आणविक परीक्षणबाट विश्व थर्काउदैँ उत्तर कोरिया

North Korean leader Kim Jong Un provides guidance on a nuclear weapons program in this undated photo released by North Korea's Korean Central News Agency
सोल । अन्तर्राष्ट्रिय समुदायको आग्रह तथा संयुक्त राष्ट्रसंघको बारम्बारको चेतावनीको समेत बेवास्ता गर्दै आणविक परीक्षणहरू गर्दै आएको उत्तर कोरियाले आइतबार पनि एक शक्तिशाली आणविक परीक्षण गरेको समाचार छ । यस समाचारलाई संसारका समाचार समितिहरूले आइतबार बिहानदेखि नै निकै प्राथमिकताका साथ सम्प्रेषण गरेका छन् । उनीहरूले यो घटनाबाट संसारमा नयाँ र ठूलो हलचल पैदा भएको टिप्पणी पनि समाचारमा गरेका छन् ।  यस परीक्षणको उत्तरले भने प्रारम्भिक रूपमा कुनै जानकारी दिएको थिएन । त्यो के कस्तो बम हो र यसको शक्ति कति हो भन्नेबारे उसले कुनै पुष्टि गरेको थिएन । तर, पनि सो परीक्षणका कारण उत्पन्न कम्पनले गर्दा यस कुराको पुष्टि भएको छिमेकी देशहरूले बताएका छन् ।

परीक्षणस्थल र अन्य छिमेकी देशमा पनि यसको कम्पन आएको उनीहरूको भनाइ छ । त्यसलगत्तै उत्तरले उक्त परीक्षण हाइड्रोजन बम भएको संकेत गरेको थियो । उत्तरको आधिकारिक समाचारमा सो परीक्षण सफल भएको भनिएको छ । उत्तर कोरियाको सरकारी सञ्चारमाध्यमहरूले उत्तर कोरियाले आइतबार बिहान हानेको हाइड्रोजन बम शक्तिशाली र सफल पनि भएको जनाएका छन् । उत्तर कोरियाली सञ्चारमाध्यमहरूले यहाँका नेतालाई उद्धरण नगरी उक्त परीक्षण सफल भएको जनाएका हुन् । उत्तर कोरियाले बारम्बार यस्ता क्षेप्यास्त्रहरू परीक्षण गर्दै आएको छ । केही समय मात्र अघि पनि उसले अन्तरमहादेशीय क्षेप्यास्त्र हानेको थियो । जो जापानको समुद्रसम्म पुगेर निस्तेज भई खसेको बताइएको थियो ।

उत्तर कोरियाका छिमेकी देशहरू दक्षिण कोरिया र जापानले सो परीक्षणको पुष्टि भएको नै बताएका छन् भने चीनले पनि उक्त क्षेत्रमा आएको कम्पन सोही परीक्षणको कारण हुनसक्ने बताएको छ । उत्तर कोरियाले क्षेप्यास्त्रहरू निर्माण गर्ने गरेको क्षेत्रमा कम्तीमा पनि छ म्याग्निच्युड हाराहारीको कम्पन आएको जनाएको छ । तर उत्तर कोरियाले भने यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन ।  यस परीक्षणलाई यसअघिभन्दा करिब १० गुणा धेरै शक्तिशाली रहेको दक्षिण कोरियाले बताएको छ । उसले भनेको छ, उत्तर कोरियाले यसअघि गरेको पाँचौँ पटकको परीक्षणभन्दा यो कम्तीमा पनि १० गुणा बढी शक्तिशाली छ ।

साथै दक्षिण कोरियाली विज्ञहरूले यस पटकको यो परीक्षणका कारण उक्त क्षेत्रमा ५.६ म्याग्निच्युडको कम्पन मापन गरिएको जनाएको छ । यो परीक्षण हाइड्रोजन बमको परीक्षण भएको हुनसक्ने अनुमान पनि दक्षिण कोरियाली विज्ञहरूले गरेका छन् ।उत्तर कोरियाली नेताले आइतबार हाइड्रोजन बम निर्माणस्थलको निरीक्षण गर्नुभएको समाचार आएको थियो । त्यस लगत्तै यो कम्पन आएकाले सोही समयमा नै हाइड्रोजन सहितको क्षेप्यास्त्र परीक्षण गरिएको हुनसक्ने अनुमान गरिएको बताइएको हो । यस परीक्षणको कम्पनपछि प्रतिक्रिया दिँदै जापानी प्रधानमन्त्री सिन्जो अबेले भनेका छन्, ‘यो परीक्षण निकै नै शक्तिशाली छ यस्ता क्रियाकलापहरू जापानका लागि अत्यन्तै अस्वीकार्य छन् ।’ उत्तर कोरियाले पछिल्लो पटक गरेको यो परीक्षणका कारण संसारमा नै नयाँ हलचल पैदा भएको छ । संसारका नेताहरूले उत्तर कोरियाको यो परीक्षणले शान्तिपूर्ण समाधानभन्दा पनि संसारमा नै हतियार र शक्तिको दम्भ सुरु हुने चिन्ता व्यक्त गरेका छन् ।

उत्तर कोरियाको क्षेप्यास्त्रविरुद्ध जापानको उजुरी
उता जापानले भने उत्तर कोरियाले क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि गरेको छ । जापानले आइतबार बिहान उत्तर कोरियाले यस्तो शक्तिशाली क्षेप्यास्त्र परीक्षण गरेको पुष्टि भएको दाबी गरेको छ । यो पुष्टिसँगै जापानले यस्तो परीक्षणको औपचारिक रूपमा विरोध पनि जनाएको छ । बारम्बार उत्तर कोरियाको यो हदसम्मको हर्कत कदापि मान्य नहुने पनि उसले बताएकोे छ । जापानका विदेशमन्त्री तारो कानोले भने, ‘जापान सरकारले आवश्यक विभिन्न सूचनाहरू संकलन गरेर र आवश्यक अनुसन्धान गरेर सो आणविक परीक्षण गरेको पुष्टि गरेको छ ।’

जापान सरकारले पनि मौसमसम्बन्धी र भौगर्भिक सर्वेक्षणबाट यससम्बन्धी सूचना लिएको थियो । प्राप्त सूचनामा यी निकायबाट प्राप्त जानकारीअनुसार उत्तर कोरियाले आणविक परीक्षण गरेकै कारण पृथ्वीमा कम्पन आएको पाइएको जापानले जनाएको थियो । जापानले चीनमा रहेको उत्तर कोरियाको दूतावासमा यस्तो विरोधपत्र पनि दर्ता गराएको छ । सो विरोधपत्रमा यस्तो क्षेप्यास्त्र परीक्षणको त्रास र यसबाट उत्पन्न परिस्थिति कुनै पनि हालतमा क्षम्य नहुने जिकीर पनि गरिएको छ । उत्तर कोरियाले हालै मात्र पनि जापानको समुद्रमा पर्नेगरी एक मिसाइल हानेको थियो ।जसका कारण जापानले गम्भीर रूपमा अन्तर्राष्ट्रिय कानूनको उल्लंघन गरेको भन्दै उत्तर कोरियामाथि कडाभन्दा कडा कारबाही गर्न माग गरेको थियो ।त्यसयता पनि उत्तर कोरियाले कुनै पश्चाताप महसुस गरेको छैन । बरु उसले अन्तर महादेशीय मिसाइल बनाउन सकेकामा गर्वको महसुस गरेको छ ।

उत्तर कोरियाले ग¥यो हाइड्रोजन बम बनाएको दाबी
यसैबीच, एक अर्काे समाचारअनुसार उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रमार्फत हान्न मिल्ने खालको एक अत्याधुनिक हाइड्रोजन बम बनाएको बताएको छ । यस्तो बमको विकास गरेको उत्तर कोरियाले बताएको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले उत्तर कोरियाका नेता किम जोङ उनले यस्तो खालको हतियार निर्माणस्थल र हतियार नै निरीक्षण गरेको जानकारी दिएको छ ।

