जानकारी : क्यामेरा के हो ?

First fotographyप्रकाशको माध्यमबाट कोरिने चित्रलाई फोटोग्राफी भनिन्छ । फोटोग्राफी शब्द ग्रिक भाषाबाट आएको हो । फोटोको अर्थ ‘प्रकाश’ र ग्राफीको अर्थ ‘कोर्नु’ हुन्छ । क्यामेराको सहयोगमा फोटोग्राफी गरिन्छ । क्यामेराबाट कुनै पनि वस्तुको भौतिक रूपलाई जस्ताको तस्तै उतार्ने कार्य फोटोग्राफी हो । प्रकाशलाई नियन्त्रण गरी प्रकाशसंवेदनशील पातामा कुनै पनि दृश्यलाई कैद गर्ने यन्त्र वा प्रविधिलाई क्यामेरा भनिन्छ ।

क्यामेरा प्लास्टिक, धातु वा काठबाट बनेको हुन्छ । जुन हल्का र सहजै बोक्न मिल्ने खालको हुन्छ । क्यामेरामा वस्तुको गति र प्रकाशलाई नियन्त्रण गर्न एपर्चर राखिएको हुन्छ । कुनै वस्तुबाट परावर्तन भई आएको प्रकाशका किरण क्यामेरामा रहेको लेन्सको माध्यमबाट फिल्मको पातामा पुग्छ र त्यसमा रहेको केमिकलसँग प्रतिक्रिया भई अदृश्य प्रतिबिम्ब बन्छ । फिल्मलाई डेभलपिङ र फिक्सिङ गरेपछि मात्र आकृति देखिन्छ ।

यसलाई प्रकाशसंवेदनशील पेपरमा छापेपछि निस्कने आकृतिलाई फोटो भनिन्छ । पछिल्लो समय केमिकल विधिभन्दा पनि डिजिटल विधिद्वारा फोटो तयार गर्ने क्यामेराको विकास भएको छ ।

डिजिटल विधिद्वारा खिचिएका फोटोलाई कम्प्युटर या टेलिभिजनमा हेर्न सकिन्छ । आजकल मोबाइलमा क्यामेराको प्रयोग निकै सहज हुन थालेको छ । फोटोग्राफीको सिद्धान्तको विकास २ हजार ४ सय वर्षअघि ग्रिक दार्शनिक एरिस्टोटलले गरेको मानिन्छ । उनले सूर्यग्रहण हेर्नका लागि एउटा ठूलो अँध्यारो कोठाको भित्तामा सानो प्वाल बनाई त्यसको विपरीत भित्तामा बाहिरको दृश्य देखिने बनाएका थिए ।

त्यसयता यसका बारेमा विश्वका विभिन्न वैज्ञानिकले खोज गरिरहे । सन् १८१६ मा जोसेफ निसेफार निप्सले आफ्नै घरको कोठामा क्यामेरा अब्स्क्युरा र यसबाट बन्ने प्रतिबिम्बका बारेमा अनेकौँ खोज र प्रयोग गरेका थिए । उनले सिल्भर क्लोराइड रसायन लगाएको कागजमा कुनै वस्तुको प्रतिबिम्ब निकाले । तर, त्यो लामो समय रहन अर्को प्रयोग गरे, तर त्यसबाट पनि फोटो स्थायी हुन सकेनन् । उनको निरन्तरको प्रयास र खोजबाट सन् १८२६ मा पहिलोपटक फोटो खिच्न सफल भए ।

उनले निरन्तर ८ घन्टा लगाएर जुन÷जुलाई महिनामा आफ्नो कोठाको झ्यालबाट देखिएको दृश्यलाई उतार्न सके । निप्सले खिचेको त्यो फोटो नै विश्वको पहिलो हो ।

प्रतिक्रिया