‘भक्तपुरलाई खुल्ला संग्रालय बनाउँछु‘ महेश बस्नेत

कमल न्यौपाने काठमाडौं । देशभरकै सबैभन्दा कान्छो गाविस अध्यक्षका रूपमा २३ वर्षमै ०५४ सालको स्थानीय निर्वाचनमा निर्वाचित भएर नेपाली राजनीतिमा उदाएका महेश बस्नेत अहिले प्रतिनिधिसभा सदस्य बनेका छन् । 

विकास, समृद्धि र जुझारु क्रियाशीलता भएका युवा नेता नवीन सोचाइ र दृढ इच्छाशक्तिका खानी बस्नेतले लोकतान्त्रिक गठबन्धनका नेता दमननाथ ढुंगानालाई पराजित गरेका छन् ।

भक्तपुरमा कमजोर रहेको पार्टी संगठन र नेपाली कांग्रेसको दबदबाबीच भक्तपुरको गुण्डु गाविसका अध्यक्ष बनेका बस्नेत त्यसपछि निरन्तर राजनीतिक संर्घषमा सक्रिय रहेका छन् । 

राजनीतिक, सामाजिक र आर्थिक रूपान्तरणका साथै विकासमा उनको जागरुकता र जुझारूपन भक्तपुरका लागि मात्र होइन देशकै लागि एउटा नमुना बनाउन बस्नेतको मिहिनेत उदाहरणीय मानिन्छ ।  विकासको ‘नमुना गाविस’ बनाएर विश्वविद्यालयका विद्यार्थीको विकास अध्ययन गर्ने थलोको रूपमा आफ्नो गाविसलाई रूपान्तरण गर्न सफल बस्नेतको कार्यशैली र व्यवहार जनप्रिय रहेको छ ।

गाउँ विकास समितिको अध्यक्ष बनेको दुई वर्षमा उत्कृष्ट गाविस अध्यक्ष पुस्कार पाएका बस्नेतले कम बजेटमा उत्कृष्ट कार्य गर्ने जनप्रतिनिधिका मानकसमेत हुन् । उनी भन्छन्, ‘स्थानीय स्रोतसाधन परिचालन गर्ने र कम स्रोतसाधनमा धेरै काम गर्ने गाविस अध्यक्षका रूपमा मेरो पहिचान बन्यो,’ उनले भने, ‘१३ लाखमा योजना बनेको पुल हामीले ६ लाखमै बनायौँ । आठ लाखको स्टिमेट गरिएको हेल्थपोस्ट भवन हामीले ५ लाखमा बनाएका छौँ । महेशकै कार्यकालमा गुन्डुले विकासमा काचुली फेरेको थियो ।

गाउँमा पिचबाटो, टेलिफोन, विद्युत् लगातयका सुविधाहरू पु¥याउन उनको भूमिका गाविसमा स्थापित छ । भक्तपुरको गुन्डु गाविसमा ०३१ सालमा बुबा पूर्णबहादुर बस्नेत र आमा ईश्वरी बस्नेतको जेठो सन्तानका रूपमा महेशको जन्म भएको हो । हालको सूर्यविनायक नगरपालिका–७ मा मध्यम वर्गीय किसान परिवारमा जन्मिएका महेशका बुबा भक्तपुर औद्योगिक क्षेत्रमा जागिरे थिए । बाल्यकालदेखि नै समाजमा हुने थिचोमिचो र अन्यायका विषयमा चिन्तित रहने बस्नेत न्याय र समानताका पक्षधर थिए ।

‘सानैदेखि सत्यको पक्ष रहेर सोच्ने बानी थियो मेरो,’ उनी सम्झन्छन, ‘त्यसैले कहिलेकाहीँ घरमा पनि विवाद हुन्थ्यो । उनी घरपरिवारकै विरुद्धमा पनि कतिपय समय अर्कोको पक्षमा उभिन्थे ।’ उनको यस्तो स्वभावले परिवारमा विवाद निम्तिए पनि उनी समाजका लागि भने प्रिय बनिरहेका हुन्थे । ‘त्यतिबेला राजनीतिप्रति मेरो खासै आकर्षण नभएको उनी बताउँछन् ।  महेश अखिलको राजनीतिमा त त्यति सक्रिय भएनन् । सुरुआतीदेखि नै गाउँको कोर राजनीतिमा सरिक हुन थाले ।

