द्वन्द्वपीडितका हकदारलाई ३ करोड

काठमाडौं ४ साउन । तत्कालीन सशस्त्र द्वन्द्वका बेला विभिन्न कारणले पीडित बनेका परिवारलाई ३ करोडभन्दा बढी रकम वितरण गरिएको छ । जिल्लामा स्थायी घर ठेगाना भएका सशस्त्र द्वन्द्वको समयमा मृत्यु भएका व्यक्तिका परिवार, बेपत्ता भएका व्यक्तिका नजिकका हकदार र विस्थापित परिवारका सदस्यलाई जिल्ला प्रशासन कार्यालयमार्फत ३ करोड २ लाख २५ हजार ४ सय ५० रुपैयाँ राहत वितरण गरिएको हो । यसअघि विभिन्न चरणमा ५ लाख रुपैयाँ राहत बुझेका बेपत्ता भएका व्यक्ति र मृतकका हकदारलाई यसपटक ५ लाख थप गरी १० लाख रुपैयाँ पु¥याइएको छ । त्यसैगरी सशस्त्र द्वन्द्वका समयमा मृत्यु भएका सुरक्षाकर्मीका हकदारले यसअघि विभिन्न चरणमा ८ लाख ५० हजार राहत बुझिसकेकामा यसपटक १ लाख ५० हजार थप गरी १० लाख रुपैयाँ पु¥याइएको सहायक प्रजिअ प्रवीण ढकालले जानकारी दिए ।
सशस्त्र द्वन्द्वका बेला यहाँबाट २ जना बेपत्ता भएका थिए । उनीहरूका परिवारलाई १० लाख रुपैयाँ प्रदान गरिसकिएको छ । सुरक्षाकर्मीसहित सर्वसाधारण गरी मृत्यु भएका ८४ जनाको परिवारलाई अन्तिमपटक १ लाख ५० हजारका दरले वितरण गरिएको बताइएको छ । द्वन्द्वका क्रममा विभिन्न कारणले २२ घरपरिवारका ८४ सदस्य विस्थापित थिए । उनीहरूलाई प्रतिपरिवार २५ हजारका दरले वितरण गरिएको बताइएको छ । रासस

प्रतिक्रिया