वाचा दोहोर्याउँदै विजयी उम्मेदवार

रामबहादुर थापा

बागलुङ, ४ पुस । नतिजा आएको हप्ता नाघिसक्दा पनि प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा विजयी उम्मेदवार मतदाता भेट्नमै व्यस्त छन् ।

विजयी सभासँगै मतदातालाई धन्यवाद दिन गाउँ पसेका उम्मेदवारलाई बधाइ थाप्न भ्याईनभ्याई छ ।

चुनावी अभियानमा भन्दा विजयपछि झन् उत्साह र दृढताकासाथ उम्मेदवार मतदाता माझ पुगेका हुन् । मत माग्दा गरेका वाचालाई उम्मेदवारहरुले पुनः दोहोर्याएका छन् ।

सदरमुकाममा संयुक्त विजयोत्सव मनाएपछि उम्मेदवारहरु आ–आफ्नो चुनाव क्षेत्रमा मतदातालाई धन्यवाद दिन निस्केका हुन् ।

जिल्लाका सबै निर्वाचन क्षेत्रमा जित हासिल गरेको वाम गठबन्धनका उम्मेदवारले वडास्तरमा भएका विजय सभामा सहभागी हुँदै पहिले गरेका बाचा पुरा गर्ने पूरा गर्न पुनः दृढता व्यक्त गरेका छन् ।

मतदातालाई धन्यवाद दिनु मुख्य उद्देश्य भए पनि उम्मेदवारहरुले आफ्ना चुनावी प्रतिबद्धतालाई पुनः स्मरण गरेका हुन् ।

विजयपछिको भेटघाट तथा घरदैलो अभियानले आफूलाई थप जिम्मेवार बनाएको क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा विजयी नेकपा माओवादी केन्द्रका देवेन्द्र पौडेलले बताए ।

मत माग्न जाँदा गरेका वाचा पूरा गर्न चुनावी विजयले झक्झक्याएको उनको भनाइ छ । ‘‘हामीले जुन कबुल मतदाता माझ गरेका छौं, त्यो पूरा गर्ने दिशामा दृढ छौं” पौडेलले भने ।

पौडेलसहित प्रतिनिधिसभा २ को प्रदेशसभा ‘ख’ मा विजयी राष्ट्रिय जनमोर्चाका टेकबहादुर घर्तीसहितको टोलीले बूर्तिवाङ नगरपालिका, निसीखोला गाउँपालिका र तमानखोला गाउँपालिकाको विभिन्न वडामा विजयसभा तथा घरैदैलो गरेको छ ।

यस्तै प्रदेशसभा ‘ख’ बाट विजयी नेकपा माओवादी केन्द्रका चन्द्रबहादुर बुढा ‘सागर’ पनि घरदैलो अभियानमा व्यस्त छन् ।

“मतदाताको मन जित्नुपर्ने चुनौती हामी सामु छ, अभिमत खेर जान दिन्नौं” बुढाले भने ।उनले विकास निर्माणका काम आफ्नो प्रमुख लक्ष्य भएको बताए ।

जनताको सेवामा प्रतिबद्ध भएर लाग्ने उद्घोष गरेका उम्मेदवारले भाषण भन्दा पनि काम गरेर देखाउने प्रतिबद्धता गरेका छन् ।

“चुनावमा जाँदा हामीले साझा प्रतिबद्धता व्यक्त गरेका थियौं, तिनलाई पूरा गर्र्छौ” क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी सूर्य पाठकले भने ।

विकास, समृद्धि, सुशासन र सामाजिक न्यायका पक्षमा काम गर्ने उनको भनाइ छ । विकास र समृद्धिका लागि आफू सधैँ प्रतिबद्ध भएर लाग्ने पाठकले बताए ।

प्रतिनिधिसभा क्षेत्र नं १ को प्रदेशसभा ‘ख’ मा विजयी नेकपा एमालेका इन्द्रलाल सापकोटाले समग्र विकासको खाका कोरेर अगाडि बढ्ने उल्लेख गरे ।

चुनावी मैदानमा जाँदा मतदाता माझ गरेका प्रतिबद्धता पूरा गरेरै छोड्ने उनको भनाइ छ ।

‘‘कृषि, पर्यटन, ऊर्जा लगायतका क्षेत्रको विकास गर्न सकिने सम्भावना छ’’ सापकोटाले भने, “एकीकृत विकासको अवधारणा अनुसार काम गर्छौं ।”

उनले जनतामाझ गरेका वाचा नभुली जनताको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

जिल्लामा नेकपा एमाले, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा गठबन्धन बनाएर चुनावी मैदानमा उत्रिएका थिए भने नेपाली काँग्रेसले एक्लै चुनाव लडेको थियो ।

प्रतिक्रिया