मेचीबाट प्रतिनिधिसभामा पवित्रा एक्ली महिला

सुरेन्द्र भण्डारी

झापा, २७ मंसिर । प्रतिनिधिसभा सदस्य निर्वाचनमा वाम गठबन्धनका तर्फबाट नेकपा एमालेकी पवित्रा निरौला खरेल मेची अञ्चलबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने एक्ली महिला बनेकी छिन् ।

मंसिर २१ गते सम्पन्न निर्वाचनमा झापा क्षेत्र नं २ बाट उनी निर्वाचित भएकी हुन् । योसँगै उनले नेपाली काँग्रेसका उम्मेदवार उद्धव थापालाई पराजय गर्दै प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने यात्रा तय गरेकी छन् ।

प्रतिनिधिसभाको निर्वाचनमा आफ्ना निकटतम प्रतिद्वन्द्वी थापालाई १३ हजार ७६७ मतले पराजित गर्दै उनी निर्वाचित भएकी हुन् । उनले ४५ हजार ८१७ मत प्राप्त गरिन् भने थापाले ३२ हजार ५० मत प्राप्त गरेका थिए ।

एमालेको १ नं प्रदेश सदस्यको जिम्मेवारीमा रहेकी पवित्रा तीन दशकयता झापामा रहेर सक्रिय राजनीति गरिरहेकी छिन् ।

निरंकुश राज्य सत्ताको दवदवामा आफूलाई जोगाउनसमेत हम्मेहम्मे परेका बेला पनि राजनीतिमा उनी उत्तिकै सक्रिय थिइन् ।

विसं २०३६ मा स्वतन्त्र विद्यार्थी युनियनको कोषाध्यक्षबाट प्रारम्भ भएको पवित्राको राजनीतिक यात्रा यतिबेला प्रतिनिधिसभा सदस्यमा पुगेको छ ।

२०३६ सालमा स्वतन्त्र विद्यार्थी युनियनमा रहँदा विद्यार्थी युवा दस्ताको एउटा दरिलो सिपाही पवित्राको फराकिलो आत्मविश्वास र दृढताले राजनीतिक यात्रामा कुनै न कुनै जिम्मेवारी सम्हालीरहिन् ।

विसं २०३८ मा अखिल नेपाल महिला संघको गाउँ समिति सदस्य हुँदै उनको राजनीतिक यात्राले गति लियो ।

२०४० सालमा अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा दमकमा आयोजित समीक्षा बैठकस्थलबाटै उनी पक्राउ परेपछि तीन वर्ष जेल परिन् ।

विसं २०५४ मा जिल्ला विकास समिति झापाको मनोनीत सदस्य भएर उनले काम गरिसकेकी छिन् । बिर्तामोड खानेपानी तथा सरसफाइ समितिमा पवित्राले १० वर्ष बसेर काम गरिसकेकी छिन् ।

विसं २०६६ मा एमालेको जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्हालेकी पवित्रा निरन्तर पार्टीमा क्रियाशील छिन् ।

त्यसयता उनले पार्टीको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य बनेर काम गरेकी छिन् भने अनेम संघको केन्द्रीय सदस्य भएर भूमिका निर्वाह गरिसकेकी छिन् ।

संविधानसभाको दोस्रो निर्वाचनमा यसै क्षेत्रबाट उनी नेपाली काँग्रेसको उम्मेदवारसँग पराजित भएकी थिइन् । काँग्रेसका उम्मेदवार सुधीरकुमार शिवाकोटीले उनलाई थोरै मतान्तरले त्यो बेला पराजित गरेका थिए ।

छविलाल र खड्गमाया निरौलाकी छोरी पवित्राको जन्म २०२० माघ २० गते झापाको दमकमा भएको हो । उनले आइएसम्मको अध्ययन गरेकी छिन् ।

प्रतिक्रिया