन गरेर हुन्, वा नगरेर । प्रस्तुत भइ रहेका गीत गाउने गायक–गायिकामा नजर भने दर्शक÷श्रोताले दिइरहेका हुन्छन् । मैले अवलोकन गरेको समय देखि अहिलेसम्म मसीनो तरिकाले महोत्सवको मूल्यांकन गर्ने हो भने स्थानीय कलाकर्मीलाई सुरुमा पालो दिएको देख्छु । एक हिसाबले आयोजकको यो निर्णयलाई पनि स्वागत ठान्नुपर्छ । किनकि, पालो त अगाडि पाइयो नि ! तर, जब दर्शकको उपस्थिति नै पात्लो हुन्छ पालो दिएको के अर्थ । यही नेर स्थानीय कलाकार तथा गायक÷गायिकलाई आयोजकले विभेद गरेको पाइन्छ ।
महोत्सवको उद्देश्यभित्र यस क्षेत्रको कला संस्कृति जगेर्ना गर्नु पर्दछ भन्ने पनि पर्छ होला । कि पर्दैन ? यसको जबाफ आयोजकसँग कुनै दिन मागौंला । जो गायकले प्रदेश नं.–७ का कला, संस्कृति, पीडा, दुःख, वेदना गीतमा उतारेको हुन्छ उसलाई नै किन आयोजकले दर्शक थोरै भएको बेला समय दिन्छ होला ? यो प्रश्नको जबाफ सरल छ । किनकि ऊ राष्ट्रिय स्तरमा प्रख्यात छैन । यति मात्रै होइन उसले दर्शकलाई नचाउन सक्दैन, उ महोत्सवमा आयो भने आयोजकलाई घाटा हुन्छ इत्यादि । अरू पनि थुप्रै कारण होलान् ।
अहिलेका दर्शक÷श्रोता समय अनुसारका गीत रुचाउँछन् । उनीहरू त्यही पुराना शैलीका देउडा गीत मन पराउँदैनन् । अहिलेका दर्शक÷श्रोताले बेदनाले भरिपूर्ण मात्रै नभएर मनोरञ्जन सहितका गीत सुन्न इच्छा राख्छन् । तर, धेरै देउडा गायकले समय अनुसारका गीत ल्याउन सकेका छैनन् । पुरानो पुस्ताले नयाँ गीत ल्याउन सकेका छैनन् । नयाँ पुस्ताले गीत त ल्याएका छन् । तर, मौलिकपन हराएका । तर, यस्ता गीत दर्शक÷श्रोताले मन पराइरहेका छन् । अहिले पनि केही नयाँ देउडा गायक÷गायिकाले नयाँ शैलीका गीत ल्याएका छन् ।
गीत गाउँने शैली र सँगीतमा अलि फरकपन ल्यायो भने त देउडा गीत अहिले पनि सुपरडुपर चल्ने रैछ त भन्ने झल्को नयाँ पुस्ताले गाएका देउडा गीतले दिइरहेका छन् । पुरानो पुस्ता नयाँ पुस्ताले बजारमा ल्याएका देउडा गीत होइनन् भनिरहेका छन् । तर, नयाँ पुस्ता भने देउडा गीत नै हुन्, फरक यति हो अलिकति नयाँपन दिएका छौँ भनी रहेका छन् । पुरानो पुस्ताका देउडा गायक गुमनाम भएका छन् । उनीहरू अधिकांशले नयाँ गीत बजारमा नल्याएको लगभग आधा दशक नै भयो होला ।
पुराना देउडा गायक ÷ गायिकाले मेला महोत्सवमा पनि तिनै पुराना आफ्ना गीत गाउँछन् । उनीहरूले गीत गाए पनि सुन्ने र हेर्ने दर्शक÷श्रोताको संख्या भने दिनहुँ घट्दै छ । यस्तो झल्को यस क्षेत्रमा आयोजना हुने मेला महोत्सवले दिने गर्दछ । नयाँ पुस्ताले आवाज दिएका देउडा गीत अहिले बजारमा चर्चित छन् । उनीहरूका देउडा गीत केवल सुदूरपश्चिममा मात्रै होइन समग्र मुलकुमा नै चर्चाको शिखरमा छन् । पुरानो पुस्ताका देउडा गीत केवल मध्य तथा सुदूरपश्चिममा सीमितजस्तै थिए । नयाँ गायक÷ गायिकाले गाएका गीत मौलिक नभए पनि समय सुहाउँदो छन्, भन्दा फरक नपर्ला । नयाँ पुस्ताका देउडा गीत समाजलाई सकारात्मक दिशाभन्दा नकारात्मक तर्फ अग्रसर गराउने आशयका भए पनि युवा पुस्ताका रोजाइका भने छन् ।
