बाख्राको दूध हजार रुपैयाँ लिटर !

पटना । बिहारको राजधानी पटनामा बाख्राको दूधको मूल्य अकासिएर हजार रुपैयाँ प्रतिलिटरसम्म पुगेको छ । यसको कारण हल्ला वा पौष्टिकता नभएर डेंगु रोग हो । पटनाको कंकडबाग क्षेत्रमा रहेको झुपडीमा दूध लिन आएका श्यामका १५ वर्षीय छोरालाई पनि डेंगु भएको छ । उनी भन्छन्, ‘एक महिनाअघि मेरो छोरालाई डेंगु लागेको थियो । अहिले ठीक त भएको छ तर, स्वास्थ्य कमजोर छ ।

त्यसैले बाख्राको दूध लिन आएको हुँ ।’ उनी दैनिक १ पाउ दूध छोराका लागि लैजान्छन् । श्यामका अनुसार यस्तो सल्लाह डाक्टरले दिएका होइनन् । मानिसहरू भन्छन् बाख्राको दूध खुवाउँदा डेंगु रोगका बिरामीलाई फाइदा हुन्छ । यस वर्षको दसैंको छेक पटना वरपर डेंगुको महामारी फैलिएको थियो । त्यसैवेला देखि बाख्राको दूधको भाउ एक्कासि बढ्यो । बाख्रा पालक किसान फूलमनी देवी पासवान भन्छिन् ‘एक महिनाभन्दा बढी भयो मानिस आफ्नो घरमा डेंगुको रोगी भएको भन्दै दूध लिन आउँछन् ।

मैलै पाठापाठीको भागको दूध काटेर पनि उपचारका लागि दूध दिने गरेकी छु ।’  दसैैँदेखि छठसम्मको अवधिमा एक चिया गिलासको १ सय ५० रुपैयाँ सम्ममा बाख्राको दूध बेचेको बताउने पासवान त्यसपछि भने मूल्य घट्दै गएको बताउँछिन् । मौसम परिवर्तनसँगै डेंगुका रोगी पनि घटेको बताइन्छ । जबकि डाक्टरका अनुसार यस्तो उपचारको कुनै चिकित्सकीय आधार छैन ।

इन्डियन मेडिकल एसोसिएसन पटनाका अध्यक्ष एसएनपी सिंह भन्छन्, ‘काहीँबाट कसैले भन्यो मानिसले प्रयोग गर्न थाले । गाई र बाख्राको दूधमा पाइने पोटासियम, क्याल्सियम र फ्याटजस्ता पोषक तत्व धेरै फरक छैनन् । दूध जेसुकैको होस पोषक तत्व समानजस्तै हुन्छन् ।’

प्रतिक्रिया