उनी वडा कमिटीको सदस्य, वडा कमिटी उपसचिव, सचिव, गाउँ कमिटीको उपसचिव सचिव, इलाका कमिटीको सदस्य, उपसचिव, सचिव जिल्ला कमिटीको सदस्य भए । ०७० मा भक्तपुर क्षेत्र नं. २ मा संविधानसभा सदस्यको चुनाव लडे तर थोरै मतान्तरमा पराजित भए । उनी भक्तपुरमा आफू पराजित हुनुको कारण केन्द्रीय राजनीतिमा व्यस्त हुनुलाई मान्छन् । ‘२०६३ सालमा युवा संघको केन्द्रीय कोषाध्यक्ष चुनिएपछि म राष्ट्रिय राजनीतिमा निकै व्यस्त भएँ । ०७१ सालको भदौमा उनी सुशील कोइरालाको क्याबिनेटमा उद्योगमन्त्री भए ।

कम उमेरमा गाविस अध्यक्ष भएर चर्चा त उनले कान्छा मन्त्रीका रूपमा सिंहदरबार छिर्ने मौका पाए । मन्त्री पद पनि उनका लागि सप्रराइज नै थियो । पार्टीकै सहकर्मी कर्ण थापालाई फिर्ता बोलाएर महेशलाई पठाइएको थियो । त्यसैले उनलाई थापाकै कार्यकालमा भइरहेका कामलाई निरन्तरता दिनुपर्ने परिस्थिति एकातिर थियो भने अर्कोतिर बजेट आइसकेकाले केही नयाँ गर्नका लागि त्यही बजेटमा सिर्जनशीलता खोज्नुपथ्र्यो । उनले त्यही गरेका थिए ।

त्यही युवा सिर्जनाशीलताको परिणाम नै मान्नुपर्छ, महेश मन्त्री रहेको एक वर्षको अवधिलाई अहिले पनि उद्योगी व्यवसायी र कर्मचारीले राम्रो कार्यकालका रूपमा लिन्छन् । औद्योगिक ऐन, विदेशी लगानी नीति, स्वदेशी वस्तु उपयोग निर्देशिका, एक प्रदेशमा एक ठूलो औद्योगिक केन्द्र, प्रत्येक जिल्लामा सानो औद्योगिक क्षेत्र, प्रदेश निर्वाचन क्षेत्रमा औद्योगिक ग्रामको कन्सेप्ट, जीर्ण रहेका उद्योग पुनः सञ्चालन, औद्योगिक जनशक्ति निर्माणका अभियानमार्फत प्रत्येक निर्वाचन क्षेत्रबाट २÷२ सय युवा तयारी पार्ने कुराले महेशलाई अब्बल उद्योगमन्त्रीका रूपमा स्थापित गराएको छ ।

यति मात्र होइन, कतिपय मन्त्रीपरिषद्का निर्णयविरुद्ध पनि उनी फरक धारमा उभिए । जस्तो, माओवादी लडाकुलाई चार अर्ब एक्स्ट्रा दिने, पाँच हजार पुलिसको दरबन्दी थप्ने निर्णयको उनले विरोध गरे । उनले त्यसको सट्टा औद्योगिक र इन्जिनियर जनशक्ति निर्माण गर्नुपर्ने कुरामा जोड दिनुपर्ने मत राखेका थिए । ‘त्यो कार्यकालमा सफलै भएजस्तै लाग्छ । प्रधानमन्त्री र अर्थमन्त्री अनुकूल नहुँदा काम गर्न धेरै गाह्रो हुने रहेछ,’ उनले अनुभव साटे, ‘अर्थमन्त्री र प्रधानमन्त्री अनुकूल हुने हो भने धेरै काम गर्न सकिन्छ ।’

