युक्रेनमा युद्धविराम लागू गर ः राष्ट्र संघ

images-cms-image-000015449
संयुक्त राष्ट्रसंघ १४ भदौ । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले सोमबार पूर्वी युक्रेनमा हालै भएको युद्धविरामको स्वागत गरेका छन् । यस युद्धविरामलाई गम्भीरतापूर्वक लागूगर्न उनले विभिन्न राजनीतिक पार्टीहरूलाई आग्रह गरेको समाचारमा जनाइएको छ ।  उनले पूर्वी युक्रेनमा शान्ति स्थापनाका लागि भएको प्रयासको सराहना गरेका छन् । यस क्रममा भएका प्रयासहरूले आगामी दिनमा पूर्वी युक्रेनमा शान्ति स्थापनाका लागि सकारात्मक भूमिका निर्वाह गर्नेमा उनको जोड थियो ।  महासचिव गुटेरेसका प्रवक्ताद्वारा जारी विज्ञप्तिमा सो कुरा बताइएको छ ।

उक्त वक्तव्यमा भनिएको छ ‘शान्ति स्थापनाका लागि यहाँका राजनीतिक दल र नागरिक समाजको भूमिका महत्वपूर्ण हुन्छ, यसतर्फ सबैको ध्यान जाओस् ।’ युक्रेनमा गत शुक्रबार नयाँ युद्धविरामको घोषणा गरिएको हो । तर, युद्धविरामको घोषणा भएसँगै सो क्षेत्रमा पुनः हमलाको समाचार आएको थियो । सो हमलाका कारण केही व्यक्ति घाइते भएका छन् । यस युद्धविरामका लागि फ्रान्स र जर्मनीका अधिकारीहरूले भूमिका निर्वाह गरिरहेका छन् । युद्धविरामपछि पनि सैनिक क्रियाकलापहरू नरोकिने अवस्थाको अन्त्यगरी शान्तिका लागि प्रयास थाल्न महासचिव गुटेरेसले सबैसँग आग्रह गरेका हुन् ।

सोमबार मात्र फ्रान्सका राष्ट्रपति र जर्मनी चान्स्लरले रसियाली र युक्रेनी राष्ट्रपतिलाई शान्तिपूर्ण रूपमा युद्धविरामको पालना गरी वर्तमान हत्या हिंसाको क्रमलाई तत्कालै रोक्न सो विज्ञप्तिमार्फत माग गरेका हुन् ।  पूर्वी युक्रेनमा गएको केही वर्षदेखि पृथकतावादी नारा सुुरु भएको छ । युक्रेनबाट क्राइमिया भूभाग अलग भएर रसियामा बिलय भएपछि यहाँका नागरिकले पनि आत्मनिर्णयको अधिकार माग गरेर सो हिंसात्मक आन्दोलन गरेका हुन् । तर, युक्रेनले भने उक्त भूभागलाई कुनै पनि हालतमा अलग हुन नदिने अडान लिँदै आएको छ । जसका कारण त्यहाँ सशस्त्र विद्रोह सुरु भएको हो ।

प्रतिक्रिया