इस्तानबुल २ साउन । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले मृत्युदण्डको कानुनको पक्षमा आफू रहेको रहस्य खोलेको विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । टर्किसमा गतवर्ष सत्ताच्युत गर्न गरिएको असफल राज्य विद्रोह अर्थात् ‘कू’ को एक वर्ष पुगेको अवसरमा शनिबार इस्तानबुलमा आयोजित एक ¥यालीमा उनले सो रहस्योद्घाटन गरेका हुन् । सो ¥यालीमा उनले भने, ‘यदि त्यो कानुन संसद्ले बनाएर म कहाँ आयो भने मैले रोक्दिनँ, हस्ताक्षर गर्नेछु । म वास्तवमा भन्ने हो भने राज्यद्रोहीलाई मृत्युदण्ड दिनुपर्छ भन्ने पक्षमा छु ।’ उनले त्यसो भनिरहँदा त्यहाँ उपस्थित भएका सर्वसाधारणले पनि देशमा कडा कानुनको खाँचो रहेको बताइरहेका थिए । उनीहरूले मृत्युदण्डको कानुनको पक्षमा राष्ट्रपतिको धारणाप्रति स्वागत पनि गरेका थिए । सन् २०१६ को जुलाई १५ मा केही रुष्ट सैनिकहरूले सरकारलाई हटाउने प्रयास स्वरूप राष्ट्रपतिको विरुद्धमा भन्दै विद्रोह गरेका थिए ।
सरकारी भवनहरूमा बमवारी गर्नुका साथै गोली हानी सत्ता परिवर्तनको प्रयास उनीहरूले गरेका थिए । उक्त विद्रोहमा परी २ सय ६० जनाभन्दा बढीको ज्यान गएको थियो भने करिब २ हजार २ जना घाइते भएका थिए । तर, ती सैनिकको विद्रोही प्रयास भने असफल हुन पुगेको थियो । टर्किस् सरकारले उक्त दुःखद् आक्रमणमा परी मारिएका नागरिकहरूको सम्झनामा शुक्रबार सार्वजनिक बिदा दिएको थियो । त्यसैगरी शनिबार १५ जुलाईको सोही दिन पारेर विशेष श्रद्धाञ्जली सभाको पनि आयोजना गरेको थियो । विद्रोहमा उत्रिएका सैनिकले सर्वसाधारणको हत्या गरेको इस्तानबुलस्थित एउटा पुलमा आयोजना भएको कार्यक्रममा उनले सो धारणा व्यक्त गरे । साथै सो पुलको नाम १५ जुलाईमा सहिद पुल नामाकरण गरिएको छ । गतवर्ष १५ जुलाईमा भएको विद्रोहमा मारिएका निर्दाेष सर्वसाधारणको स्मरणमा सो नाम राखिएको हो ।
रातारात भएको सैनिक विद्रोहका क्रममा उक्त पुलमा सर्वसाधारण माथि सैनिकले हमला गरेका थिए । शनिबार आयोजना गरिएको सो ¥यालीमा उपस्थित सर्वसाधारणले हामी मृत्युदण्डको कानुन चाहन्छौँ भनेर नाराबाजी गरिरहेका थिए ।टर्किस् राष्ट्रपतिका समर्थकले सत्ता हत्याउने प्रयास विफल हुनुलाई टर्किसको पुनर्जन्मका रूपमा व्याख्या गर्ने गरेका छन् । उनीहरूले राष्ट्रपतिले राज्यद्रोहीलाई गरेको कारबाही सही हो भनेका छन् । उता उनका विरोधिले भने राष्ट्रपतिले विद्रोहीलाई कारबाही गर्ने निहुँमा देशमा अन्याय गरेको भन्ने गरेका छन् । उनीहरूले ५० हजार जनालाई गिरफ्तार र डेढ लाखलाई बर्खास्त गरिएको विषय उठाउँदै सरकारले प्रतिपक्षलाई सिध्याउने खेल मात्र खेलेको दाबी गर्दै आएका छन् ।उता युरोपियन युनियनले टर्किस् सरकारलाई ‘कू’ को प्रयासमा संलग्नहरूका नाममा गरिएका भनिएका यी क्रियाकलाप तत्कालै बन्द गर्न चेतावानी दिँदै आएको छ ।
टर्कीको सरकारले भने अमेरिकामा निर्वासनमा रहेका इस्लाम धर्मगुरु फेतुल्लाह गुलेनको योजनामा उक्त ‘कू’ को प्रयास भएको बताएको छ । उसले ती धर्मगुरुको योजनामा उनका समर्थक सत्तापलटमा संलग्न भएको आरोप लगाउँदै आएको छ । आफ्नो संलग्नताको आरोपको गुलेनले भने खण्डन गर्दै आएका छन् । उनले उक्त आरोप अस्वीकार गर्दै आएका छन् । सरकारले गुलेनलाई सुपुर्दगी पनि माग गरेको छ । तर, वासिंगटनले अस्वीकार गर्दै आएको छ ।
प्रतिक्रिया