उनी प्रधानमन्त्री कहाँ नयाँनयाँ कुरा लिएर जाने, प्रधानमन्त्री सुन्नै नरुचाउने । उनी भक्तपुरका लागि केही छुट्टै र नौला विकासका काम गर्न चाहन्थे । तर, उनी परे उद्योगमन्त्री । जनताको समस्या बाटो, खानेपानी, ढल लगायतका थिए । मन्त्रालय उद्योग तर जनताको माग यस्तो । अब के गर्ने ? उनले नयाँ उपायहरू अवलम्बन गरे । ‘मैले यी काम अरू उपायबाट गरेँ । ४७ वटा सडक निर्माण भए । नियमित बजेटलाई वृद्धि गर्ने पनि सफल भयौँ ।

हनुमन्ते करिडोर, विष्णुमती–बागमती करिडोर बजेट पार्न सफल भयौँ,’ उनले मन्त्री हुँदा पनि भक्तपुरको समृद्धिका लागि आफ्नो पहलबारे बताए । उनी मन्त्री हुँदा भक्तपुरमा नौ करोड जति बजेट आउथ्यो, अहिले त्यो वृद्धि भएर २० करोड आउने स्थिति बनेको छ । सहरी विकास मन्त्रालयअन्तर्गत उनकै पहलमा २० गुणा बढी बजेट भक्तपुरमा जाने भएको छ । चार वटा सेटेलाइट सिटीमध्ये दुई वटा भक्तपुरमै पार्न पनि उनकै पहलमा सम्भव भयो । सूर्यविनायकमा प्राणी उद्यान केन्द्र स्थापना गर्ने, जावलाखेलको चिडियाखाना ल्याउने, मोहना पोखरीमा ३ अर्बको बजेट पार्न सम्मका काममा पनि महेशले आफ्नो अग्रसरता देखाए ।

जसलाई अहिले पनि भक्तपुरका बासिन्दाले वाहीवाही गरिरहेका छन् । मेलम्चीलाई पहिलो चरणमा पार्ने, ७ करोड लिटरको पानी ट्यांकी निर्माणका लागि काम अगाडि बढाउने, वीर हस्पिटल सारेपछि भक्तपुर ल्याउने, पाँच वटा पुल बनाउने, भक्तपुरलाई सांस्कृतिक नगर बनाउने, मन्दिरहरूको पुनर्निर्माणका करोड रुपैयाँ विनियोजन गर्ने काममा पनि यी युवा नेताले प्रशस्त मिहिनेत गरेको उनी बताउँछन् । केही समयअघि भक्तपुर—२ मा उनले संविधानसभाको दोस्रो निर्वाचनमा पनि हार बेहोरेका थिए उनै नेता बस्नेतसँग कमल न्यौपानेले प्रतिनिधिसभा निर्वाचनको जितपछि गरेको कुराकानीको सम्पादित अंश ः

प्रतिनिधिसभा सदस्यमा भारी मतले विजयी हुनुभयो, कस्तो लागिरहेको छ ?
म आज एकदमै खुसी छु । मभन्दा पनि मेरा समर्थक साथीहरू र भक्तपुरवासी नै एकदमै खुसी भएको पाएको छु ।

भक्तपुरमा अब तपाईंका विकास योजना के के हुन् ?
पहिलो कुरा त भक्तपुर आफैँ सम्पन्न र धनी जिल्ला हो । यहाँ धार्मिक, पर्यटन, सांस्कृतिक पर्यटन मठमन्दिरले भरिभराउ छ । जनताको इच्छा चाहानाअनुसार भक्तपुरको समग्र विकास निर्माण नै पहिलो प्राथमिकता हो । यहाँको सहरीकरण, बाटोघाटो, खानेपानी, बिजुली, शिक्षा, स्वास्थ्य र विशेषगरी मेलम्चीको पानी पहिलो चरणमा भक्तपुरवासीलाई खुवाउनु मेरो दायित्व हो । यतिबेला निर्वाचनको जितसँगै मेरो दायित्व र जिम्मेवारी पनि बढेको छ ।

