अमेरिकी पूर्वगोलरक्षक सोलो अध्यक्ष पदमा भिड्ने

न्युयोर्क । अमेरिकी फुटबल टिमकी पूर्वगोलरक्षक होप सोलोले अमेरिकी फुटबल महासंघको अध्यक्ष पदमा उम्मेदवारी दिने भएकी छन् । महिला विश्वकप विजेता टिमकी पूर्वगोलरक्षक सोलो सामाजिक सञ्जालमार्फत अमेरिकी फुटबलको नेतृत्वमा आफ्नो दाबेदारी प्रस्तुत गरेकी हुन् ।

३६ वर्षिया सोलोले देशका लागि २ सय २ क्याप जितेकी छन् । सन् २०१५ को महिला विश्वकप विजेता टिमकी सदस्य सोलोले राष्ट्रिय टिमबाट १७ वर्ष खेलेकी थिइन् ।  साथै उनले दुईपटक ओलम्पिकमा स्वर्ण जिताउन मद्दत गरिन् ।

सन् २०१६ को रियो ओलम्पिकपछि सोलोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेकी थिइन् । आफूमाथि ६ महिनाको प्रतिबन्ध लागेपछि सोलोले अन्तर्राष्ट्रिय खेलबाट बिदा लिइन् । स्विडेनका खेलाडीलाई कायरका एक गुच्छा भनेपछि सोलोमाथि प्रतिबन्ध लागेको थियो ।

सोलोले समानता, जितको संस्कृति र महासंघको पुनः एकताका लागि आफ्नो उम्मेदवारी हुने जनाएकी छन् ।  उनको उम्मेदवारी घोषणासँगै अध्यक्ष पदको दौडमा ९ प्रत्यासी देखिएका छन् । महिलामा भने उनी दोस्रो प्रत्यासी हुन् ।

यसअघि, महिलाबाट क्याथी कार्टरले उम्मेदवारी दिने घोषणा गरेकी थिइन् । नोमिनेसनका लागि आगामी मंगलबार तय गरिएको छ । यसअघि महासंघको अध्यक्षमा सुनील गुलाटी रहेका छन् ।

 

प्रतिक्रिया