ट्रम्पद्वारा प्रमुख रणनीतिकार बर्खास्त

वासिंगटन ४ भदौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना प्रमुख रणनीतिकार स्टिभ ब्याननलाई बर्खास्त गरेका छन् । राष्ट्रपति ट्रम्पका कतीपय गम्भीर प्रकृतिका सूचना चुहावटका लागि उनी जिम्मेवार रहेको भन्दै बर्खास्त गरिएको अनुमान गरिएको छ । बर्खास्तीपछि ब्याननले आफू संस्थापक रहेको दक्षिणपन्थी वेवसाइट ब्राइटबाटै न्युजमा पुनः फर्कने बताउँदै राष्ट्रपति ट्रम्पका राजनीतिक, व्यापारिक र सञ्चार क्षेत्रमा रहेका विरोधीहरूविरुद्ध लडिरहने प्रतिक्रिया दिएका छन् ।
ब्याननलाई ट्रम्पको राष्ट्रवादी एजेन्डाका मुख्य सुत्रधार मान्ने गरिन्छ तर, उनले रिपब्लिकन पार्टी र ह्वाइट हाउसभित्र कैयौँलाई चिढ्याएको बताइन्छ । ट्रम्पले वरिष्ठ पदमा नियुक्त गरेका राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टर, नयाँ चिफ अफ स्टाफ जेम्स केली र ट्रम्पका ज्वाइ ज्यारेड कुश्नरसँग ब्याननको कुरा मिल्ने गरेको थिएन । हालै उनले अनुमति नलिई केही अन्तरवार्ताहरू पनि दिएका थिए जसमा उनले उत्तर कोरियालाई एउटा ‘प्रदर्शनी’ को संज्ञा दिएका थिए । यसअघि ह्वाइट हाउसका प्रवक्ता सन स्पाइसर, सञ्चार निर्देशक एन्टोनी स्कारामुची र चिफ अफ स्टाफ राइन्स प्रिबस ह्वाइट हाउसबाट बाहिरिएका थिए ।

प्रतिक्रिया