सबै खाले जिम्मेवारीलाई प्राथमिताका आधारमा मैले भक्तपुरको समग्र विकासमा जनताको सहयोगमै पूरा गर्ने हो । भक्तपुरलाई स्मार्ट सिटी बनाउनेदेखि खुला संग्रहालयमा परिणत गर्ने र सूर्यविनायक जंगललाई अन्तर्राष्ट्रियस्तरको चिडियाघरका रूपमा विकास गनुपर्छ भन्ने हो । देशमा अहिले राज्य पुनर्संरचना भइसके पनि प्रशासनिक तथा अन्य क्षेत्रको पुनर्संरचना बाँकी नै छ त्यसतर्फ पनि मेरो उत्तिकै मिहिनेत रहनेछ ।

बेरोजगार युवाका विषयमा तपार्इंका योजना के हुन् ?
देशमा लाखौँ युवा बेरोजगार छन् । रोजगारीका लागि युवाहरू जन्मभूमि छोडेर विदेशिन बाध्य छन् । उनीहरूलाई विदेशिनबाट रोक्नका लागि सरकारले सबैभन्दा पहिला उद्योगधन्दाको स्थापना प्रत्येक प्रदेश र जिल्ला तहमा गर्नु नै पर्छ । यसमा पनि विशेष गरी कृषि उद्योगको स्थापना गरी आमयुवालाई कृषिमा समाहित बनाउने र उनीहरूलाई स्वदेशमै रोजगारी प्रदान गर्ने विदेश जानबाट रोक्ने नै युवाका लागि मेरो पहिलो प्राथमिकता हो ।

विपक्षीको मत एमालेमा धेरै आयो भन्ने छ नि ?
प्रतिनिधिसभाको निर्वाचन भएको हुनाले सही व्यक्ति र उम्मेदवार छनोट गर्न सक्नु यसको एउटा महत्वपूर्ण पाटो हो । आफ्ना असहमत भएका व्यक्तिहरूलाई सम्झाउन सक्नु अर्को महत्वपूर्ण पाटो हो । फरक आस्था राख्ने प्रतिस्पर्धी दलका साथीहरूको दलको मत आकर्षण गर्नसक्नु पनि अर्को पक्ष हो । यसरी हेर्दा हामीप्रतिको आकर्षण न्युटल मतदाताको मात्रै होइन अन्य पार्टीका नेता कार्यकर्ताको पनि प्रशस्तै देखिन्छ । राप्रपाको जिल्ला उपाध्यक्ष, कोषाध्यक्षलगायत बहुमत टिम एमाले प्रवेश गरिसकेको थियो ।

कांग्रेस र नेमकिपाका धेरै साथीहरू एमालेमा प्रवेश गरिसक्नुभएको थियो । तीन वर्षको बीचमा हामीले हाम्रो संगठित सदस्य ३ गुना बढाइसकेका थियो । यी सबै कुरा हामीले चर्चामा नल्याएर गरेका थियौँ । कारण प्रतिस्पर्धीहरू चनाखो भएर रोक्ने र थप सक्रिय हुने कुरा नगरुन् भन्ने हाम्रो चाहना थियो । वास्तवमा यसपालि स्थानीय तहदेखि प्रदेश र प्रतिनिधिसभासम्म साइलेन्स डेप्लोमेसीले नै भक्तपुरमा काम ग¥यो ।

