कथा-सपना र पँलासहरू

-सुमित्रा न्यौपाने  अनुहार प्रशन्न थियो । ओठमा मुस्कान र मनमा उकुसमुकुस पनि । सबै सपना आज पूरा भएका थिए । बैंक ब्यालेन्स पर्याप्त भएपछि अमेरिका छोडेका सुमन लामो समयसम्म बेखबर थिए । मोटो, खाइलाग्दो र गोरो वर्णले विदेशीकै छनक दिएको थियो ।

टम्म मिलेको शरीरमा लगाइएका कपडाले कामुकता झल्काइरहेका थिए । भरियाहरूले भारी बिसाए । बाहिर थोत्रो कुर्सी थियो । त्यसैमा खुट्टा राखेर चौरतिर नजर लगाए । पाखो बारी बाँझो र खण्डहर थियो । बगैँचाको नाम निशान थिएन । उनी जाने बेलामा ढकमक्क फूल फूलेका थिए ।

‘सरला ! ए… सरला । … बाबु ! बाबु युगल … ।’ प्रतिउत्तर आएन । ढोका लगाइएको थियो । ताल्चा थिएन । ढोका उघारे । भित्र पसे । सामानहरू यत्रतत्र छरपस्टिएका थिए । आफूले छोडेका सामग्रीहरू कुनै थिए कुनै थिएनन् । भएका पनि थोत्रिएका थिए, थपिएका थिएनन् । घरभरि माकुराले जालो बुनेको थियो । भुँइभरि कसिंगर थियो । भित्तातिर फर्के । युगल, सरला र आफ्नो फोटो मुसुक्क हाँसिरहेको थियो । फोटो उठाए । छोरा र पत्नीको गाला मुसारे । माया भरिएर आयो ।
भान्सा कोठामा पसे । भाँडा धेरैजसो रित्ता थिए । थोत्रो ग्यासले गिज्याइरहेको थियो । ग्यासमाथि चिया पकाउने भाँडो कलेटी परेर घोप्टिएको थियो । यत्रतत्र जुठाभाँडा भेटिन्थे । उनलाई ग्लानी भयो । घरले उनको अनुपस्थिति प्रष्ट झल्काइरहेको थियो । आफैँलाई धिक्कारे ‘थुक्क म, कति स्वार्थी भएछु है ? दुःख पाएछन् क्यारे यिनीहरूले !’ तुरुन्तै सम्हालिए । ‘म आइहालेँ नि, अब सबै कुरा दुरुस्त बनाइहाल्छु ।’
छिमेकीहरू दिउँसै ढोका खुल्ला देखेर अचम्म परेका थिए । प्रायः बिहान र रातीमा मात्र खुल्ने घरमा आज अनौठो भएको थियो । सुमन खिस्स हाँस्दै बोले ‘नमस्ते माइली आमा, सन्चै हुनुहुन्छ ?’ बूढी आमैले चिनिन्छिन् क्यारे खुबै घोरिइन् ।  ‘बाबु… तिमी । ए ! सुमन पो हौ ? बल्ल चिनेँ । कति राम्रा भएछौ । तालुको कपाल झरेछ । ठम्याउन सकिनँ । नमस्ते बाबु नमस्ते ।’  पाकेको चिया खान माइली आमा सधैँ टुप्लुक्क आइपुग्थिन् । आज घरैबाट बोलिन् ।  आमा सरला कता गइछन् ? कतै देख्दिन ! युगल पनि छैन ! कतै काम परेर जान्छु भनेकी थिइन् कि ?’
धेरै प्रश्न सोधेँ तर जवाफ ‘खै ?’ भन्ने संकेतमा ओठ फर्काएर मात्र दिइन् र लुरुक्क भित्र पसिन् । वरपरका छिमेकी क्रमशः रमिते बन्ने क्रम जारी थियो । सरला घर आउँदै थिइन् । ढोका खुल्ला थियो । छिटोछिटो खुट्टा चलिन् । ‘के भयो मेरो घरमा ? युगल…!’ उनको शंका उपशंका बढ्दै गयो । आज सोच्नै नसक्ने परिस्थिति भित्रिएको थियो । ‘ए…! तपार्इं आउनुभो ?’ सामान्य भाषामा बोलिन् सरला । बिहान मात्रै छुट्टिएजस्तै गरी । भित्र पसिन् । चियाको भाँडोमा पानी बसालिन् । चिनी थिएन । हतारिँदै पसलतिर लागिन् ।

