एजेन्सी
भेनेजुएला । अनौपचारिक जनमत संग्रहको क्रममा राजधानी कराकास बाहिरको एक मतदान केन्द्रमा लामबद्ध मतदातालाई लक्षित गरी मोटरसाइकल चढेर आएका बन्दुकधारीले हमला गर्दा कम्तीमा एक जना मारिएको बताइएको छ।
राष्ट्रपति निकोलास मडुरोलाई चुनौती दिन विपक्षीहरुले अनौपचारिक जनमत संग्रह आयोजना गरेका हुन्। टेलिभिजनमा देखिएका तस्वीरमा डराएको भीड र मानिसहरु भाग्न खोजिरहेका दृश्य कैद गरिएका छन्। बन्दुक चलेको अवाज पनि सुनिन्छ।
उक्त घटना कराकासको पश्चिममा अवस्थित एउटा विपन्न मानिस बस्ने क्षेत्रमा भएको थियो। गोली लागेर ६१ वर्षिया एक महिलाको ज्यान गएको बताइएको छ। उनी मतदान गर्न लामबद्ध थिइन्। तीन जना घाइते भएका छन्।
विपक्षीहरुले राष्ट्रपति मडुरोसँग सम्बन्धित सशस्त्र समूह उक्त आक्रमणका लागि जिम्मेवार भएको आरोप लगाएका छन्। अभियोजनकर्ताहरुले घटनाबारे छानबिन गर्ने प्रतिबद्धता जनाएका छन्।
भेनेजुएला र विदेशमा रहेका मतदान केन्द्रहरुमा आइतबार केही आशावादी एवं सकारात्मक वातावरण रहेपनि गोली चलेको घटनाले भेनेजुएलाको राजनीति अहिले कति तातिरहेको छ भन्ने स्मरण गराएको छ।
पछिल्लो तीन महिनायता भेनेजुएलामा दैनिक प्रदर्शनहरु भइरहेका छन्। तीनले बारम्बार हिंसात्मक रुप लिएका छन्। आइतबारको मतदान साङ्केतिक रहेको थियो र त्यसले जुलाई ३० तारिखका लागि तय गरिएको संविधानसभाको चुनावअघि सरकारमाथि दबाब श्रृजना गर्ने लक्ष्य राखेको थियो।
चुनावबाट निर्वाचित हुने संविधानसभाले हाल अलोकतान्त्रिक भनेर आलोचना गर्ने गरिएको भेनेजुएलाको संविधानलाई पुनर्लेखन गर्न सक्नेछ।
प्रतिक्रिया