सोल २ भदाै। दक्षिण कोरियाले उत्तर कोरियासँग वार्ता प्रस्ताव गरेको खबर छ । प्रायः दुर्लभ मानिने उत्तर दक्षिण वार्ताको प्रस्तावलाई नयाँ प्रयासका रूपमा लिइएको सोलबाट प्राप्त पछिल्लो समाचारमा जनाइएको छ । दक्षिण कोरियाली राष्ट्रपति मुन जाय इनले उत्तर कोरियासँग वार्ताको प्रस्ताव गरेको हो । उनले यस विषयमा आफू तयार रहेको भन्दै कोरियाली प्रायद्वीपमा बढ्दो तनाव कम गर्नका लागि पनि अब वार्ता नै एक विकल्प रहेको बताएका छन् । यसअघि, गत महिना मात्र रेडक्रसको अन्तर्राष्ट्रिय समितिले दक्षिण कोरियाका राष्ट्रपति मुन जाय इनसँग उत्तर र दक्षिण कोरियाका परिवारसँगको पुनर्मिलनका लागि छलफल गर्न समय माग गरेको थियो ।
त्यससमय पनि उनले सो वार्ताका लागि प्रक्रिया अघि बढाउन आग्रह गरेका थिए । तर, सो प्रस्ताव हाल भने अघि बढ्न सकेको छैन । त्यसको महिना दिनपछि बिहीबार दक्षिण कोरियाली राष्ट्रपतिले उत्तर कोरियासँग यो शान्ति वार्ताको प्रस्ताव गरेका हुन् । बिहीबार राजधानी सोलमा राष्ट्रिय टेलिभिजनमा गरेको सम्बोधनमा उनले उत्तरसँग वार्ता गरेर कोरियाली प्रायद्वीपमा देखिएको समस्या हल गर्न सकिने प्रस्ताव गरेकोे बुझिएको छ ।सन् १९५०–१९५३ मा भएको कोरियाली युद्धको समयमा अलग भएका परिवारलाई समयसमयमा पुनर्मिलन गराउने कार्यक्रमअनुसार रेडक्रसले वार्ता गर्ने प्रस्ताव गरेको थियो ।
त्यस्तै गतमहिना मात्र दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँग रक्षा र सैनिक सम्बन्धमा वार्ताका लागि प्रस्ताव गरेको थियो । दक्षिण कोरियाको रक्षा मन्त्रालयले उत्तरसँगको सीमाक्षेत्रमा रहेको पानुमजोम नामक एक गाउँमा वार्ता गर्न प्रस्ताव राखेको थियो । त्यसस्थानमा यसअघि पनि यी २ देशबीच वार्ता हुने गरेको थियो । त्यस विषयमा पनि उत्तर कोरियाले कुनै जवाफ पठाएको छैन । उसले दक्षिण कोरियासँग वार्ता गर्ने वा नगर्ने कुनै पनि विषयमा केही जवाफ दिएको छैन । पछिल्लो समयमा कोरियाली प्रायद्वीपमा जारी रहेको तनाव कम गर्ने उद्देश्यले सो वार्ताको प्रस्ताव गरिएको दक्षिण कोरियाली राष्ट्रपतिले बिहीबार गरेको प्रस्तावका बारेमा पनि उत्तरको जवाफ आउला वा के गर्ला भन्ने बारेमा यसै भन्न सकिने अवस्था नरहेको बताइएको छ । सन् २०१५ को अक्टोबरपछि दुवै देशका तर्फबाट कुनै वार्ता भएको छैन ।
त्यसैगरी, त्यसयता दुवै देशका तर्फबाट गर्ने गरिएको पारिवारिक पुनर्मिलन पनि हुन सकिरहेको छैन । पारिवारिक पुनर्मिललनका लागि दक्षिण कोरियाली सरकारलाई नागरिकले दबाब दिइरहेका छन् । कोरिया युद्धपछि उत्तर र दक्षिण कोरियाका रूपमा देश टुक्रिएका थिए । त्यसलगत्तै जो जता परे त्यतै बस्नुपर्ने नियम बनेका कारण यी दुवै देशका ६० हजारभन्दा बढीको संख्याका नागरिक अलग भएका थिए । उत्तर कोरियाले पछिल्लो केही समययता दक्षिण कोरिया, अमेरिका तथा विश्व समुदायको आग्रहका विरुद्ध आणविक परीक्षणलाई जारी राखेको छ । साथै दक्षिण कोरियाको विरोधका अभिव्यक्तिहरू उत्तर कोरियाले आक्रामक रूपमा दिने गरेको छ ।
राष्ट्रपति इनले आफ्नो कार्यकालको सय दिनको अवसर पारेर सोलमा आयोजना गरेको पत्रकार सम्मेनलका क्रममा भने, ‘कोरियाली प्रायद्वीपको तनाव कम गर्न शान्ति वार्ता नै एक विकल्प हो र वार्ता अरू कुनै पनि सर्तका आधारमा नभई शान्तिको सर्तमा मात्र हुनेछ ।’ उनले विगतका वर्षहरूका तुलनामा राम्रो र परिणाममुखी वार्ताका रूपमा अघि बढ्न आफू तयार रहेको धारणा पनि राखे । उनले अहिलेको उत्तेजक व्यवहार तत्कालै स्थगित गरेर वार्ताको माध्यमबाट जस्तोसुकै समस्याको समाधान पनि गर्न सकिन्छ भन्ने हिसाबले लाग्नुपर्नेमा जोड दिए । उनले वार्ताका लागि वातावरण बनाउने काममा उत्तर कोरिया लाग्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘अहिलेका लागि सबै छोडेर वार्ता नै उत्तम विकल्प हो, सबै कुरा छोडेर वार्तामा लाग्न म उत्तर कोरियालाई आग्रह गर्दछु ।’ उनले गत महिना कोरियाली प्रायद्वीपमा क्षेत्रीय शान्ति र स्थायित्वका लागि अमेरिकाको भ्रमण गरेका थिए । अमेरिकी राष्ट्रपति ट्रम्पसँग आपसी परामर्श एवं वार्ता उनले गरेका थिए ।
प्रतिक्रिया