एक पाउ चिनी उधारो दिन दुःख मान्ने साहुजीले एक किलो चिनीको थैलो हातमा थमाउँदै भने ‘पैसापछि दिए पनि हुन्छ ।’  सुमन भान्सामा पसे । भुइँमा थ्याच्च बसेर दाउरा धकेल्दै थिइन् सरला । पछाडिबाट बिस्तारै हात समाए । रोमाञ्चित बन्दै भने ‘बाबु खै त ?’ उनको हात रुखको जरा जस्तै चेप्टिएको थियो । हातमा लगाएका चुरा खस्नै लागेका थिए । कपाल जिङरिंग परेर टुक्रिएको थियो । लगाइएका कपडाहरूले परिचय फरक किसिमले दिइरहेका थिए ।

खुट्टामा तुना फेरिएका चप्पलले सुमनलाई पुनः मर्माहित बनायो । लामो कपाल, गोलो अनुहार, बान्की परेको शरीर र मेकअपले अप्सराजस्तै देखिने प्यारी र कल्कलाउँदी सरलालाई छोडेर गएका थिए सुमन । अझै खुसी, सुखी र सुन्दर बनाउने सपना बोकेर झन्डै एक दशक बेपत्ता भएका थिए उनी । ‘के गर्छ बाबुले ? कस्तो छ ? ठूलो भयो होला ? कतिमा पढ्छ ?’ यावत प्रश्नहरूको जवाफ ‘अँ र हँ’ मा दिइन् सरलाले । ‘मलाई हेर न ।’

कोल्टे बसेकी पत्नीलाई आफूतर्फ फर्काए ।  ‘म नभएर दुःख पायौ है ?’ तर जवाफ आएन । जवान पत्नी र सानो छोरोलाई छोडी सलुसँग कोर्ट म्यारिजको अभिनय गरेर अमेरिका छिरेका थिए सुमन । सुब्बाको जागिरले सन्तोष थिएन उनलाई । अमेरिका पुग्ने र पैसामा चुर्लुम्म डुब्ने चाहना थियो उनीमा । एक दिन सरलालाई फकाउँदै भनेका कुरा मस्तिष्कमा घुमिरहेका थिए । ‘सरला, म अमेरिका जाने भए नि !’
‘कसरी ?’ ‘सलुलाई डिभी परेको छ । उसैसँग मैले कुरा पनि गरिसकेँ । हुन्छ भनेकी छ ।’ ‘हुँदैन । पर्दैन जान । के चाहिएको छ हामीलाई योभन्दा बढी । जागिर छँदै छ । खान पुगेकै छ । बाबुलाई पढाउनसके भइहाल्यो नि ।

‘बाबुलाई म डक्टर बनाउन चाहन्छु । अमेरिका जाने यस्तो अवसर फेरि कहाँ पाइन्छ र ?’ सलुलाई अमेरिकन डिभी चिठ्ठा परेको थियो । गरिब घरकी सोझी केटी सलुसँग न त अमेरिका पुग्न सक्ने पैसा नै थियो न त आँट नै । उसलाई चाहिने पैसा लगानी गर्न तयार थिए सुमन । अमेरिका जान लोभिएका उनी प्रक्रिया अघि बढाउँदै थिए । सलुको विवाहित लोग्ने भएर मात्र सुमन अमेरिका जान पाउने थिए । सरला मान्न तयार थिइनन् । आफ्नो लोग्नेलाई अर्काको जिम्मा लगाउने साहस थिएन उनीसँग । सुमनलाई रोक्ने धेरै कोसिस गरिन उनले । वर्षौं भइसकेको थियो सुमनले डिभी भर्न थालेको ।

