संयुक्त राष्ट्रसंघ ४ भदौ । संयुक्त राष्टसंघका महासचिव एन्टोनियो गुटेर्रेसले युद्धका बेला पनि सर्वसाधारण नागरिक र सहायताकर्मीको रक्षाका लागि सबैको ध्यानाकर्षण गराएका छन् ।उनले युद्धका बेला पनि त्यसमा प्रत्यक्ष रूपमा संलग्न नभएका नागरिकको ज्यान जाने गरेको अवस्था सबैका लागि लाजमर्दाे हो भनेका छन् । अन्तर्राष्ट्रिय मानवता दिवसको अवसरमा शनिबार दिएको सन्देशमा उनले सो आग्रह गरेका हुन् ।
युद्धसँग प्रत्यक्ष रूपमा संलग्न नभएका र युद्धपछि पनि त्यसका प्रभावितहरूलाई सहायता बाँड्न जाने गरेका सहायताकर्मीको ज्यान जाने गरेको छ । यस्ता क्रियाकलापलाई तत्कालै रोक्न र नागरिकको संरक्षण गर्न उनले विश्व समुदायलाई आग्रह गरेका छन् ।युद्धको चपेटामा परेका दसौँ लाख नागरिक अहिले पनि गास, बास, पानी, औषधि, शिक्षा तथा अरू पनि कैयौँ आधारभूत आवश्यकताबाट बन्चित हुनु परिरहेको अवस्थामा उनीहरूलाई सहयाताका लागि गएका सहायताकर्मीमाथि नै हमला हुनु अमानवीय कार्यबाहेक अरू केही होइन, उनले भनेका छन् ।
द्वन्द्वका बेलामा नागरिकको संरक्षण र रक्षा गर्नु भनेको पनि अन्तर्राष्ट्रिय मानवतासम्बन्धी कानुनको एक आधारभूत सिद्धान्त हो भन्ने कुरा सबैले बुझ्नुपर्नेमा उनको भनाइ थियो ।उनले द्वन्द्वमा लागेका र नागरिकका विरुद्धमा हिंसा मच्चाउने सबैजनालाई यो आधारभूत अन्तर्राष्ट्रिय कानुनको बारेमा ख्याल गर्न पनि आग्रह गरेको उक्त सन्देशमा जनाइएको छ ।द्वन्द्वको चपेटमा परेर खान बस्न र सामान्य औषधि उपचार पनि नपाएका नागरिकलाई सहयोग गर्न उनले विश्वका दाता राष्ट्रलाई पनि आग्रह गरेका छन् ।
प्रतिक्रिया