तीन सय आठ कुमार पूजा

धुलिखेल, ९ भदौ । काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिका–७ मा शुक्रबार तीन सय आठ कुमारको पूजा गरिएको छ ।

पनौती युवा मञ्च र पनौती बोलबम परिवार संघले संयुक्त रुपमा आयोजना गरेको कार्यक्रममा काभ्रे, ललितपुर, भक्तपुर र काठमाडौंँका कुमारका साथै पूजा गर्ने महिलाको भिड लागेको थियो ।

हरेक वर्ष भाद्रशुक्ल चतुर्थीको दिन गणेशको पूजा गर्ने दिनको अवसर पारेर कुमारको पूजा गरिने गरेको आयोजक समितिले जनाएको छ ।

“हरेक वर्ष कुमारको पूजा गरिँदै आएको भए पनि सामूहिक रुपमा कुमार पूजा गरेको यो नै पहिलो पटक हो”, युवा मञ्चका अध्यक्ष सौगात बस्नेतले भने ।

लोप हुन लागेको संस्कार र संस्कृतिको जगेर्ना गर्न सामूहिक रुपमा कुमार पूजाको आयोजना गरिएको उनको भनाइ छ । स्थानीयवासी रामदेवी श्रेष्ठले कुमार पूजा गर्दा रोग नलाग्ने र शरीर स्वस्थ हुने जनविश्वास रहेको बताए ।

प्रतिक्रिया