जुम्ला, १९ कात्तिक । कर्णाली नपुगेका यो देशका धेरैलाई बेलाबेलामा सुनेको “दुर्गम कर्णाली” भन्ने शब्द समूहको काल्पनिक भूतले भयभित बनाउँछ ।
त्यही नामले उनीहरुको आङ् सिरिङ्ग हुन्छ । नवप्रवेशीलाई कर्णालीमा अशिक्षा, भोकमारी, गरिबी, कुपोषण र कष्टकर जिन्दगी छ भन्ने प्रभावले चिन्तित तुल्याउँछ ।
अझ त यहाँ जन्मनेहरुले खानै पाउँदैनन र बाँचेकाहरु ३६ वर्ष नपुग्दै मर्छन् भन्ने छाप अहिलेसम्म पनि जीवित पारिएको छ ।
जसरी कर्णालीको भूगोल, जीवनशैली र परिवेशलाई बुख्याँचा बनाइयो, सूचना–प्रविधि र विकासले पछिल्लो पाँच वर्षमै असत्य सावित गरिदिएको छ ।
अहिले कर्णाली आउनु परे बाध्यता र सजाय महसुस गर्ने जो कोही फर्कंदा भने प्रशंसा गरेर जान्छन् ।
अनौठो अनुभव बटुल्दै फर्कंदा उनीहरु भन्ने गर्छन्, “कर्णाली साँस्कृतिक, धार्मिक, ऐतिहासिक र पर्यावरणीय गन्तव्य हो, एकपटक यहाँ पुग्नै पर्दछ ।”
सडक सञ्जाल जोडिएसँगै केही हदसम्ममाथि उठेको महसुस गरिएको यो क्षेत्रका नागरिकको जीवनशैली कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला स्थापना भएपश्चात् झनै उन्नति भएको पाइएको छ ।
प्रतिष्ठान स्थापनापछि मात्र यहाँका नागरिकहरुले बुझेका छन् कि हरेक देशको समृद्धि र विकासमा प्रभाव पार्ने प्रमुख मध्येको एक स्वास्थ्य क्षेत्र रहेछ भनेर ।
कर्णालीवासी भन्छन्, “स्वस्थकर जीवन नहुँदा न शिक्षामा दक्षता हासिल हुँदो रहेछ नत उत्पादनयोग्य श्रम गरेर समाज र देशलाई योगदान दिनसक्ने जनशक्ति तयार पार्न सकिदो रहेछ ।”
स्वस्थ, सभ्य र दक्ष जनशक्ति उत्पादनमा सहयोग पु¥याउनुका साथै यस क्षेत्रका बासिन्दालाई स्वस्थ भएर बाँच्न पाउने अधिकार प्रतिष्ठानले दिलाएको छ ।
पाँच वर्ष अघिसम्म सुगमको उपचार सेवा लिन लाखौँ रकम खर्चगरी जीवन रित्याएर आउने कर्णालीका नागरिकहरुको पीडा अहिले पनि मानसपटलमा ताजै छ ।
यद्यपि सुगमले दिने त्यही स्वास्थ्य उपचार सेवा हाल दुर्गमका अस्पतालले उपलब्ध गराउँदा अल्पायुमै मर्नुपर्ने यहाँका नागरिकको बाध्यता हटेको छ ।
त्यतिमात्र होइन, प्रतिष्ठानको उत्पादित जनशक्तिले सुगममा पनि सेवा दिइरहेको छ ।
दुर्गम हिमाली क्षेत्रमा स्थापना भएको प्रतिष्ठानले भने कर्णाली र पिछडिएका क्षेत्र मात्र नभई हाल सिङ्गो ६ नं. प्रदेशका जनतालाई सुगमकै स्वास्थ्य उपचार सेवा सरल तरिकाले प्रवाह गरिरहेको प्रतिष्ठानका अस्पताल निर्देशक धर्मराज गोसाईंले जानकारी दिए ।
“साधारण उपचार सेवा मात्र होइन, विशेषज्ञ स्वास्थ्य सेवा दिन सबै विभागमा आधारभूत उपकरण छन् र वर्षेनी तिनको स्तरोन्नति पनि भइरहेको छ,” निर्देशक गोसाईंले भने ।
उनका अनुसार हाल प्रतिष्ठानमा हाडजोर्नी–२, स्त्रीरोग–२, सर्जन–३, इन्टरनल मेडिसिन–२, एनेस्थेसियोलोजिष्ट–४, जनरल फिजिसियन–२, जनस्वास्थ्य–१, सर्जरी–१ र रेडियोलोजिष्ट–१ गरी १८ जना विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भइरहेको छ ।
प्रतिक्रिया