भारत नियन्त्रित काश्मिरमा तीन आतङ्ककारी मारिएपछि….

भारत नियन्त्रित काश्मिर, ५ मङसिर । भारत नियन्त्रित काश्मिरमा मङ्गलबार लासकार इ तोइबासँग सम्बन्धित तीन आतङ्ककारी मारिएका छन् ।

प्रायः अशान्त नै रहने भारत नियन्त्रित काश्मिरमा आतङ्ककारी र सुरक्षा कर्मीबीच भएको दोहारो गोली हानाहानमा ती आतङ्ककारी मारिएका सुरक्षा अधिकारहरुले जानकारी दिएका छन् ।

भारत नियन्त्रित काश्मिरको प्रान्तीय राजधानी सहर श्रीनगरबाट ८० किलोमिटर उत्तरपश्चिममा पर्ने कुप्वारा जिल्लाको मगाम हान्दवारा गाउँमा मङ्गलबार बिहान सो घटना भएको प्रहरीले जानकारी दिएको छ ।

‘आज बिहान मगाम हान्दवारामा भएको गोली हानाहानमा तीन आतङ्ककारी मारिए’ भारतीय प्रहरी काश्मिरका प्रवक्ताले जानकारी दिए ।

मङ्गलबार बिहान भएको यस गोली हानाहानमा भारतीय प्रहरी र सैनिकतर्फ भने कुनै क्षति नभएको प्रहरी अधिकारीहरुले बताएका छन् ।

सो घटनालगत्तै मङ्गलबार बिहान पनि सो इलाकामा प्रहरी कारबाही जारी नै रहेको प्रहरीले जनाएको छ ।

भारतको आर्थिक राजधानी मुम्बाईमा सन् २००८ मा भएको आक्रमणमा लासकार इ तोइबा नामक आतङ्ककारी सङ्गठनको हात रहेको थियो ।

यस आक्रमणमा परी १६६ व्यक्तिको मृत्यु भएको थियो भने अरु सय भन्दा बढी घाइते भएका थिए ।

प्रतिक्रिया