ब्रिक्स सम्मेलनमा सहमति र सहकार्यमा जोड

bricsसियामेन २१ भदौ । चीनको दक्षिणपूर्वी सहर सियामेनमा सम्पन्न ब्रिक्सको सम्मेलनमा यसका सदस्यहरूबीच व्यापक मात्रामा सहमति र सहकार्यमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय सहयोग र समन्वयमा सो सम्मेलनमा सहमति भएको अधिकारीहरूले जनाएका छन् । उनीहरूका अनुसार मंगलबार सम्पन्न सो सम्मेलनमा सदस्य राष्ट्रहरूको आपसी हित, सहयोग र उनीहरूको साझा चासोका विषयमा विशेष सहमति भएको थियो ।उक्त सम्मेलनको समापनसँगै मंगलबार चिनियाँ राष्ट्रपति सि चिनफिङले वर्तमान विश्व परिवेश, विश्व अर्थतन्त्र र समन्वयमा उक्त सम्मेलनमा सहमतिमा पुगेको जानकारी दिए ।

ब्रिक्सको उक्त नवौँ सम्मेलनले सियामेन घोषणापत्र जारी गरेको छ । उक्त घोषणापत्रमा ब्रिक्स संगठनले विश्वमा पारदर्शिता एवं खुलापनको विकास, समावेशिता र सबैको साझा चासोका विभिन्न एजेन्डाहरूको विकासमा जोड दिएको छ ।उक्त सम्मेलनमा ब्रिक्सका साथै आर्थिक क्षेत्रका उदीयमान देशहरू जस्तो इजिप्ट, मेक्सिको, थाइल्यान्ड, ताजिकिस्तान र गुएनाका नेताहरूले पनि भाग लिएका थिए ।

ती देशहरूको आर्थिक विकास तथा अन्तर्राष्ट्रिय सहयोग र समन्वयका क्षेत्रमा पनि ब्रिक्सले सहयोग र साझेदारी प्रदान गर्ने बारेमा पनि उक्त घोषणापत्रमा जोड दिइएको छ । चिनियाँ दक्षिणपूर्वी सहर सियामेनमा अयोजना गरिएको ३ दिने सो सम्मेलनको समापनसँगै पत्रकारहरूलाई जानकारी दिँदै चिनियाँ राष्ट्रपति चिनफिङले विश्वमा आर्थिक सुशासन कायम गर्न तथा उदीयमान अर्थतन्त्रहरूका समस्या र आवाज सुनेर उनीहरूको विकासका लागि पनि साथ र सहयोग दिने विषयमा व्यापक मात्रामा जोड दिइएको बताए ।

सन् २०३० मा पूरा हुने दिगो विकासका एजेन्डाका लागि सबै देशहरूले आवश्यक गृहकार्य र एजेन्डाको कार्यान्वयनका लागि पनि साझा विकासका कार्यक्रमहरू अघि सार्ने बारेमा सो सम्मेलनमा सहमति भएको उनले जानकारी दिए । सो पत्रकार सम्मेलनमा चिनियाँ राष्ट्रपति चिनफिङले ब्रिक्सको १०औँ सम्मेलन दक्षिण अफ्रिकामा आयोजना गरिने जानकारी पनि दिएको प्राप्त समाचारमा जनाइएको छ ।  उनले भने, सबैको सहमतिबाटै आगामी सम्मेलनको आयोजना दक्षिण अफ्रिकाले गर्ने भएको छ । सो सम्मेलनको आयोजनाका लागि जे जस्तो सहयोग गर्नुपर्छ त्यसका लागि चीन तयार रहेको प्रतिबद्धता पनि उनले व्यक्त गरे ।

प्रतिक्रिया