तर, यस्ता गीतको आयु भने थोरै हुन्छ भन्ने हेक्का राख्न जरुरी रहेको पुरानो पुस्ताको ठहर छ । पुराना पुस्ताका गीतका पारखी पनि परानै छन् । उमेरले पाको भएका व्यक्ति अहिलेका बजारमा आएका देउडा गीत देउडा गीत हुन भनेर स्विकानै तयार छैनन् । उनीहरू भन्छन्, ‘देउडा गीतको मौलिकपन हराउन खोज्ने नाममा गाएका गीत हुन् ।’ एक हिसाबले उनीहरूको तर्क पनि जायज नै हो । तर, पुरानै शैलीलाई अलि मरिमार्जित गर्दै समय सुहाउँदो बनाउने कि नबनाउने ? समय सुहाउँदोको नाममा मौलिकपन हराउने होइन बरु अझ बढी देउडा गीत सुन्न बनाउन केही सुधार गर्न भने अपरिहार्य छ ।
यस क्षेत्रमा आयोजना हुने महोत्सवमा पुराना देउडा गायक÷गायिका मञ्चमा उक्लने बित्तिकै उनीहरूलाई युवाहरू बाइबाइ गर्छन् । किन पुराना देउडा गायक÷गायिकाले नगाउँदै प्रस्तुति हेर्न चाहने युवालाई मनोरञ्जन पुग्छ । यो विषयको बहस आवश्यक छ । यस्तै दृश्य हेर्न अहिले सुदूरपश्चिममा आयोजना हुने मेला महोत्सवमा गए पुग्छ । धनगढीमा आयोजना भइरहेको महोत्सवमा पनि यस्ता दृश्य सजिलै देख्न पाइन्छ । अधिकांश देउडा गायक÷गायिका आफ्ना गीत पूरा नगाउँदै मञ्चबाट बिदा हुनु पर्ने वातावरण सिर्जना हुने गरेको छ । उनीहरू बल्ल एक दुइ गीत गाउँन नपाउँदै युवा दर्शकको बाईबाई पाउँछन् । अधिकांश पुराना देउडा गायक÷गायिक महोत्सवमा नै आउन डराउने भएका छन् । किनकि, उनीहरूले गाएका गीत दर्शकले सुन्न रुचाउँदैनन् ।
यस्तै, आयोजकको बलियो साथ नहुँदा पनि पुराना गायक÷गायिका मेला महोत्सवमा आउने अबर पाउँदैनन् । दर्शक÷श्रोताले पनि नजिकको तिर्थ हेला गरेको देखिन्छ । किनभने आफ्नै भूमि, जल, जमिनको गाथाबारे आवाज दिएका गीत सुन्न चाहन्नन् । आफू जन्मेको बाटोबारे गीत गाएको भए पनि त्यस्ता गीत नुसन्ने अधिकांशमा बानी नै बसेको छ । अब यस्तो बानीको अन्त्य गर्दै आफ्नै सेरोफेरोबारे वर्णन गरेका देउडा गीत सुन्न पनि अग्रसर हुनुप¥यो । देउडा गीत सुदूरपश्चिमको चिनारी हो ।
अधिकांश ठाउँमा देउडा गीत गाइने क्षेत्र भनेर सुदूरपश्चिमले परिचय बनाएको छ । यो पहिचान जोगाउनका लागि देउडा गीतलाई माया गर्ने कि नगर्ने हो यस क्षेत्रका बासीन्दाको हातमा छ । पुराना देउडा गायक÷गायिकासँग हातेमालो गर्दै नयाँ पुस्ताले हिड्ने कि नहिड्ने ? यस्तै, पुरानो पुस्ताले पनि नयाँ पुस्ताको माग, आवश्यकता तथा समयलाई बुझ्न सक्नु पर्छ । अनि मात्रै, यस क्षेत्रको मौलिकपन बोकेको देउडा गीतको अस्तित्व जोगाउन सकिन्छ ।
प्रतिक्रिया