चीनद्वारा भारतलाई चेतावनी :दोक्लामबाट सेना फिर्ता गर

1280x720-WFo
बेइजिङ २ साउन । चीनको सरकारी समाचार संस्थाले आफ्नो भूभागमा गैरकानुनी रूपमा भारतीय सेना बसिरहेको भन्दै उनीहरूलाई त्यहाँबाट नहटाइए भारतले लाजमर्दो अवस्थाको सामना गर्नुपर्ने चेतावनी दिएको छ । सिन्ह्वा समाचार संस्थाले प्रकाशन गरेको एउटा टिप्पणीमा चीन, भारत र भुटानको सीमा क्षेत्र नजिकै पर्ने दोक्लमबाट भारतीय फौज फिर्ता नहुनजेलसम्म कुनै किसिमको वार्ता हुननसक्ने उल्लेख गरिएको छ । भारतले उक्त भूभागमाथि भुटानले दाबी गरिरहेको भन्दै चिनियाँ पक्षलाई त्यस क्षेत्रमा नयाँ सडक निर्माण गर्न नदिन आफूले अघिल्लो महिना सैनिकहरू पठाएको बताउने गरेको छ । उक्त सडकका कारण आफ्नो सुरक्षामा गम्भीर चुनौती थपिने नयाँदिल्लीको चिन्ता रहेको छ ।
सिन्ह्वामा प्रकाशित उक्त लेखमा चीनले दोक्लम क्षेत्रबाट आफ्ना फौज फिर्ता लान पटकपटक गरेको आग्रह भारतले अस्वीकार गरिरहेको उल्लेख गरिएको छ । एक महिनादेखि चलिरहेको उक्त विवाद समाधान गर्न भारतले बेवास्ता गरिरहे उसले थप लाजमर्दो अवस्थाको सामाना गर्नुपर्ने चेतावनी उक्त लेखमा दिइएको छ । उक्त लेखमा पहिलोपटक सिक्किमसँग सीमा जोडिएको आफ्नो भुमीमा भारतीय फौज प्रवेश गरेको भन्दै अहिलेको अवस्थालाई पाकिस्तान, भारत र चीन तीनै देशको दाबी रहेको दक्षिणपूर्वी काश्मिरमा सन् २०१३ र सन् २०१४ मा भएका भिडन्त जसरी साधारणरूपमा नलिन भनिएको छ ।  यस विषयमा भारतसँग कुनै वार्ता नगर्ने भन्दै भारतले दोक्लम आएका फौज फिर्ता गर्नुपर्ने अडान चीनले राख्दै आएको छ ।

यसैबीच भारतीय अखवार द इन्डियन एक्सप्रेसका अनुसार भारतको केन्द्र सरकारले दोक्लम विवादबारे त्यहाँका विपक्षी दलहरूसँग छलफल गरेको जनाएको छ ।
विपक्षी नेताहरूले सरकारलाई बेइजिङसँगको तनाव कम गर्न र कूटनीतिक तहबाट समस्या समाधान गर्न सुझाव दिएको बताइएको छ । उक्त बैठकमा गृहमन्त्री राजनाथ सिंह, विदेशमन्त्री सुस्मा स्वराज, अर्थमन्त्री अरुण जेट्लीसहित उच्च भारतीय अधिकारीहरू सहभागी थिए । भारत र चीनबीच ४ हजार किलोमिटरभन्दा लामो जमिन जोडिएको सीमा क्षेत्र छ । सीमा विवादका कारण उनीहरूबीच सन् १९६२ मा युद्धसमेत भएको थियो ।

प्रतिक्रिया