महेश बस्नेत विद्रोही र अन्तरमुखी व्यक्ति हो भन्ने आरोप पनि छ महेशको वास्तविक रूप के हो ?
यो आरोपचाहिँ मैले जतिखेर युथ फोर्स र युवा संघको जिम्मा लिएँ त्यो समयमा मेरै पार्टी भित्रका मेरो मिसनमा असहमति राख्ने कतिपय नेताहरूले लगाएको आरोप हो । न मेरो स्वभाव विद्रोही छ न त अन्तरमुखी । सामान्यतया मेरो स्वभाव भनेको जनसेवी, सरल र सहज ढंगले साथीभाइसँग घुलमिल गर्न सक्ने समस्याका महल उठाउने होइन समाधानका विकल्प दिनसक्ने व्यक्तिका रूपमा साथीहरूले मूल्यांकन गर्नुपर्छजस्तो लाग्छ ।

मेरो व्यक्तिगत जीवनसरल, पारदर्शी, कुनै महत्वकांक्षा नभएको मिलनसार नै छ । जो नयाँ साथीले मसँग संगत गर्नुहुन्छ तपाईंको बारेमा हामीले केके सुनेका थियौँ । वास्तवमा हामी भ्रममा रहेछौँ भन्नुहुन्छ । पछिल्लो बेला मेरो बारेमा विगतमा नकरात्मक टिप्पणी गर्ने मिडियाले पनि सकारात्मक टिप्पणी गर्न थालेको देख्छु । यसमा मेरो स्वभाव बदलिएको होइन मलाई हेर्ने साथीहरूको दृष्टिकोण बदलिएको हो भन्ने लाग्छ ।

केपी ओलीसँगको निकटताले नै तपार्इंले राजनीतिक उचाइ हासिल गर्नुभयो भन्ने कुरामा कतिको सत्यता छ ?
म कुनै ठूलो खान्दानी परिवारबाट राजनीतिमा आएको व्यक्ति होइन । म श्रमजीवी किसान परिवारबाट राजनीतिमा आएको व्यक्ति हुँ । मेरो राजनीतिक जीवनमा नेताको आशीर्वादभन्दा मेरो कर्म र परिश्रमले नै बढी प्रभाव पारेको छ । जहाँसम्म पार्टी अध्यक्ष ओलीसँगको मेरो सम्बन्ध छ केपी ओली भनेका वर्तमान राजनीतिक वृत्तमा एउटा चम्किला तारा हुन भन्ने कुरा केपी ओली कुनै पावरमा नहुँदा र स्वयं, एमालेभित्र उनलाई अनेक खालका आरोप लगाएर कमजोर बनाएको बेला हामी केही युवा साथीहरूले यो पार्टीको अध्यक्ष र देशको प्रधानमन्त्री एकपटक केपी ओलीलाई बनाउनुपर्छ भनेर लाग्यौँ ।

त्यो लागेवापत् झन्डै कारवाहीको सिकार हुन लागेको एउटा पात्र म पनि हुँ । आज केपी ओली जुन स्थानमा पुग्नुभो, त्यो स्थान बन्ला र त्यसबाट लाभ लिउँला भनेर हामीले उहाँलाई साथ दिएको होइन । हिजो अप्ठ्यारो बेलामा हामीले उहाँलाई साथ दिएको हुनाले उहाँसँगको सम्बन्ध पारिवारिक खालको रह्यो । म जब पार्टी केन्द्रीय सदस्यको निर्वाचन र संविधानसभाको निर्वाचनमा पराजित भएको थिएँ त्यतिखेर ममा निराशा नआओस् भनेर उहाँ निकै चिन्तित भएको मैले पाएँ ।  जसको कारण उहाँले मलाई मभन्दा धेरै सिनियर साथीहरूलाई टपेर मलाई मन्त्री बनाइदिनु भयो ।

