‘भारतसँग सम्झौता गरेको छैन’

ser-bahadu-deubaकाठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा भारतसँग कुनै पनि सम्झौता नगरेको स्पष्ट पारेका छन् । आफ्नो भारत भ्रमणको उपलब्धिका सन्दर्भमा व्यवस्थापिका–संसद्लाई सोमबार जानकारी गराउँदै प्रधानमन्त्री देउवाले संविधान संशोधनका विषयमा कुनै पनि सम्झौता नगरेको र हुन पनि नसक्ने बताए ।

पछिल्लो राजनीतिक घटनाक्रमबारे छिमेकीलाई जानकारी गराउने विषय सामान्य भएकाले अनावश्यक टीकाटिप्पणी नगर्न पनि उनले अनुरोध गरे । ‘संविधान संशोधन र स्वीकार्यताको विस्तार हाम्रै राष्ट्रिय एजेन्डा हो’, उनले भने, ‘देशका राष्ट्रिय योजनाको विषयमा अन्तर्राष्ट्रिय जगतलाई जानकारी गराउनु कुनै नयाँ विषय होइन ।’

देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको संयुक्त पत्रकार सम्मेलनमा संविधान संशोधनको विषय निकालेका थिए । उनको सो अभिव्यक्तिप्रति नेपाली राजनीतिक वृत्तमा तीव्र आलोचना भएको थियो । यसैगरी, प्रधानमन्त्रीले आफ्नो भारत भ्रमणले द्विपक्षीय हित, सहयोगमा फाइदा पुगेको दाबी गरे । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल र भारतको सम्बन्धलाई थप फराकिलो र सुदृढ बनाउन आफ्नो भारत भ्रमण सफल भएको दाबी गरे ।

उनले सीमा क्षेत्रमा हुने बाढी तथा डुबानको समस्या समाधानका लागि आफूले आफ्ना समकक्षीसँग प्रस्ट रूपमा विषयवस्तु राखेको र समाधान हुने विश्वास सिर्जना भएको बताए । पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन आगामी एक महिनाभित्र सम्पन्न गर्ने गरी भारतीय समकक्षीसँग कुराकानी भएको उल्लेख गर्दै उनले ऊर्जा व्यापार सम्झौताको मर्म र भावनाअनुसार नै मुलुकमा ऊर्जा उत्पादनलाई प्रश्रय दिने र प्रसारणलाइन निर्माण गर्ने सन्दर्भमा सहमति भएको जानकारी गराए ।

प्रधानमन्त्री देउवाले आर्थिक विकास र नेपालमा लगानीका लागि आफूले भारतीय पक्षसँग कुरा गरेको, पर्यटन क्षेत्रको विकास तथा विस्तार, निजगढ विमानस्थल निर्माण तथा नयाँ १ सय ३२ केभी क्षमताको प्रसारण लाइन निर्माणमा समेत सहमति भएको बताए ।

उनले भने, ‘आठवटा विभिन्न विषयमा समझदारी भएको छ ।’ प्रधानमन्त्री देउवाले माथिल्लो कर्णाली, अरुण तेस्रोजस्ता जलविद्युत् आयोजना अगाडि बढाउने सन्दर्भमा महत्वपूर्ण छलफल भएको बताए । प्रधानमन्त्री देउवाले मेची पुल निर्माण, सुदूरपश्चिम र पश्चिमाञ्चल क्षेत्रका विभिन्न विकास आयोजना तथा अन्य ठूला आयोजना, व्यापार विविधिकरणलगायत विषयमा समेत सहमति भएको पनि बताए ।

भारतीय प्रधानमन्त्री मोदीको निमन्त्रणामा ७ भदौदेखि ११ सम्म प्रधानमन्त्री देउवाले भारतको राजकीय भ्रमण गरेका थिए ।

प्रतिक्रिया