काराकस । दक्षिणी भेनेजुएलाली राज्य अमेजोनमा रहेको एक जेलमा कैदीहरूबीच भएको हिंसामा ३७ कैदीको मृत्यु भएको समाचार छ । भेनेजुएलाको महान्यायधिवक्ता कार्यालयले सोमबार विज्ञप्ति प्रकाशन गरी सो जानकारी गराएको हो । उक्त जेलमा रहेका कैदी र प्रहरीबीच भएको यस झडपमा १४ जना प्रहरी अधिकारी घाइते भएका जानकारी दिइएको छ । अमेजोन राज्यका गभर्नर लिबोरियो गुआरुल्लाले पुइर्टो आयाचुचो सहरमा भएको यस घटनाको पुष्टि गरेकोे समाचारमा जनाइएको छ ।
यस घटना कसरी हुन पुग्यो भन्ने बारेमा अनुसन्धान सुरु भएको जनाइएको छ । भेनेजुएलामा हालका वर्षहरूमा जेलमा हुने गरेका यस्ता घटनाहरूबाट कैयौँको ज्यान गएको छ । गत अप्रिलमा यहाँको पूर्वीराज्य जोसे अन्टोनियो एनजोएटगुई राज्यमा रहेको एक जेलमा भएको हिंसामा परी कम्तीमा १२ व्यक्तिको मृत्यु हुनुको साथै अन्य ११ जना घाइते भएका थिए । त्यसैगरी, सन् २०१३ को जनवरीमा उत्तरी भेनेजुएलाको उरीबाना जेलमा कैदी र सुरक्षा गार्डबीच भएको भडपका ६१ व्यक्ति मारिएका थिए ।
प्रतिक्रिया