डिभी खुल्नु पूर्वबाट सुरुभएको अमेरिकन चर्चा–परिचर्चा रिजल्टपछि निराशामा टुंगिन्थ्यो । ‘अमेरिकाको डिभी खुल्दै छ, खुल्यो, भर्ने म्याद आज सकिँदै छ’ जस्ता कुरा सुमनले जोडतोडका साथ सुनाउँथे । चिठ्ठा खुलेपछि उनको अनुहार मलिन बन्थ्यो । ‘सुमन सर, यो पाली त हजुरलाई प¥यो होला नि ?’ भन्ने शब्दले मर्माहत बनाउँथ्यो उनलाई । क्रेज बढ्दै थियो । घरपरिवार, समाज, पत्रपत्रिकालगायत सबै क्षेत्रमा डिभीको खुलेर प्रशंसा गर्ने मध्ये सुमन अब्बलमा गनिन्थे ।

टिभीमा हेरेको अमेरिकालाई प्रत्यक्ष हेर्ने, महसुस गर्ने, अकुत सम्पत्ति जम्मा गरेर सुखसँग बाँच्ने कल्पनामै बित्थे उनका कैयौँ रातहरू ।  यसपटक यो मौकालाई गुमाउन चाहन्नथे उनी । सँगै सुतेको छोराको अनुहारमा हेर्थे र पैसासँग दाँज्थे । छोराको सुख र भविष्य पैसा भित्रै देख्थे । पत्नीको ऐसआरामको जिन्दगीलाई डलरसँग दाँज्थे । ठूलो घर, सुन्दर पत्नी र दक्ष छोराको परिकल्पनामा बाँच्न थालेको धेरै भइसकेको थियो उनको ।

मध्यम वर्गीय परिवार र सम्झौताको जिन्दगी बुद्धि र भाग्य दुवै नहुनेले मात्र जिउनुपर्छ भन्ने सोच्थेँ । सलुसँगको यसपालीको साथलाई छुटाउन नहुने देखेर नजिकिँदै थिए उनीसँग ।  ‘सलु सेकेन्ड लेटर आयो ?’ ‘छैन…। किन ? कसरी जाने खै ? पैसा पनि छैन । डिभी पर्दैमा अमेरिका जानै पर्छ र ? आ… म त जान्न दाइ । आनन्द छ यहीं । दुःख–सुख ग¥यो खायो । उता गएर कति दुःख पाइने हो ? नचिनेको ठाउँ । आफ्ना कोही हुँदैनन् ।’ यस्तै खोजेका थिए उनले ।

मौकाको फाइदा उठाउने अवसर थियो यो । सम्झाए सलुलाई । धेरै कुराको लोभ देखाए । घरपरिवार समेतलाई प्रभावित बनाई छोडे । अन्ततः सलुको परिवारलाई आफ्नो जिम्मा लगाएर सलुलाई अमेरिका पठाउन तयार बनाएका थिए । ‘सरला, कुरा बुझन । अमेरिका जाने मेरा लागि मात्र होइन । तिम्रै लागि सोचिरहन्छु म । एकपटक ग्रिनकार्ड हात परेपछि त… ।’ ‘हुँदैन । मलाई पैसा हैन माया चाहिन्छ । हजुरको साथ चाहिन्छ । हजुरविना म अपुरो हुन्छु । जे छ म त्यसैमा सन्तोष छु । छोडिदिनुस् यी सबै कुरा ।’

