बेइजिङ २ साउन । चीनको पूर्वीप्रान्त जियाङ्सुको म्यानजिङमा आइतबार बिहानै एक आवासीय भवनमा भएको आगलागीमा परी कम्तिमा पनि २२ जनाको ज्यान गएको समाचार छ । उक्त प्रान्तका स्थानीय अधिकारीले आइतबार बिहानै अकस्मात सो घरमा आगो लागेको र दमकल एवं अग्नि नियन्त्रणमा काम गर्ने उद्वारकर्ताहरूले गरेको प्रयासका बाबजुत पनि त्यतिधेरै नागरिकको ज्यान गएको बताएका छन् । उनीहरूले आइतबार बिहान सबेरै करिब साढे ४ बजेतिर २ तले एक आवासीय घरमा आगलागी सुरु भएको बताएका छन् । यासुङ बजारमा रहेको सो घरमा भएको आगलागीको उद्धारका लागि छोटै समयमा नै उद्धारकर्ताहरू पुगे पनि कतिपयको आगोमा निसास्सिएर ज्यान गएको बताइएको छ ।
आगलागीका समयमा कतिजना व्यक्ति बसिरहेका थिए भन्ने बारेमा केही खुलेको छैन । यस विषयमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ । प्रहरीले सो आगलागीमा परेका २ जना गम्भीर रूपमा घाइते भएका जनाएको छ । अहिले आगो नियन्त्रणमा आइसकेको छ । प्रहरीले आगलागीको कारण निकै रहस्यमय हुनसक्ने भन्दै अनुसन्धान थालेको अधिकारीले जनाएका छन् । अधिकारीहरूका अनुसार २ तलाको मात्र सो घरमा भएको आगलागीको छोटो समयमै कसरी त्यति धेरै नागरिकको ज्यान गएको हो भन्ने बारेमा खोजी सुरु गरिएको हो ।
प्रतिक्रिया