फार्क विद्रोहीको नयाँ पार्टी घोषणा

farkबोगोटा १८भदौ । कोलम्बियाका पूर्वविद्रोहीहरूको संगठन द रिभोलुसनरी आर्मड फोर्सेस अफ कोलम्बिया (फार्क) मा आबद्ध लडाकुहरूले शुक्रबार नयाँ राजनीतिक पार्टीको औपचारिक घोषणा गरेका छन् ।  लामो समयदेखि लगातार सामाजिक न्यायका लागि लडिरहेको फर्कका पूर्वलडाकुहरूले हिंसाको राजनीतिलाई शान्तिपूर्ण राजनीतिमा परिणत गरिएको घोषणा गरेका छन् ।  ‘सुरु सुरुमा फार्कलाई नकारात्मक रूपमा हेरिन्थ्यो, तर हाम्रो विगत क्रान्तिकारी र एतिहासिक छ,’ पूर्वविद्रोही नेता तथा प्रवक्ता इभान मार्कक्वाजले पत्रकारहरूसँग भने ।

त्यो द्वन्द्व अब भने राजनीतिक क्षेत्रमा हुने उनको भनाइ छ ।  उनीहरूले अहिलेकै व्यवस्थामा नयाँ पार्टीमार्फत सामाजिक न्यायका लागि संघर्ष गर्न पार्टीमा रूपान्तरण गर्नुपरेको बताएका छन् । पार्टीको घोषणा गर्न आयोजित राष्ट्रिय सम्मेलनका लागि राजधानी बोगोटामा १ हजार २ सय पूर्व लडाकुहरू जम्मा भएका थिए ।  अहिलेका राष्ट्रपति जोन म्यानुएल सान्तोषको नेतृत्वमा कोलम्बियामा शान्ति प्रक्रिया अगाडी बढेको हो ।

सान्तोष र विद्रोहीका नेता लोन्डोनोले गत नोभेम्बर २४ मा शान्ति सम्झौतामा हस्ताक्षर गरेका थिए । सो शान्ति सम्झौतालाई गत डिसेम्बरमा संसद्ले अनुमोदन गरेको छ । कोलम्बियाको अनुदारवादी पक्ष भने अहिलेको शान्ति सम्झौताको विपक्षमा छ । शान्ति सम्झौतापछि कोलम्बियामा झण्डै ५ दशकदेखि चलेको आन्तरिक द्वन्द्व अन्त्य भएको छ ।

प्रतिक्रिया