झनक्क रिसाउँदै धेरैपटक भनेकी थिइन् सरलाले । मनभित्र अमेरिका दौडाएका सुमनलाई जसरी पनि पत्नी फकाउनु थियो । ‘डिभोर्स’ गर्नुथियो । पुनः सलुसँगको वैवाहिक सम्बन्ध देखाएर मात्र अमेरिका छिर्नु थियो । यस्तो अमूल्य मौका फेरि आउनेवाला थिएन । गाउँका धनी भनाउँदाको ठाँट एवं रवाफ धेरै देखेकी थिइन् सरलाले पनि ।

शरीरभरि ढकमक्क गहना र कपडाले छोपिएर लोग्नेको हात समातेर मस्कँदै गरेका धेरै युवतीप्रति उनको मन लोभिँदै जान थालेको थियो । पैसाको धाक र घुर्की लगाउने छिमेकीको अगाडि दाँजिने सोच सुस्तरी पलाउन थालेको थियो । उनको सपना रातो चुरापोते, रंगी–विरंगी पहिरन र महँगा गहनामा सजिन थालेको थियो । एकातर्फ सुमनको कल्पना र अर्कोतिर सरलाको अतृप्त सम्पत्तिवाल बन्ने रहर क्रमशः मिल्दै जान थालेका थिए । अन्ततः सरलाले पठाइन् सुमनलाई । सुमनको जिद्दी सँगसँगै भोलिको रंगीन सपना छातीमा संगालेर अदालतमा छोडपत्र गरिन् सरलाले ।

आफ्नो सिन्दुर बेचिन्, पैसालाई धरौटीमा राखेर । अमेरिकन सपनाले पूर्व र पश्चिम बनाउँदै थियो उनीहरूलाई । छोराको एक्लो जिम्मेवारी काँधमा बोक्ने पालो उनको थियो । घर सम्पत्ति सबै सरलाको नाममा सारियो । धेरै थोरै जायजेथाको मालिक भइन् उनी । ‘कोर्ट म्यारिज’ भयो सुमन र सलुको । मनको अन्तरकुन्तरको डरलाई अठ्याएर अदालतमा सलु र सुमनको कानुनी विवाहलाई स्वीकारिन् उनले । कागजी विवाह मात्र सम्झेर तीनै जना ढुक्क थिए ।

जतिजति अमेरिका जाने दिन नजिकिँदै थियो उतिउति डराउँदै थिइन् सरला । सुमनको कुतूहलता बढ्दै गएको थियो । ‘ग्रिनकार्ड’ पाए लगत्तै लिन आउने वाचा गरी सलुसँग अमेरिका उडेका थिए सुमन । ‘यी खाजा लिनुस्’ सरलाको ठाडो बोलीले झस्किए उनी । अतीत सम्झिरहेका थिए । चाउचाउको कचौरा समातेर सरला अगाडि उभिएकी थिइन् ।
‘बाबु खै अझै आएन !’
‘अहँ’
‘कहाँ जान्छ युगल …?’
‘खै बिहान त घरै थियो ।’
‘के गर्छ उसले … ?’
‘…’
निरुत्तर भइन् सरला । सधैँ लाडिएर उत्तर दिने सरला कम बोलिरहेकी थिइन् । आँखा र अनुहारबाटै प्यार देखाउन सक्ने उनको मुखाकृतिले अरू केही भनिरहेको थियो । पहिले प्रश्नै नसोधी धेरै उत्तर पाउने सुमन अहिले पत्नीको स्वभावमा आएको परिवर्तनप्रति सोचमग्न थिए ।पत्नीको नजिकै सरे । सधैँ चलायमान भइरहने र नजिक पर्नासाथ जिस्कने सरलाले आज कुनै शारीरिक प्रतिक्रिया देखाइनन् । सुमनको नजरमा कामुक देखिने सरलामा रंगहीनता थियो । नैराश्यता थियो ।

