खोजखबर

म्याग्दीका केसी ४ नं प्रदेशमा निर्वाचित हुने कान्छा सांसद

सौर्य अनलाइन २०७४ मंसिर २६ गते १०:५१ मा प्रकाशित

म्याग्दी, २६ मंसिर । म्याग्दीका विनोद केसी प्रदेश नं ४ मा प्रत्यक्ष निर्वाचित हुने सबैभन्दा कम उमेरका सांसद बनेका छन् ।

प्रदेश नं ४ (क) मा वाम गठबन्धनबाट उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका ३३ वर्षीय केसी कान्छा सांसद बनेका हुन् ।

चौध हजार ७०४ मत प्राप्त गरी प्रदेशसभा सदस्यमा निर्वाचित भएका केसीका प्रतिस्पर्धी राप्रपाका भीमप्रसाद गौचनले १२ हजार १७५ मत प्राप्त गरे ।

बेनी नगरपालिका, रघुगंगा गाउँपालिका र अन्नपूर्ण गाउँपालिका समावेश भएको प्रदेशसभा क्षेत्र (क) मा ४२ हजार ९३३ मतदाता रहेकामा २७ हजार ६७५ मत खसेको थियो ।

केसीलाई एमाले र गौचनलाई नेपाली काँग्रेसले समर्थन गरेको थियो । विसं २०४१ असार २४ गते जन्मनुभएका बेनपा-८ निवासी केसी शहिद परिवारका सदस्य छन् ।

उनका दाजु मदनको द्वन्द्वकालमा तत्कालीन शाही सेनाबाट हत्या भएको थियो ।

हाल नेकपा माओवादी केन्द्रका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्य, बेनी नगर कमिटीका उपाध्यक्ष रहेका केसीले दाजु मदनबाट प्रभावित बनेर माओवादी राजनीतिमा सक्रिय भएको बताए ।

दाजु दिवंगत भएपछि घरव्यवहार धान्नका लागि केसीले विसं २०६० देखि करिब पाँच वर्ष ट्याक्सी चालकका रुपमा काम गरेका थिए ।

म्याग्दी ट्याक्सी व्यवसायी समितिका संस्थापक अध्यक्ष रहेका केसी यातायात व्यवसायी हुन् । मध्यम वर्गीय परिवारका केसी जिल्ला खेलकुद विकास समितिको पूर्व अध्यक्ष छन् ।

प्रदेशसभा सदस्यमा विजयी भएपछि केसीले कसैप्रति पूर्वाग्रह नराखी सबै जिल्लावासीको साझा प्रतिनिधिका रुपमा जनताको समस्या समाधानका लागि काम गर्ने बताए ।

स्थानीयस्तरमा रोजगारी सिर्जना र स्वरोजगार बन्ने वातावरण बनाउन स्थानीय तह, प्रदेश र संघीय सरकारबीच पुलको भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभएका केसीले जिल्लाको जलविद्युत्, पर्यटन, वनपैदावार, कृषि क्षेत्रको विकास, समृद्धि र जिल्लावासीको जीवनस्तरमा सुधारमा पहल गर्नेमा जोड दिए ।

म्याग्दीको प्रतिनिधिसभामा वाम गठबन्धनबाट एमालेका भूपेन्द्रबहादुर थापाले २३ हजार ३०३ र प्रदेशसभा क्षेत्र (ख)मा एमालेकी नरदेवी पुन १० हजार ८६८ मत प्राप्त गरी विजयी भएका थिए ।

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय