भावीप्रधानमन्त्रीका योजना : देशलाई एकतावद्ध बनाउँदै समृद्धि

काठमाडौं २५ मंसिर । एमाले अध्यक्ष केपी शर्मा ओलीले देशलाई एकतावद्ध बनाउँदै समृद्धिमा लैजानु नै अबको काम रहेको प्रष्ट पारेका छन् ।

आगामी सरकारको नेतृत्व गर्ने निश्चित भइसकेका वाम पक्षीय लोकतान्त्रिक राष्ट्रवादी गठबन्धनका कमान्डरसमेत रहेका ओलीले जनताले समृद्धिको एजेन्डालाई अनुमोदन गरेकोले अब त्यसैअनुसार अघि बढ्ने प्रष्ट पारे । निर्वाचनपछि पहिलोपटक आफ्नै निवास बाल्कोटमा सौर्यसँग कुरा गर्दै ओलीले चुनावी परिणाम अपेक्षाअनुसार नै आएको बताए ।

‘जनताबाट एकतावद्ध देश र समृद्धिको पक्षमा मत आयो, हामीले अघि सारेको अभियानलाई अनुमोदन भयो, अब देशलाई एकतावद्ध बनाउँदै समृद्धिमा लैजाने काम हुन्छ,’ वाम गठबन्धनबाट प्रधानमन्त्रीका उम्मेदवारसमेत रहेका ओलीले भने । ओलीलाई चुनावअघि नै एमाले र नेकपा माओवादी केन्द्रले प्रधानमन्त्रीको रूपमा अघि सारिसकेको छ ।

एमालेले स्थायी कमिटी बैठकबाटै ओलीको नेतृत्वमा चुनावी अभियानमा होमिने निर्णय गरी भावी प्रधानमन्त्री घोषणा गरेको थियो भने माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धनबाट कमान्डरको हैसियतमा ओलीले प्रधानमन्त्री हुने प्रष्ट पारेका हुन् ।

अव बन्न लागेको दुईतिहाई बहुमतको सरकारको नेतृत्व गर्न लागेका ओलीले शानदार विजयका लागि मतदातालाई विशेष धन्यवाद दिँदै देश बनाउने जिम्मेवारी बोध गरेको प्रतिक्रिया दिए ।

‘जितमा आत्तिनु हुन्न, मात्तिनु पनि हुन्न, हामीलाई देश बनाउने जिम्मेवारी प्राप्त भएको छ, काम गर्न बाँकी नै छ, कामको सफलता प्राप्त गर्ने चुनौतीलाई सबैको साथ लिएर पार लगाउँदै समृद्धि हासिल गर्नुपर्छ,’ ओलीको भनाइ थियो ।

‘जनताको ठूलो पंक्ति लगभग २५ प्रतिशत देश बाहिर हुँदा पनि ७० प्रतिशत मतदान हुनु जनतामा निर्वाचनप्रतिको उत्साह हो, राष्ट्रप्रतिको सजगता हो ।

यो उत्साह र सहभागिताका लागि सबैलाई धन्यवाद,’ ओलीले भने, ‘कसैले भड्काउँदा नभड्किएर, कसैले अल्मल्याउँदा नअलमलिएर सही ठाउँमा मतदान गर्ने, एमाले र माओवादी केन्द्रसहितको देशभक्त र प्रगतिशील गठबन्धनलाई सुदृढ स्थितिमा पु¥याउन योगदान गर्ने सचेत मतदातालाई धन्यवाद ।’

ओलीले नेपाल र नेपालीको इच्छाअनुसारको सरकार चलाउँदै राजनीतिक दलहरूले देश बनाउँछन् भन्ने प्रमाणित गर्ने घोषणा पनि गरे ।

‘हामीले देशको आवश्यकता र जनताको अपेक्षालाई ध्यानमा राखेर निर्वाचनका बेला हाम्रा केही योजनाहरू अघि सा¥यौँ । जनताले त्यसलाई अनुमोदन गरेका छन् ।

अब हामी जन आकांक्षालाई ध्यानमा राखेर अघि बढ्नेछौँ,’ ओलीले भने, ‘पार्टीहरूले केही गर्दैनन् भनेर अराजकताको खेती गर्न खोजिएको थियो ।

अनेक कुतर्क ल्याएर दलीय प्रणालीलाई खुइल्याउने, प्रक्रिया खुइल्याउने, राम्रो र नराम्रो गर्ने दुवैथरीलाई एकै ठाउँमा राखेर सबै उस्तै हुन् भन्ने प्रचार थियो । राम्रोको खोजी नगर्ने र राम्रोलाई पनि नराम्रोसँगै राखेर बदनाम गर्ने प्रयास थियो, अब त्यस्तो हुन दिन्नौँ, काम गरेर प्रमाणित गर्छाैं ।’

