यस्तो छ बाबा रामरहिमको अपराध शिलशिला

Dera-Sacha-Sauda-chief-Gurmeet-Ram-Rahim-Singh
एजेन्सी
हरियाणा । पंचकुलास्थित विशेष सिबिआई अदालतले ‘डेरा’ प्रमुख रामरहिमलाई बलात्कारी ठह¥याएपछि उनका समर्थक हिंसामा उत्रिएका छन् । भारतीय सञ्चारमाध्यमहरूका अनुसार पंचकुलामा ५ व्यक्तिको मृत्यु भइसकेको छ । एक साध्वीलाई बलात्कार गरेको अभियोगमा बाबालाई अदालतले दोषी ठह¥याएको हो ।

पंचकुलामा शुक्रबार दिउँसोदेखि बाबाका समर्थक उग्र भएर प्रदर्शनमा ओर्लिएका छन् । सो सहरमा एक सयभन्दा बढी सवारीसाधनमा आगजनी गरिएको छ । अदालतले बाबालाई बलात्कारी ठह¥याउनासाथ उनका समर्थकले पत्रकारमाथि पनि आक्रमण गरेका छन् ।
हरियाणामा हिंस्रक प्रदर्शन हुन लागेपछि सो प्रदेशसँग सीमा जोडिएका उत्तरप्रदेश र दिल्लीका सीमा क्षेत्रमा पनि हाइएलर्ट जारी गरिएको छ । हिंसा फैलिन लागेपछि सेनाको ६ टुकडी तैनाथ गरिएको छ भने सिरसामा ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । रैपिड एक्सन फोर्सका जवान पनि सिरसा पुगिसकेका छन् ।

समाचारअनुसार अदालतको फैसला आउनासाथ उनका समर्थकले ३ समाचार च्यानलको क्यामेरा लगायतका सामान तोडफोड गरेका छन् । फायर ब्रिगेड र प्रहरी भ्यानमा पनि आगजनी गरेका छन् । समर्थकले पन्जाबको दुई रेल्वे स्टेसनमा पनि आगजनी गरेको समाचार छ । यसबाहेक सिमला हाइवेमा दर्जनौं सवारीसाधन तोडफोड गरेको समाचार छ भने यी राज्यका सरकारी कार्यालयमा पनि आगजनी गरेका छन् ।

हरियाणा र पन्जाब राज्यका बठिंडा, मानसा र फिरोजपुरमा कफ्र्यु आदेश जारी गरिएको छ । प्रदर्शनकारीलाई नियन्त्रणमा राख्न प्रहरीले अश्रुग्यासका सेल फालिरहेका छन् भने प्रदर्शनकारीले प्रहरीलाई ढुंगामुढा गर्दै एक किलोमिटर पछाडि हट्न बाध्य पारेका समाचार छ । अदालतको चारै दिशामा उग्र प्रदर्शन भएका छन् ।

यसअघि, सिरसादेखि पंचकुलासम्मको २ सय ५० किलोमिटरको यात्रा मार्गमा कडा सुरक्षा व्यवस्थाका वावजुद कैयौं ठाउँका बाबालाई अदालत लैजाँदै गरेको गाडीको लावालस्कर रोक्ने प्रयास गरिएको थियो । कतिपय स्थानमा उनका समर्थक तथा अनुयायीले सडकमा सुतेर रोक्ने प्रयास गरेको देखिएको थियो भने कतिपय स्थानमा हातहातमा लौरो बोकेर उभिएका थिए । यस्तोमा पूरै प्रदेशमा धारा १ सय ४४ लागू गरिएको भान भएको थियो । अदालतबाहिर पनि उनका समर्थक ठूलो संख्यामा जम्मा भएका थिए ।

गुरमित रामरहिम आफ्ना मातापिताका एक्लो सन्तान हुन । १५ अगस्ट १९६७ मा राजस्थानको श्रीगंगानगरमा जन्मिएका रामरहिमलाई ७ वर्षकै उमेरमा उनकी आमाले ‘डेरा’को जिम्मा लगाएकी थिइन् । २३ सेप्टेम्बर १९९० मा तत्कालीन डेरा प्रमुख साह सतनाम सिंहले पूरै भारतभरीका आफ्ना अनुयायीको भेला बोलाएर रामरहिमलाई आफ्नो उत्तराधिकारी घोषित गरेका थिए ।

डेरा प्रमुख रामरहिमका २ छोरी र १ छोरा छन् । उनले अन्य एक धर्म छोरी पनि पालेका छन् । ‘डेरा सच्चा सौदा’ को साम्राज्य देश विदेशमा फैलिएको छ । अमेरिका, क्यानाडा, बेलायत, अस्ट्रेलिया र युएईसम्म डेराका शाखा आश्रम छन् । डेराको दाबीअनुसार संसारभरी उनका ५ करोड अनुयायी छन् । २५ लाख अनुयायी त हरियाणामा मात्र छन् ।

