खोजखबर

टनेलप्रति किसानको आकर्षण बढ्दै

सौर्य अनलाइन २०७४ मंसिर २७ गते १५:५८ मा प्रकाशित

दार्चुला, २७ मंसिर । पछिल्लो समय जिल्लाका अधिकांश किसान टनेलमा विभिन्न मौसमी तथा बेमौसमी तरकारी लगाइरहेका छन् ।

खुल्ला रुपमा भन्दा टनेलमा बढी तरकारी उत्पादन हुने भएका कारण किसान त्यसतर्फ आकर्षित हुन थालेका हुन् ।

उत्पादन बढी हुने, बेमौसमी तरकारी फलाउन सकिने, आधुनिक प्रविधियुक्त र सिँचाइ गर्न सजिलो हुने भएकाले किसानलाई टनेलभित्र तरकारी खेती गर्न सहज भएको सामुदायिक ग्रामीण विकास समाज नेपाल सिआरडिएसका टिम लिडर अशोक ओझाले जानकारी दिए ।

“टनेलभित्र उत्पादन बढी हुँदा आकर्षण बढ्दै गएको छ,” ओझाले भने ।

सिआरडिएसको पहल कार्यक्रमअन्तर्गत अहिले जिल्लाका भगवती, मालिकार्जुन, रिठाचौपता, बोहोरीगाउँ र खरकडामा कृषि स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जनसम्बन्धी काम भइरहेको छ ।

कार्यक्रम लागू भएका ठाउँमा किसान समूहमार्फत संस्थाले तरकारी खेती, बेर्ना उत्पादनलगायत सहयोग गरिरहेको ओझाले बताए ।

विसं २०४९ मा स्थापना भएको (सिआरडिएस) ले अहिले जिल्लाका विभिन्न ठाउँमा विकास निर्माणलगायत समाज परिवर्तनको क्षेत्रमा काम गर्दै आएको छ ।

पहल कार्यक्रमले तरकारीको बीउ तथा टनेल सहयोग गरेपछि आफूहरु व्यावसायिक रुपमा तरकारीखेतीतर्फ आकर्षित भएको किसानले बताएका छन् ।

किसानले अहिले विशेषगरी गोलभेँडा खेती गरिरहेका छन् । गाउँमै प्रतिकिलो रु ५० मा गोेलभेँडा बिक्री हुन थालेपछि किसान हर्षित भएका छन् ।

पहल कार्यक्रमले खाद्य असुरक्षा भएका ठाउँमा कृषि क्षेत्र सुधार, कृषि बजार प्रवद्र्धन, पोषण तथा सरसफाइ, विपद् जोखिम व्यवस्थापन, प्राकृतिक स्रोत व्यवस्थापन, वैकल्पिक जीविकोपार्जन, वित्तीय सेवालगायत क्षेत्रमा काम गर्दैआएको छ ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय