स्यान्टियागो १८ भदौ । हजारौं आर्जेन्टिनीहरू एकजना मानव अधिकारवादी अभियानकर्ता हराएकोमा आयोजित विरोध कार्यक्रममा सहभागी भएका छन् । स्यान्टियागो म्याल्डोन्याडो, २८, एक महिनाअघि प्याटागोनियामा भएको आदिवासी अधिकारसम्बन्धी प्रदर्शनका बेलादेखि हराइरहेका छन् । मानवअधिकार अभियानकर्ताहरू, युनियन नेताहरू र बामपन्थी समुहहरूले मौरिसियो म्याक्रीको सरकारलाई ती अभियानकर्ताको खोजीमा थप प्रयत्न गर्न आग्रह गरेका छन् । आर्जेन्टिनाका विभिन्न सहरमा विरोध प्रदर्शन हुँदै आएको छ ।
प्रत्यदर्शीहरूले म्याल्डोन्याडो अगस्ट १ तारिख दक्षिणी आर्जेन्टिनामा मापुचे आदिवासी समूहको अधिकारका लागि आयोजित विरोध प्रदर्शनमा गिरफ्तार भएको देखेको बताएका छन् । प्रहरीले उनलाई थुनामा राखेको अस्वीकार गरेको छ । म्याल्डोनाडोका भाइ सेर्गियोले राजधानी ब्युनोस आयरिजमा आयोजित विरोध प्रदर्शनमा सम्बोधन गरेका थिए । उनले भने, ‘स्यान्टियागो हराएको एक महिनासम्म पनि सरकारले अस्वीकार गरिरहेको छ । उसले स्यान्टियागोका साथीभाइ र परिवारलाई मात्र प्रश्न गरेको छ ।’
उनले त्यस दिन उक्त क्षेत्रमा कार्यरत सबै प्रहरीमाथि स्वतन्त्र अनुसन्धान गर्न माग गरे । हराइरहेका अभियानकर्ताको तस्बिर, उनी कहाँ छन् भन्ने प्रश्न सहित आर्जेन्टिनाका टिसर्टहरू र पोस्टरहरूमा छापिएका छन् । आर्जेन्टिनी सुरक्षा फौजको धमिलो इतिहासले उनको अपहरण गरिएको या उनी मारिएका हुनसक्ने कतिपयले ठानेका छन् । तर, आर्जेन्टिनी सुरक्षा मन्त्री प्याट्रिसिया बुलरिचले ४० वर्ष अघिको सुरक्षा फौज र अहिलेको सुरक्षा फौजमा फरक रहेको बताइन् । सरकारले उनी कहाँ छन् भन्ने जानकारी दिनेलाई झन्डै ३० हजार डलर पुरस्कार दिने घोषणा गरेको छ ।
प्रतिक्रिया