मुक्तिनाथको नयाँ बचत योजना

काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आकर्षक विशेषता सहितको बचत योजना सञ्चालनमा ल्याएको छ । पुस १९ गतेदेखि बैंक ११औँ वर्ष पूरा गरी १२औँ वर्षमा प्रवेश गर्दै छ । यसै अवसरमा बैंकले आकर्षक विशेषता सहितको सुपर प्रिमियम बचत तथा त्रिपल टु त्रिपल धमका मुद्दती निक्षेप खाता सञ्चालनमा ल्याएको हो ।

यस योजनाअन्तर्गत न्यूनतम मौज्दात पाँच हजार रुपैयाँमा सुपर प्रिमियम बचत खाता खोल्ने ग्राहकहरूलाई वार्षिक आठ प्रतिशतका दरले त्रैमासिक रूपमा ब्याज भुक्तानी प्रदान गरिनेछ भने २ सय २२ दिने मुद्दती खातामा न्यूनतम एक लाख रुपैयाँमा वार्षिक ११ प्रतिशतले त्रैमासिक रूपमा ब्याज प्रदान गरिनेछ । यस योजनाअन्तर्गत खाता खोल्ने प्रत्येक ग्राहकले पाँच ग्रामको चाँदीको सिक्का, निःशुल्क भिसा डेबिट कार्ड, निःशुल्क मोबाइल बैंकिङ तथा निःशुल्क इन्टरनेट बैंकिङसमेत प्राप्त गर्न सक्नेछन् ।

यो योजना बैंकको १२औँ वार्षिकोत्सवको अवसरमा सञ्चालन गरिएको हुँदा मिति ०७४ पुस २ गतेदेखि सुरु भई सीमित अवधिको लागि मात्र लागू गरिने बताइएको छ । यो योजनाअन्तर्गत व्यक्तिगत तथा संस्थागत सबै ग्राहकहरू सहभागी हुन पाउनेछन् । यो योजना बैंकका ७२ वटै शाखामार्फत लागू गरिएको छ ।

प्रतिक्रिया