२ अर्ब ५० करोड बजेट फिर्ता

नुवाकोट ५ साउन । आर्थिक वर्ष ०७३÷७४ मा आएको २ अर्ब ४९ करोड ९३ लाख बजेट खर्च नभई फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालयका प्रमुख दामोदर थापाका अनुसार जिल्लास्थित सरकारी कार्यालय सञ्चालन गर्न प्राप्त चालुगत र विकास निर्माणका लागि विनियोजन गरिएको पुँजीगत खर्च १३ अर्ब ३ करोड ४ लाखमध्ये १० अर्ब ५३ करोड ११ लाख खर्च भएको छ । जिल्लाका ७६ सरकारी कार्यालयको नीति तथा कार्यक्रम सञ्चालन गर्न ९ अर्ब ४५ करोड ९७ लाख प्राप्त भएकामा ८६ प्रतिशत अर्थात् ८ अर्ब ७ करोड ८८ लाख मात्र खर्च भएको छ ।

चालुगत शीर्षकमा नीति तथा कार्यक्रम सञ्चालनका लागि बजेटको अख्तियारी पाएका सरकारी कार्यालयले गत आवमा १ अर्ब ३८ करोड ९ लाख खर्च गर्न सकेनन् । पुँजीगत शीर्षकमा विकास निर्माणका लागि आएको ३ अर्ब ५७ करोड ७ लाखमध्ये २ अर्ब ४५ करोड २३ लाख खर्च भएको छ । बजेटको एक तिहाई अर्थात् ६७ दशमलव ५७ प्रतिशत बजेट खर्च भएको छ । विकासका लागि प्राप्त १ अर्ब ११ करोड ८४ लाख खर्च नभई फिर्ता भएको छ । प्राप्त बजेट खर्च गर्न नसक्नेमा गल्छी त्रिशूली बेत्रावती सडक विस्तार, डिभिजन सडक कार्यालय, सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय, भूकम्प पुनर्निर्माण जिल्ला आयोजना कार्यान्वयन इकाईलगायत जनतालाई प्रत्यक्ष विकास निर्माणमा सेवा पु¥याउने कार्यालय रहेका छन् ।

विकास निर्माणको क्षेत्रमा गरेको खर्चको ठूलो हिस्सा आवको अन्तिम महिना असारमा खर्च भएको छ । पुँजीगत बजेटमा भएको खर्चमध्ये ९५ करोड २३ लाख (एक तिहाई) असारमा खर्च भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ ।

प्रतिक्रिया