‘सन्चो बिसन्चो पनि सोधिनौ त ?’ भन्ने प्रश्नको जवाफ डिच्च दाँत देखाएर मात्र दिइन् उनले । ओठ हाँस्नका लागि खुल्न मानिरहेका थिएनन् । सुमन गएदेखि उनका सपनाहरू खण्डहर बनेका थिए । पुगनपुग एक वर्षमै सुमनसँग सम्पर्क टुटेको थियो । अर्काको जिम्मा लगाएर पठाएको लोग्नेको आश गर्नु भनेको आफैँलाई धोका दिनुजस्तै थियो । ‘तँलाई तेरो लोग्ने चाहिएकै थिएन ।’ भन्ने छिमेकी र आफन्तका प्रश्नहरू निरुत्तर बनेका थिए उनका अगाडि ।

समाजले एक्ली आइमाइलाई हेर्ने नजर र पैसाविनाको घरपरिवार उनको लागि चानेचुने कुरा थिएनन् । पतिको अभावमा आफ्नो जवानीलाई धेरैपटक थिचेकी थिइन् उनले । घरखर्च, सुमनको पढाइ र अन्य अप्ठेरा काम सित्तैमा हुनेवाला थिएनन् । ऋण लिएर तिर्ने उपाय पनि थिएन । सानो काम गर्दा पनि फाइदा खोज्नेहरूले कामको बदलामा जवानीको आश गर्न थाले । घरखर्च चलाउनका लागि के गरिनन् सरलाले । सुमनको अभाव खट्किरहेको थियो । बिछोडको पीडा सहन हम्मेहम्मे परिरहेको थियो उनलाई ।

मर्नुभन्दा बहुलाउनु वेस भनेझैँ छुट्टिनुको पीडा बिर्सन चुरोटको बट्टाहरूसँग रात बिताउन थालेकी थिइन् उनले । ‘इन्डियन सिरियल’ हुँदै अन्ततः भट्टीसम्म उनको जिन्दगी जोडिँदै थियो भने छोरा र आफन्तसँगको सम्बन्ध पातलिँदै । खानाको अभावमा भोकै सुतेका रातहरू उनको मनभरि खेलिरहेका थिए ।  ‘बाबु आएन ?’ झस्किन् सरला । निधारको चिटचिट पसिना पुछ्दै सम्हालिइन् उनी । छोराको अनुपस्थितिमा आत्तिएका थिए सुमन । झन्डै एक दशकपछिको युगलसँगको भेटका लागि बेचैन थिए उनी । छोराको रूपरङ, जिउडाल हेर्ने हतार भएको थियो उनलाई ।
सरलासँग निस्किए सुमन छोराको खोजीमा । गाउँ घर डुले । गाउँलेहरू अचम्म मानेर यो जोडीलाई हेरिरहेका थिए । युगलको पत्तो थिएन । धेरै ठाउँ सोधे पनि । कसैले पनि जवाफ दिएनन् । सरला चुपचाप सुमनको पछाडि हिँडिरहेकी थिइन् । युगल प्रायः खहरेको किनारमा जाने र बस्ने गरेको सरलालाई थाहा थियो तर भन्न चाहिनन् उनी । निकै बेरपछि दुवै जना खोला किनारतर्फ लागे । ढुंगामाथि बसेर एकोहोरो खोला हेरिरहेको थियो युगल । चुरोटका बट्टा र सुर्तीका पोकाहरू यत्रतत्र छरिएका थिए ।

ठिङरिङ परेको केशराशि आकाशतर्फ सोझिएको थियो । शरीरका कपडाहरूले अंगप्रत्यंग चिहाइरहेका थिए । पैतालामा फाटेका चप्पलहरूले गिज्याइरहेका थिए । सुर्ती र चुरोटबाट खिइएका र कलेटी परेका ओठहरू चरचरी फुटेका थिए । बालापन देखिनुपर्ने हत्केलाहरूमा शायद भाग्य रेखाहरू नै हराइसकेका थिए । नजिकैबाट एक कालो आकृति खुट्टै समात्ला जस्तै गरी बगेर गयो । तर्सियो ऊ । खुट्टामाथि तान्यो । ओठ कपाउँदै बोल्यो ‘अभागी मोरो, दुःख लुकाएछ ।’ ऊ विक्षिप्त थियो । बाबुआमा भएर पनि टुहुरोजस्तो थियो ।

