चितवन, २७ मंसिर । चितवन राष्ट्रिय निकुञ्ज आसपासका नदीमा भाले घडियाल गोहीको अभाव भएपछि निकुञ्जको टोली भालेको खोजीमा पश्चिम नेपाल जाने भएको छ ।
टोलीले पश्चिम नेपालको बबई र कर्णाली नदीमा भाले घडियाल खोजी गरी यहाँ ल्याउनेछ । चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले आगामी सोमबार प्राविधिकसहितको टोली त्यसतर्फ जाने तय भएको जानकारी दिए ।
उनका अनुसार बर्दियाको बबई नदीमा भाले घडियालको खोजी गरिने छ । त्यसैगरी कर्णाली नदीको भारतीय सीमा क्षेत्रमा पनि भाले गोहीको खोजी गरिने उनले बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जको गोही प्रजनन केन्द्रमा रहेका भाले यहाँ ल्याउन मिल्न÷नमिल्नेबारे पनि छलफल भइरहेको उनले बताए । उनका अनुसार उपलब्धताका आधारमा दुई/तीनवटा भाले ल्याउने योजना रहेको छ ।
टोलीमा प्रमुख संरक्षण अधिकृत कँडेल, सहायक संरक्षण अधिकृत बेदबहादुर खड्कासहित प्राविधिकहरु रहनेछन् । त्यसैगरी सहयोगी संस्थाका प्रतिनिधि पनि टोलीमा सहभागी हुने कँडेलले जानकारी दिए ।
निकुञ्जसँग रहेका राप्ती र नारायणी नदीमा प्राकृतिक रुपमा प्रजननमा सहयोगी मानिएको एक मात्र भाले घडियाल गोही मरेपछि अन्यत्रबाट भाले गोही ल्याउनका लागि पहल थालिएको हो ।
भाले गोही मरेसँगै संकटापन्न अवस्थामा रहेको गोहीको प्रजननमा समेत समस्या देखिएको छ ।
राप्ती नदीमा रहेको एउटा भाले घडियाल गत जेठ महिनामा मरेपछि राप्ती र नारायणीमा रहेका पोथी प्रजननको अवसरबाट वञ्चित भएका हुन् ।
चितवन राष्ट्रिय निकुञ्जको घडियाल संरक्षण केन्द्रमा प्रजननयोग्य १२ वटा पोथी घडियालका लागि पनि एउटा मात्र भाले रहेको सहायक संरक्षण अधिकृत बेदबहादुर खड्काले जानकारी दिए ।
बर्दियाको बबई नदीमा ३० वटा घडियाल छन् । त्यहाँ तीनवटा भाले घडियाल रहेको अनुमान गरिएको छ ।
प्रतिक्रिया