आइतबार बिहान उनले यस्तो बमको नै निरीक्षण गरेका थिए । तर, उक्त बमको तस्बीर भने अझसम्म सार्वजनिक नगरिएको प्राप्त समाचारमा जनाइएको छ ।पश्चिमा देशहरूले भने ब्यालेस्टिक क्षेप्यास्त्रमा प्रयोग गर्न मिल्नेगरी उत्तर कोरियाले परमाणुसँग सम्बन्धित उपकरणहरू निर्माण गर्नसक्ने गरी प्रविधिको विकास गर्ने बारेमा आशंका व्यक्त गर्दै आएका छन् । त्यस स्तरको प्रविधि उक्त देशले विकास गर्न सकेको भन्नेमा उनीहरूको विश्वास कम रहेको बताइन्छ । हालै मात्र उत्तर कोरियाले एउटा मध्यम दूरीको क्षेप्यास्त्र उत्तरी जापानतर्फ प्रहार गरेको थियो ।

दक्षिण कोरियाली राष्ट्रपतिले आकस्मिक सुरक्षा बैठक बोलाए
यसैगरी, दक्षिण कोरियाबाट प्राप्त एक समाचारअनुसार दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले आइतबार राष्ट्रिय सुरक्षा परिषद्को आकस्मिक बैठक बोलाएका छन् । उनले उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षणस्थलतर्फबाट मापन गरिएको एक भूकम्पीय प्रकम्पन आएकाले यसले कोरियाली प्रायद्वीपमा गम्भीर सुरक्षा खतरा उत्पन्न गरेको भन्दै सो बैठक बोलाएका हुन् । यहाँका राष्ट्रपतिको कार्यालय ब्ल्यू हाउसले दिएको जानकारीअनुसार उनले स्थानीय समयअनुसार अपराह्न साढे ४ बजे सो बैठकको आह्वान गरेका छन् ।

उत्तर कोरियाको क्षेप्यास्त्र कार्यक्रमका कारण सो प्रकम्प आएको अनुमान गरिएको छ । जसका कारण ५ दशमलव ६ म्याग्निच्युडको कम्पन महसुस गरिएको बताइएको छ । तर, उक्त देशले क्षेप्यास्त्र परीक्षण गरिएको बारेमा भने केही सार्वजनिक गरेको छैन । उत्तर कोरियाली नेताले आइतबार बिहान हाइड्रोजन बम निर्माण गरेको भन्दै सो बमको निरीक्षण गरेको समाचार आएसँगै उक्त क्षेत्रमा सो कम्पन आएको पाइएको भौगर्भिक सर्वेक्षण निकायहरूले जनाएका छन् ।

उत्तरसँग वार्ता सम्भव थियोः अमेरिका
यसैबीच, उत्तर कोरियाले निरन्तरको क्षेप्यास्त्र परीक्षणपछि अमेरिकाले कोरियाली प्रायद्वीपको समस्या समाधानका लागि उत्तर कोरियासँग शान्तिवार्ताको सम्भावना रहेको बताउँदै आएको थियो । त्यस्तो प्रयास अमेरिकाले गर्दै आएको जनाएको थियो । त्यस कुराको जानकारी एकजना उच्च सुरक्षा अधिकारीले हालै दिएका थिए । अमेरिकी उच्च सैनिक जनरल जो डनफोर्डले केही समयअघि भनेका थिए ‘अमेरिकासँग उत्तेजित उत्तर कोरियाली शासकसँग छलफल तथा समस्याको समाधान खोज्ने विश्वसनीय तथा व्यावहारिक विकल्प रहेको छ ।’

तर अमेरिकाले दक्षिण कोरियासँगको सैन्य अभ्यासलाई रोक्ने कुनै योजना भने नबनाएको पनि उनले बताएका थिए । उनले हालै गरेको चीन भ्रमणका क्रममा सञ्चारकर्मीसँग सो कुरा बताएका थिए ।  अमेरिकाको दक्षिण कोरियासँग भएको संयुक्त सैन्य अभ्यासले चीन तथा उत्तर कोरिया दुवैलाई चिढाएको उनको भनाइ थियो । उत्तर कोरियाली नेता किम जोङ उनलाई ब्यालिस्टक क्षेप्यास्त्र विकास गर्न दिने कुरा कल्पना बाहिरको कुरा भएको र यसले अमेरिका तथा यस क्षेत्रको सुरक्षामा चुनौती खडा गरिरहेको पनि उनको भनाइ थियो ।

प्रतिक्रिया