अब बन्ने सरकारले कामबाटै राजनीति टाइम पास गर्ने थलो जस्तो, फुसर्दको समयमा गर्ने कामजस्तो मनोविज्ञानलाई परिवर्तन गर्ने योजना पनि ओलीले सुनाए । ‘राम्रो नचाहिने तर, राम्रो नराम्रो जे भए पनि नयाँ चाहिने जस्तो अफवाह पनि बन्यो । राम्रो र नराम्रोलाई उस्तै सावित गर्न अनेक प्रवृत्ति चलाउन खोजियो ।

राष्ट्रियता के हो, समाजिक दायित्व के हो, समृद्धि के हो ? यसलाई कसरी प्राप्त गर्न सकिन्छ भन्नेतिर नलाग्ने, बरु यसलाई ओझेलमा पार्ने र चटके कुरामा माहोल बनाउने तर, सही विकल्पलाई बिगार्ने काम पनि यसै बीचमा भयो । यस्तो प्रवृत्ति र षड्यन्त्रलाई नेपाली जनताले चिने,’ ओलीले चुनावी परिणामबारे भने ।

ओलीका अनुसार जनताले देश विखण्डनको कुरा गर्नेलाई अस्वीकार गरेका छन् । ‘पहिचानका नाममा विखण्डन, संविधान संशोधनका नाममा डरलाग्दा षड्यन्त्र, ती सबैलाई नेपाली जनताले पराजित गरेका छन् । अराजनीतिलाई राजनीतिको आवरण दिने र राजनीतिलाई बद्नाम गर्ने प्रवृत्ति बुझेर नेपाली नागरिकले मतदान गरेका छन्,’ ओलीले भने ।

निर्वाचनमार्फत जनताले गरेको विश्वासलाई कर्तव्यका रूपमा लिएको उनले प्रष्ट पारे । ‘जनताको विश्वासलाई हामी कर्तव्यका रूपमा वहन गर्नेछौँ र जनतालाई निराशाबाट मुक्त गर्ने संकल्प गर्नेछौँ ।

कसैले पनि अब भविष्यप्रति निराश हुनुपर्ने ठाउँ राख्दैनौँ । हामीले सबै समुदायको हितको रक्षा र सम्बद्र्धन पनि गर्नुछ । हामी चुनौतीपूर्ण अवस्थामा छौँ, त्यो चुनौतीलाई वहन गर्नेछौँ,’ ओलीले भने । उनले जनताको चाहना पूरा गरेर आफूहरूले सफलता पाएको प्रमाणित गर्ने धारणा राखे ।

‘विकास र समृद्धिको जनचाहना र आकांक्षा पूरा हुन्छन् । नेकपा एमाले र माओवादी केन्द्र बीचको यस तालमेललाई जसरी विश्वास दिनुभएको छ, त्यसमा निराश हुनुपर्ने अवस्था सिर्जना गर्दैनौँ ।

पेसागत, समुदायगत सबै अधिकारको रक्षाको प्रश्न छ, त्यसलाई हामी रक्षा गर्छाैं,’ ओलीले भने, ‘हामी सहज अवस्थामा छैनौँ । काम गर्नु छ । गरेरै देखाउनु छ । जनताको जीवनमा समृद्धि प्रत्यक्षरूपमै दिनु छ ।’

ओलीले चुनावी सरकारले जनताका लागि सिन्को भाँच्नेसम्मको काम नगर्दा प्रदेशसभाको बैठक राख्ने ठाउँसमेत नभएको भन्दै आफूहरू व्यवस्थापन गर्दै अघि बढ्ने बताए ।

‘अप्ठ्यारो छ, तर, हामी प्रतिकूलमा आत्तिदैनौँ, सहज परिस्थितिमा मात्तिदैनौँ । हाम्रो संस्कार पनि त्यही हो । अप्ठ्यारोमा नआत्तिने र सहज बेलामा नमात्तिने संस्कारबाट हामी हुर्केका हौँ ।

संसद्मा २ सय ४० मध्ये ३३ सिट मात्रै जित्दा पनि हामी आत्तिएनौँ । लोकतान्त्रिक व्यवस्थामा फेरि सुदृढ अवस्था बनाउन सक्छौँ भन्ने ठानेर त्यसबेला काम ग¥यौं ।

अहिले हामी सफलताबाट मात्तिने छैनौँ, सफलता त अब पाउनुपर्नेछ, मुलुकलाई समृद्धिमा लैजाने सफलता,’ ओलीले भने ।

प्रतिक्रिया