नेपालमै कतै नमनाइने ‘छोरा’ तिहार कर्णालीवासीले यसरी मनाए

डोल्पा, ५ पुस । भाइ तिहार सकिएको दुई महिनापछि बुधबार कर्णालीवासीले छोरा तिहार पनि मनाएका छन् । नेपालमै कतै नमनाइने छोरा तिहार प्रत्येक वर्ष पौष शुक्ल द्वितीयका दिन कर्णालीका जुम्ला र डोल्पाका सर्वसाधारणले धुमधामका साथ मनाउने गर्दछन् ।

भाइटीका जस्तै छोरा तिहारमा पनि आमाले छोरालाई निधारमा अक्षता, गलामा माला र सगुनका रुपमा घरमै बनाइएको सेलरोटी, फिनीरोटी, चिनीरोटीजस्ता परिकारसहित छोरालाई टीका लगाउने प्रचलन छ ।

टीकासँगै छोरालाई दीर्घायु र प्रगतिको कामना गर्दै आशीर्वाद दिने गरिन्छ । छोराले पनि आमालाई दक्षिणाका रुपमा पैसा, धोती, चोलीलगायतका सामग्री दिएर टीका थाप्ने गरिन्छ ।

छोरा तिहारमा आमाको हातबाट टीका थापिसकेपछि सम्पूर्ण पुरुष जम्मा भई प्रत्येक घर-घर तथा गाउँ-बस्तीमा पुगेर भैलो खेल्ने प्रचलन छ ।

आजको दिनमा महिला पनि सार्वजानिकस्थलमा भेला भएर चुट्किला–देउडा खेलेर रमाइलो गर्ने र एकअर्काको पीर–व्यथा साटासाट गर्ने गरिन्छ ।

भाइ तिहारमा खेलिनेलाई देउसी र छोरा तिहारमा खेलिनेलाई भैलो भनेर भनिने त्रिपुरासुन्दरी-१ का स्थानीयवासी रविप्रसाद न्यौपानेले बताए । यो भैलो तिहारको देउसीभन्दा फरक ढंगबाट र फरक लयमा खेलिने उनले बताए ।

भैलो खेलेर मागेको चामल, धान, पैसा सबै भैलो खेल्न गएका सबैजना मिलेर पाठी भात (स्थानीय भाषामा) खाने प्रचलन रहेकोसमेत उनले बताए । छोरा तिहारमा आमा नहुनेले भने स्थानीय मन्दिरमा गएर पुजारीको हातबाट टीका-अक्षता लगाएर छोरा तिहार मनाउने गर्दछन् ।

प्रतिक्रिया