सम्पदास्थल भ्रमणपछि मलेसियाली पाहुनालाई बिदाइ

काठमाडौँ, ४ पुस । मलेसियाको क्वालालम्पुरस्थित बुद्धिष्ट महाविहारका प्रतिनिधिमण्डलले विश्व सम्पदा सूचीमा सूचीकृत वसन्तपुर दरबार क्षेत्र तथा आसपासका क्षेत्रको मंगलबार अवलोकन गरेको छ ।

महाविहारका प्रमुख बौद्ध गुरु के धम्मरतनको नेतृत्वमा ६२ सदस्यीय सो प्रतिनिधिमण्डल सोमबार नेपाल आएको थियो ।

उक्त प्रतिनिधिमण्डलले सोमबार नै स्वयम्भूनाथ चैत्य, बौद्धनाथ चैत्य, करिब दुई हजार ३०० वर्ष पूरानो ऐतिहासिक सम्पदास्थल चारुमती विहारलगायतका केही महत्वपूर्ण सम्पदास्थल समेतको अवलोकन गरेको थियो ।

उक्त प्रतिनिधिमण्डललाई यहाँका विभिन्न स्थानको भ्रमणका लागि चारुमती विहारले संयोजन गरेको थियो ।

प्रमुख भिक्षु तपस्सी धम्मले धम्मरतनको समूहले गरेको भ्रमणले दुई देशबीचको सम्बन्ध बलियो हुने विश्वास व्यक्त गरे ।

दुई दिनको भ्रमण पूरा गरी मंगलबारै स्वदेश प्रस्थान गर्न लागेको सो प्रतिनिधिमण्डललाई उक्त विहारले विभिन्न उपहार प्रदान गरी बिदाइ गरेको थियो ।

प्रतिक्रिया