१९४८ मा स्थापित यो डेराका रामरहिम तेस्रो गद्दिनाशिन अधिकारी हुन् । यो डेराको अर्बांैको सम्पत्ति भारतभरी छरिएको छ । यो आश्रममा एकपटकमा एकलाख अनुयायी बसेर सत्सङ्ग गर्न सक्छन् । यो आश्रमभित्र औषधिलगायत अन्य उत्पादनका उद्योगहरू पनि रहेका छन् ।

रामरहिम ‘डेरा’ प्रमुख भएपछि उनले आफ्नो शक्ति दिनमा दुई गुणा रात चौगुणा गरेर बढाउदै लगे । उनको भारतीय राजनीतिदेखि सुरक्षा निकायमा पनि बलियो पकड छ ।

यस्तो छ उनको अपराध सिलसिला
सन् २००२ मा डेराकै अनुयायी ‘एक साध्वी’को नाममा प्रधानमन्त्री कार्यालय नयाँ दिल्लीमा एउटा पत्र प्राप्त भयो, जसमा डेरा प्रमुख रामरहिमले आफूलाई पटकपटक बलात्कार गरेको बयान लेखिएको थियो । सोही समय उस्तै पत्र पन्जाव र हरियाणा राज्यका उच्च अदालतका मुख्य न्यायाधीशलाई पनि प्राप्त भएको थियो ।

त्यसको २ महिनापछि १० जुलाई २००२ मा डेरामा प्रबन्ध समितिका सदस्य रणजित सिंहको हत्या भयो । आरोप थियो कि रणजितले नै त्यो पत्र आफ्नी बहिनीबाट लेखाएका हुन् । जसले केही महिनाअघि डेरा त्यागेकी थिइन् । आफ्नो खेतमा कामदारलाई खाजा लिएर जाँदै गर्दा अज्ञात समूहले रणजितमाथि अन्धाधुन्द गोली हानेर फरार भएका थिए ।

रणजितका पिताले यो घटनामा प्रहरीले अनुसन्धान गर्न नसक्ने भन्दै सिबिआई अनुसन्धानको माग गरेका थिए । चर्चा थियो कि रणजितले डेराका धेरै काला कर्तुतहरूको भण्डाफोर गर्ने धम्की दिएका थिए ।

२४ अक्टोबर २००२ मा हरियाणाकै एक सन्ध्याकालीन दैनिक ‘पूरा सच’का सम्पादक रामचन्द्र छत्रपतिमाथि सांघातिक आक्रमण भयो । छत्रपतिलाई घरबाहिर बोलाएर ५ गोली हानिएको थियो । आरोप लाग्यो सो गोली हान्ने डेराका मानिस थिए । सो पत्रिकाले नै साध्वीको यौन शोषण र रणजित हत्याको पहिलो खबर छापेको थियो । गोली लागेर घाइते भएका सम्पादक छत्रपतिको उपचारकै क्रममा २१ नोभेम्बर २००२ मा मृत्यु भयो ।

सम्पादकको हत्याको पनि सिबिआई अनुसन्धानको माग भयो । सम्पादकका परिवारले मुख्यमन्त्रीसँग सिबिआई अनुसन्धानको माग गरे पनि सुनुवाइ भएको थिएन । सम्पादक छत्रपतिका छोरा अंशुल छत्रपतिले उच्च अदालतका एक रिट दायर गर्दै सो माग गरेपछि अदालतले दुवै हत्या प्रकरण र बलात्कारको घटनालाई एकैठाउँ राखेर सिबिआईलाई अनुसन्धानको आदेश दियो ।

सिबिआई अनुसन्धान हुने भएपछि बहुलाएका डेरा प्रमुखले सिबिआई अनुसन्धान रोक्न सर्वोच्च अदालतमा रिट हाले । सर्वोच्चले सिबिआई अनुसन्धान नगर्न स्टे अर्डर जारी ग¥यो, मामला यहीँ सकिएन । पछि सर्वोच्चले एक अर्को मुद्दाको सुनुवाइका क्रममा यसलाई उल्टाएर अनुसन्धान सुरु गर्न सिबिआईलाई आदेश दियो । अनुसन्धानका क्रममा यस घटनामा मुछिएका अन्य आरोपी थुनामा थिए भने बाबा रामरहिमलाई भने अदालतले नै सामान्य तारेखमा छोडेको थियो ।

जब सन् २००७ मा सिबिआइले अनुसन्धान पूरा गरी बाबारहिमलाई मुख्य कसुरदार ठहर गर्दै अदालतमा आरोप पत्र दायर ग¥यो तब सो मुद्दा हेर्दै गरेका सर्वोच्चका न्यायाधीशलाई पनि डेराका अनुयायीले धम्कीपूर्ण पत्र लेख्न थाले । सर्वाेच्चका न्यायाधीशले सरकारसँग थप सुरक्षा माग्नुपरेको थियो । यति हुँदाहुँदै पनि जब मुद्दा चल्न थाल्यो तब डेरा सम्बन्धितहरूले शक्ति प्रदर्शनको धम्की बोल्न थालेका थिए ।

प्रतिक्रिया