हाँस्दा रुँदा दुवै अवस्थामा साथी बनेको थियो खहरे । बेस्सरी कपाल समात्यो । मुख बिगा¥यो । मन अमिलो पा¥यो । पकेट छाम्यो र चुरोट निकाल्यो । सलाई नभेटेपछि ‘हरि कंगाल तँ’ भन्दै गाली ग¥यो आफैँलाई । चुरोट कच्याककुचुक पारी पानीमा फाल्यो । सूर्तीको पोको निकाल्यो । ओठमा च्याप्यो थोरै झिकेर ।  दुवै खुट्टा पानीमा क्रमशः चोबिए । भाँसिएको अतीत र भाग्यको भग्नावशेषलाई बेस्सरी सम्झने कोसिस ग¥यो । ‘साला जिन्दगी’ भुन्भुनायो भित्रभित्रै । पछाडि फर्कियो । आमालाई देख्यो साथमा लोग्ने मानिस पनि । चिन्न खोज्यो तर ठम्याएन । उसलाई ठम्याउनु पनि थिएन ।

नदीका किनारमा यस्ता अपरिचित धेरै मानिसहरूलाई आमासँगै देखेको थियो उसले धेरैपटक । केही छिन अनुहारमा हेर्न मन लाग्यो तर फनक्क फर्कियो आफ्नै दुनियामा ।  ‘बाबु युगल, मेरो छोरो ।’ सुमनले हात समातेर उठाए । अंकमाल गरे । आफूजत्रै भएकोमा हर्ष माने ।
‘युगल बाबालाई चिनेनौँ ?’ निरुतर भयो युगल । ‘बाबु दुःख पाइस् ।’ यत्ति बोले उनी । पत्नीतिर फर्के । पहाडजस्तै अटल बनेर उभिएकी थिइन् सरला । कुनै प्रतिक्रिया थिएन उनको । सुमनलाई अब सोच्नु र सम्झनु पर्ने केही थिएन । सबै छर्लंगै थियो ।

युगललाई कसैले माया नगरेको धेरै भएको थियो । आमाले आफूलाई माया गरेको सम्झन पनि वर्षौंअघि फर्कनु पथ्र्याे उसलाई । समाजबाट अपहेलित, साथीबाट तिरस्कृत र स्कुलबाट निष्कासित युगललाई आफैँमाथि विश्वास थिएन । सुमनको मनमा अनेक तर्कना खेले । अतीत चलचित्रको पर्दा भैmँ सरिरहेको थियो । अमेरिका पुग्ने सपनाबाहेक अन्य सपनाहरू सपनामै परिणत भएका थिए । सलुसँग अमेरिकासम्म पुग्ने सर्तमा विवाहको नाटक रचिएको थियो ।

दोस्रो विवाह गर्ने रहर न सुमनलाई थियो न त बूढो लोग्ने स्याहार्ने इच्छा सलुलाई ।  नयाँ ठाउँ थियो । नयाँ परिवेश । कहाँ जाने र के गर्ने दुबै अनभिज्ञ । एक्लाएक्लै हिँड्नु झनै कठिन थियो उनीहरूलाई । अप्सराहरूका अगाडि ऋषि तपस्वीहरूको तपस्या भंग भएझैँ सुडौल शरीर, यौवनले भर्भराउँदी सलुले सुमनको तपस्या भंग गर्दै थिइन् । सँगैको बसउठले पतिपत्नीजस्तै लाग्थ्यो अरूहरूलाई पनि । सुमनलाई पतिका रूपमा स्वीकार्न कुनै कठिन भएन सलुलाई ।