यो मेरो राजनीतिक जीवनको निकै नै महत्वपूर्ण क्षण थियो । महेश बस्नेतको जनाधार छैन केपी ओलीको आशीर्वादले नेता बन्यो भनिरहेको बेला भक्तपुरमा अहिले भएकोे चुनावलाई वाम गठबन्धनको पक्षमा ल्याएर त्यो आरोप खण्डन भएको छ । त्यसो भएको हुनाले केपी ओली प्रधानमन्त्री भएको त्यो क्षणलाई मैले मेरो कुनै व्यक्तिगत लाभमा परिणत गर्न चाहेन । प्रयोग गरे त केबल भक्तपुरको जनताको हितमा प्रयोग गरेँ । केपी ओलीले महेश बस्नेतलाई माया गर्छन् त्यो सत्य हो, तर त्यो महेश बस्नेत जसले इमान्दारीका साथ दिएको जिम्मेवारी पूरा गर्छ र जनसेवामा समर्पित भएर लाग्छ । यस मानेमा केपी ओलीको माया पाउने मेरो अधिकार पनि हो ।

तपाईंले ‘म महेश’ भन्ने आत्मवृत्तान्त लेखनमा अलि हतार गरेको जस्तो लाग्दैन ?
मेरो राजनीतिक जीवन निकै आरोहअवरोहपूर्ण छ । मेरा जिम्मेवारी पनि बिल्कुल फरकफरक खालका मैले पूरा गरे । विशेष गरी युथ फोर्स र युवा संघको जिम्मा लिइरहेको बेला मेरो राजनीतिक जीवनमा र व्यक्तिगत जीवनमा पनि अनेक खालका भ्रमपूर्ण टीकाटिप्पणीहरू समाचारहरू बने । जसको बारेमा स्पष्टीकरण दिनुपर्ने अवस्था थियो ।

मेरो पुस्ता जसले पञ्चायतको अन्तिम क्षण पनि देख्यो असफल बहुदलीय व्यवस्था पनि देख्यो १० वर्षे माओवादी युद्ध पनि देख्यो, दरबार हत्याकाण्ड र शाही शासन पनि देख्यो अनि विश्वकै ऐतिहासिक १९ दिने जनआन्दोलन पनि देख्यो । हाम्रो राजनीतिक जीवन युद्ध, संघर्ष र आन्दोलन मै बित्यो ।  नयाँ शान्त, र समृद्ध नेपाल निर्माण गर्ने अभिभारा अबको राजनीतिमा आइरहेको बेला म र मेरो पुस्ताको त्यो संघर्षको गाथा धेरै नयाँ साथीहरूका लागि प्रेरक हुन सक्छ भनेर सामान्यतया जीवनको उत्तरार्धमा लेखिने आत्मवृत्तान्तलाई मैले युवा उमेरमा नै लेखे ।

मुलुकको र म स्वयंको कार्यभार हकअधिकार प्राप्तीको संघर्ष गर्ने चरणबाट जनताको सुख शान्ति र समृद्धितर्फ अगाडि बढेको भन्ने निष्कर्षका साथ त्यो किताब मैले लेखेको हुँ । अब मैले लेख्ने दोस्रो खण्डको किताबमा सुख, शान्ति र समृद्धि प्राप्तीमा हामीले खेलको भूमिकाको चर्चा हुनेछ ।
अन्त्यमा …
भक्तपुरवासीले जसरी गएको स्थानीय तहको निर्वाचनमा एमालेलाई मतदान गरी जिताउनु भएको थियो । अहिले भएको प्रदेश तथा प्रतिनिधिसभा क्षेत्र २ मा पनि यस क्षेत्रका नागरिकले एमाले अर्थात वाम गठबन्धनलाई उत्तिकै मायागरी मतदान गरिदिनुभयो । भक्तपुरका सबै मतदातालाई धन्यवाद दिन्छु ।

आगामी दिनमा पनि जिल्लाको समग्र विकास निर्माण यसरी नै सबै मतदाता आमनागरिकको सहयोग साथ र सुझाव पाइराख्ने विश्वास गरेको छु । तपाईं हामी सबै मिलेर भक्तपुरको विकास गर्ने हो आउनुहोस् हातेमालो गरौँ भक्तपुरको समग्र विकासमा जुटौँ ।

 

प्रतिक्रिया