रमेश गिरी
भक्तपुर, ४ पुस । चाँगुनारायण नगरपालिकाको घरधुरी तथ्यांक तथा भौगोलिक सूचना प्रणाली सार्वजनिक गरिएको छ ।
फ्रेण्ड्स सर्भिस काउन्सिल नेपालले तयार पारेको डिजिटल तथ्यांक सार्वजनिक गरी मंगलबार नगरपालिकालाई हस्तान्तरण गरिएको हो ।
तथ्यांक र पाश्र्वचित्रसहितको प्रतिवेदन बुझ्दै नगरपालिकाका उपप्रमुख बिना बाँस्तोलाले नेपालमै पहिलो पटक नगरपालिकामार्फत यस प्रकारको तथ्यांक संकलन भएको बताए ।
उनले यसले नगरपालिकालाई आगामी १५ वर्षसम्म कुनै पनि योजना बनाउन सहयोगी हुने जानकारी दिए ।
यसलाई अरु नगरपालिकाले पनि अवलम्बन गर्न सके देशभरको तथ्यांक सरकारले सहजै प्रयोगमा ल्याउनसक्ने र प्रभावकारी पनि हुने उनको भनाइ थियो ।
कार्यक्रममा नगरपालिका प्रशासकीय अधिकृत लोकनाथ भुषालले यो तथ्यांक नगरपालिकाको लागि निकै उपयोगी र प्रभावकारी हुने भएकाले गोपनीयता अपनाइएको बताए ।
नगरपालिकाको अनुमतिबिना हेर्न नसकिने र नगरपालिकाका कर्मचारीले समेत हेर्न नमिल्ने गरी व्यक्तिको गोपनीयता सुरक्षित राखिएको उनले जानकारी दिए ।
चाँगुनारायण नगरपालिका-१ देखि ९ सम्मको क्षेत्रफलसँगै यहाँका ११ हजार ६७८ घरधुरीको डिजिटल तथ्यांक, जनसंख्या, शैक्षिक स्थिति, स्वास्थ्य सेवा, पेशा, कृषि, धर्म, जातजाति, धर्म, आम्दानीको स्रोत, सडकको अवस्थालगायत विभिन्न क्षेत्र समेटेको २३५ वटा प्रश्न राखेर सर्वेक्षण गरिएको काउन्सिलका अध्यक्ष सूर्यबहादुर थापाले जानकारी दिए ।
उनानचालिस दिन लगाएर ५५ जनाले प्रत्येक घरमा पुगी सर्वेक्षण गरेर जिपिएस नक्सासहित तथ्यांक संकलन गरिएको उनको भनाइ थियो ।
तथ्यांकअनुसार चाँगुनारायण नगरपालिका भित्र पुरुष २७ हजार ४६७ र महिला २६ हजार २८८ गरी कूल ५३ हजार ७६७ जनसंख्या छ ।
जसमध्ये ८२० जना अपाङ्ग छन् ।एक सय पाँच घरमा घरेलु कामदार रहेका छन् । ४५२ घरमा शौचालय नै छैन ।
तथ्यांक संकलनमा प्राविधिक सहयोग पुर्याउने नेपाल भौगालिक सूचना प्रणाली समाजका अध्यक्ष प्रा.डा. कृष्ण पौडेलले चाँगुनारायण नगरपालिकाका घरधुरीको पारिवारिक, सामाजिक र आर्थिक अवस्थादेखि भूधरातलको अवस्था, शहरी विकासका क्षेत्र, भवन, जंगल, चउर, बाँझोखेत, पोखरा, खोला, नदी, खानीको अवस्था, बाँझो जमिनको अवस्था, मानव बस्तीको अवस्था, उद्योग, महिलाको अवस्था, विपद्को अवस्था, विपद् पूर्वतयारीको अवस्था लगायतका विषयमा सर्वेक्षण गरी प्रतिवेदन तयार पारिएको बताए ।
तथ्यांकअनुसार यस नगरपालिकामा ४४.४ प्रतिशत नागरिकले कृषि पेशा अंगालेका, १४ प्रतिशत सरकारी जागिरमा रहेका, ६.८ प्रतिशत व्यापारमा, १२ प्रतिशत गैर पेशामा रहेको उल्लेख छ ।
जिल्ला समन्वय समितिका सूचना अधिकृत जोवन कोजूले तथ्यांक प्रस्तुत गर्दै चाँगुनारायण नगरपालिकामा बस्ने प्रत्येक घरधुरीको प्रत्येक सदस्यको पूर्ण विवरणसहित तथ्यांक समावेश गरिएको बताए ।
नगरपालिकाले कुनै पनि वडाका कुनै पनि व्यक्तिको सम्पूर्ण विवरण तुरन्तै हेर्न सक्नेगरी तयार पारिएको जानकारी दिँदै नगरपालिकाले थप तथ्यांक राख्न चाहेसक्ने गरी व्यवस्था गरिएको बताए ।
प्रतिक्रिया