बीमा कार्यक्रम थप सात जिल्लामा विस्तार हुँदै

काठमाडौँ, १३ भदौ । स्वास्थ्य मन्त्रालयको प्राथमिकता प्राप्त कार्यक्रममा रहेको स्वास्थ्य बीमा कार्यक्रम आगामी असोज महिनादेखि थप सात जिल्लामा लागू हुने भएको छ ।

चालू आवको नीति तथा कार्यक्रममा सो कार्यक्रम क्रमशः सबै जिल्लामा सञ्चालनमा ल्याउने उल्लेख छ । झापा, सुनसरी, सोलुखुम्बु, सिन्धुली, रोल्पा, बर्दिया र सुर्खेत जिल्ला समेटिएपछि योसँगै सो कार्यक्रम लागू हुने जिल्लाको संख्या २२ पुगेको छ ।

बीमा कार्यक्रमलाई प्रभावकारी कार्यान्वयन गर्न सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिका कार्यकारी निर्देशक डा.गुणराज लोहनीले छनोटमा परेका जिल्लामा कार्यक्रम कार्यान्वयन गर्न काम भइराखेको जानकारी दिए ।

आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई कार्यान्वयनमा ल्याउन सो कार्यक्रम महत्वपूर्ण मानिन्छ । यसै कुरालाई ध्यान दिई स्वास्थ्य मन्त्रालयले विसं २०७२ चैतदेखि कैलाली जिल्लाबाट सो कार्यक्रम प्रारम्भ गरेको थियो ।

निर्देशक डा. लोहनीका अनुसार बीमा कार्यक्रममाा आबद्ध प्रतिपरिवार पाँचजनासम्मले वार्षिकरुपमा रु दुई हजार ५०० प्रिमियम तिर्दा रु ५० हजारसम्मको उपचार व्यहोर्ने व्यवस्था छ ।

पाँचजनाभन्दा बढीको परिवारका सदस्य भएमा प्रतिव्यक्ति थप ४२५ तिनुपर्ने र थप रु १० हजारका दरले उपचार खर्च बढ्दै जाने छ । हाल सो कार्यक्रम कैलाली, बागलुङ, इलाम, बैतडी, अछाम, पाल्पा, कास्की, म्याग्दी, चितवन, मकवानपुर, गोरखा, तनहुँ, जुम्ला, जाजरकोट र भक्तपुरमा सञ्चालित छ ।

प्रतिक्रिया