सुमन सलुलाई साँच्चैकी पत्नी स्वीकार्न चाहँदैनथे । शरीर अमेरिका भए पनि मन मस्तिष्क नेपालमै थियो । युगल र सरलासँग रमाउन चाहन्थे । सपनाको भरिया भएर अमेरिका छिरेका थिए उनी । ‘फुललेजस्तो फल्ने र सोचेजस्तो हुने’ भए को नै दुःखी हुन्थ्यो र ? पेटको लागि संघर्ष गर्नुप¥यो दुवैलाई । किराना पसल, होटल, कुल्ली हुँदै झिनामसिना काममा झन्डै दुई वर्ष बिताउनु प¥यो उनीहरूले ।

सीप र अनुभवको आधारमा दुई÷चार पैसा जम्मा हुन थालेपछि सलु अमेरिकन संस्कृतिमा जम्न थालिसकेकी थिइन् । सुमनलाई पति स्वीकारेकी सलुले उनको कमाइमा दाबा गर्नु नाजायज थिएन । अमेरिकनजस्तो गर्छन् त्यस्तै गर्न सकेमा नै आफ्नो इज्जत रहने सोच्थिन् उनी । युगलको भविष्यका लागि एक सन्तान मात्र जन्माउने निर्णय गरेका सुमनले सरलाको छोरी जन्माउने जिद्दीलाई लत्याएर परिवार नियोजन गरेका थिए । यो कुरा धेरैपछि थाहा पाएकी थिइन् सलुले ।

मोजमस्तीमा रम्नु, फरकफरक ‘ब्वाय फ्रेन्ड’ बनाउनु पश्चिमी संस्कृतिको परिचय नै हो क्यारे ! यही परिचयको हिस्सेदार भइसकेकी सलुले चारैतिर सम्बन्ध बढाउँदै थिइन् । सलुले सुमनलाई घरको नोकर सम्झन थालेकी थिइन् । आफ्नै कारण अमेरिका छिर्न पाएको कुरा दोहो¥याउँथिन् । छोरा युगल र पत्नी सरलाका लागि अमेरिका पुगेका सुमन फगत सलुका दास बन्दै गएका थिए । अमेरिका छिरेको पनि पाँचौँ वर्ष हुँदै थियो ।

दुई वर्षमै पैसासहित घर फर्कने कबुल गरेका थिए सुमनले । यतिका दिनसम्म न त पैसा पठाए न त खबर नै । छोरा युगल र सरलाको सम्झनाले सताउन थाल्यो । आफूले जिम्मेवारी पूरा गर्न नसकेकोमा पछुतो हुँदै थियो । नेपाल फर्किने चाहना दिनदिनै बढ््न थाल्यो । पैसा बोकेर फर्कने सम्भावनालाई सलुले तुहाइदिएकी थिइन् । सुमनको कमाइमा रम्न पल्केकी सलुले सुमनलाई नेपाल फर्काउन चाहन्नथिन् । पासपोर्ट र अन्य कागजात पहिले नै लुकाइदिएकी थिइन् । सहनुको पनि सीमा हुन्छ ।

स्वाभिमानले बाँच्ने अभिलाषा लिएका सुमनलाई सलुको बढ्दो अभिमानले अपमान बनाउँदै थियो । सलुसँगै बसेमा घर न घाटको हुने कुरा निश्चित प्रायः थियो । उनीबाट अलगिनुबाहेक कुनै विकल्पहरू बाँकी थिएन उनीसँग । अन्तमा सलुलाई त्याग्नु नै श्रेयश्कर ठाने उनले । अप्ठ्यारा दिनहरू सकिएका थिएनन् । कागजात एवं पासपोर्टविना काम गर्नु पटक्कै सजिलो थिएन । आफ्नो ज्यान धरापमा राखेर काम सुरु गरे ।

