सुडानका शरणार्थीको समस्याप्रति ध्यानाकर्षण

संयुक्त राष्ट्रसंघ । सुडानमा रहेका ठूलो संख्याका शरणार्थीको समस्या समाधान गर्न संयुक्त राष्ट्रसंघले सबैसँग आग्रह गरेको छ ।  सुडानमा प्रायः सबैजसो दक्षिण सुडानी शरणार्थी रहेका छन् । दक्षिण सुडान र अन्यत्रका गरी त्यहाँ कम्तीमा पनि ६ लाख शरणार्थी रहेको तथ्यांक यसअघि नै सार्वजनिक भएको थियो । ती शरणार्थीको समस्याबारे अध्ययन गर्न संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी आयोगका प्रमुखले हालै मात्र सुडानको भ्रमण गरेका थिए । सुडानको भ्रमणका क्रममा आफूले यहाँका शरणार्थीको अवस्था नाजुक रहेको देखेको बताए ।  उनले दाताहरूलाई उनीहरूको सहयोगका लागि ध्यानाकर्षण गराएका छन् । उनले यस सहयोगमा लाग्न सबैसँग आग्रह गरेका छन् ।
त्यस भ्रमणका क्रममा उनले सुडानका विदेशमन्त्री, गृहमन्त्री, प्रधानमन्त्री र अन्य अधिकारीहरूसँग भेटवार्ता र शरणार्थी समस्या समाधानका लागि आवश्यक परामर्श गरेका थिए । हाल सुडानमा दक्षिण सुडानका र अन्य देशका गरी कम्तीमा पनि ६ लाख शरणार्थी रहेका छन् । उनीहरू सुडानका विभिन्न ४ वटा राज्यमा छरिएर बसेका छन् । सुडानले ती शरणार्थीका लागि गाँसवासको समस्या भएको यसअघिदेखि नै बताउँदै आएको छ ।  दक्षिण सुडानमा बढ्दो हिंसा र आतंकका कारण सुडानमा शरणार्थी समस्या बल्झिएको छ । दक्षिण सुडानबाट सीमापार भएर शरणार्थीहरू सुडान छिर्ने गरेका बताइएको छ । गएका केही वर्षदेखि दक्षिण सुडानमा हिंसा भड्किएको छ । जसका कारण ठूलो संख्याका शरणार्थी यहाँ आउने गरेका छन् । उनीहरू आधारभूत आवश्यकताबाट पनि वञ्चित हुनु परिरहेको अधिकारीहरूको भनाइ छ ।

प्रतिक्रिया