आठ महिना यता स्क्रब टाइफसबाट ९ जनाको मृत्यु

काठमाडौं । पछिल्लो समय विभिन्न जिल्लामा देखिएको स्क्रब टाइफसका कारण ९ जनाको मृत्यु भएको पुष्टि भएको छ । पछिल्लो ८ महिनायता यो रोग लागेका ९ जनाको ज्यान गएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।

महाशाखाको तथ्यांकअनुसार मुलुकभर ६ सय ६५ जनामा स्क्रब टाइफसको संक्रमण देखिएको छ । स्क्रब टाइफसबाट सबैभन्दा बढी स्याङ्जामा ३ जनाको मृत्यु भएको छ । यस्तै सबैभन्दा बढी संक्रमित देखिएको चितवन जिल्लामा २ जना बिरामीको मृत्यु भएको छ । नवलपरासी, गुल्मी, दाङ, रूपन्देहीमा समान एक–एक जनाको स्क्रब टाइफस रोगको संक्रमणका कारण मृत्यु भएको महाशाखाले जनाएको छ । चितवनमा १ सय २७ जना संक्रमित भेटिएको महाशाखाको तथ्यांक छ । यद्यपि जिल्ला जनस्वास्थ्य कार्यालय चितवनले भने ३ सय १ जनामा संक्रमण पुष्टि भएको जनाएको छ । चितवनसहित छिमेकी जिल्ला नवलपरासी, मकवानपुर, रूपन्देहीलगायत जिल्लामा बिरामीको संख्या बढी देखिएको महाशाखाले जनाएको छ ।

काठमाडौं उपत्यकामा पनि यो रोगको संक्रमण देखिए पनि अहिलेसम्म मृत्यु भएको पुष्टि भने नभएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाइएको छ । हाल दैनिक ४–५ जनाको हाराहारीमा स्क्रब टाइफस रोगका संक्रमित उपचारका लागि आउने गरेको अस्पतालका चिकित्सक शेबहादुर पुनले जानकारी दिएका छन् । काठमाडौंमा मात्रै अहिलेसम्म २ सयभन्दा बढीमा संक्रमण पुष्टि भइसकेको उनले बताए ।

यो रोग मुसामा पाइने एक प्रकारको किर्नाको टोकाइबाट मानिसमा सर्ने गर्दछ । समयमै रोग पत्ता लगाइ नियमित औषधी सेवन गरेमा यो रोग सजिलै निको हुने भए पनि लापरबाहीका कारण मानिसको ज्यान जाने गरेको डाक्टर पुनको भनाइ छ ।

प्रतिक्रिया