घरमा खबर आदानप्रदान नभएको पनि वर्षाैंं बितेको थियो ।  जसरी पनि पैसा कमाउने उद्देश्य बोकेर अमेरिका छिरेका सुमनले छोटो समयमा धेरै पैसा कमाए । सलुसँग छुट्टिएको केही वर्षमै सुमनले लाखौँ कमाए । कागजातविना पनि उनी कहिल्यै पक्राउ खाएनन् । सलुले साथ नदिए पनि भाग्यले साथ दियो । पैसा कमाउने धोका पूरा भयो । पैसा पठाउने बन्दोबस्त मिलाई नेपाली दूतावासमार्फत अन्ततः फिर्ता भए उनी ।

अनगिन्ती गहना र कपडाले भरिएको झोला सरलाको अगाडि थियो । बजारबाट फर्कंदा बाटैमा झोला खोतल्ने र एउटा रुमाल ल्याउँदा पनि हात्ती नै ल्याइदिएझैँ खुसी हुने सरलालाई ती महँगा गहनाले लोभ्याउन सकेका थिएनन् । कुनै उत्सुकता थिएन उनीमा । बाबुसँगै बस्न, सुत्न, खान र डुल्न मन पराउने युगल आज बाबुको नजिकसम्म परेको थिएन ।

युगललाई डाक्टर बनाउने धोको पूरा हुने संकेत नै थिएन । लागुपदार्थको दुव्र्यसनबाट छुटाउन सुधार गृहका लागि डाक्टरसँग सल्लाह गर्नुपर्ने बाध्यता देखिन्थ्यो सुमनलाई । गाउँ समाजमा इज्जतले बसेका उनीसँग गाउँलेहरू औपचारिकता मात्र निभाइरहेका थिए । अफिसबाट घर फर्कंदा सधैँजसो एक आधाघण्टा भलाकुसारी गर्न घरमै आउँथे छिमेकीहरू । यत्तिका वर्षपछि घर फर्कदासमेत उनीहरू निकै हतारो भएजस्तो गरिरहेका थिए ।

सुखदुखःका कुरा गर्नसमेत खोजिरहेका थिएनन् । पैसा भएपछि सबै नजिक हुन्छन् भन्ने लागेको थियो सुमनलाई । नीतिशास्त्रमा लेखिएको यो श्लोकबाट निकै प्रभावित थिए उनी ।

टका धर्मः टका कर्मः टकैव परम् सुखम् ।
यस्य गृहे टका नास्ति हाःटकेटकटकाएते ।

अर्थात् पैसाले नै धर्म हुन्छ । पैसाले नै कर्म हुन्छ । पैसाले नै श्रेष्ठ सुख पाइन्छ । जसको घरमा पैसा छैन, उसको घर सबै कुराले टकटकिन्छ वा रितिन्छ भन्ने नीति शास्त्रको भाव आज उनलाई झुट्टा लाग्दै थियो । उनीसँग प्रशस्त धन थियो तर सम्मान थिएन । आफूसँग भएको पैसाले पत्नीको न सुन्दर जीउडाल फिर्ता आउँथ्यो न आचरण । छोरामा न कुनै उत्साह आउँथ्यो न अनुशासन । एक कमाएर हजारौं गुमाएको महसुस हुँदै थियो उनलाई । आफ्नै घर आफ्नो लागिरहेको थिएन ।

आफ्नो छोरो र पत्नी आफ्नै जस्ता लागिरहेका थिएनन् । छरछिमेक र आफन्तहरू नजिक थिएनन् । उँनीसँग भौतिक सुख थियो शान्ति थिएन । सुन्दर ओछ्यान थियो निद्रा थिएन । मीठो भोजन थियो भोक थिएन । सबै सबै थियो तर केही थिएन । विजय भएर पनि पराजय खेपिरहेका थिए उनी ।

 

प्रतिक्रिया