सुनचाँदी व्यवसायी संघमा विवाद

सौर्य समाचार
Gold-Shopकाभ्रे । सुनचाँदी व्यवसायी संघले सुन कार्टेलिङ गरेको भन्दै विवाद बढेको छ । संघले नै बिक्री वितरण गर्दा बढी असुलेको भन्दै व्यवसायीले जिल्ला प्रशासन कार्यालयमा उजुरीसमेत दिएका छन् ।

बिहीबार सुनचाँदी व्यवसायी संघका केन्द्रीय सदस्य एवं काभ्रे शाखाका पूर्वअध्यक्ष रवीन शाक्यले जिल्ला संघले विभिन्न नाममा सुन व्यवसायीहरूसँग रकम असुलेको भन्दै प्रशासन कार्यालयमा उजुरी दर्ता गराएका हुन् । शाक्यले व्यवसायीहरूले कानुन र विधानअनुसार निःशुल्क पाउनुपर्ने सिफारिसमा रकम असुल गर्ने गरेको बताएका छन् ।

सुनचाँदी व्यवसायी संघ काभ्रे शाखाको सुन बिक्री वितरणकोे सबै गतिविधिमा कार्टेलिङ गर्ने काम हुँदै आएको समेत उनकोे आरोप छ । बैंकबाट आउने शून्य दशमलव ५० मार्कअपमा २० प्रतिशत कार्टेलिङ गरी संघले राख्ने गरेको समेत शाक्यले बताएका छन्,। उनले काभ्रेका सबै सुन पसलबाट प्रति १० ग्राममा २० रुपैयाँका दरले संघले लिने गरेको बताएका छन् ।

सुन आयात तथा बिक्री वितरणसम्बन्धी पछिल्लो संशोधन सहितको कार्यविधि २०६८ को परिच्छेद १६ को ‘क’ मा बैंकबाट खरिद गरिसकेपछि व्यवसायीहरूले तोकिएको मार्कअपबाहेक जतिसुकै तहमार्फत बिक्री वितरण भए पनि मूल्य बढ्ने गरी कुनै पनि दस्तुर लिन नपाइने स्पष्ट उल्लेख गरेको शाक्यले जानकारी दिए । तर, जिल्ला संघले नियमविपरीत काभ्रेका सबै सुन पसलबाट सो सेवा लिए बापतको छुट्टै रकम असुल गरिरहेको छ ।

यस्तै, परिच्छेद १४ मा क्रमिक रूपमा उपलब्ध गराउनुपर्ने भनी लेखिएको छ । यसभित्र नेपाल सरकारको सम्बन्धित निकायमा प्रचलित कानुनबमोजिम दर्ता भई स्थायी लेखा नम्बर प्राप्त गरेका व्यवसायीहरूले आफू आबद्ध रहेको संघबाट कोटाको आधारमा क्रमबद्ध रूपले सुन बिक्रीको सिफारिस प्राप्त गर्नुपर्ने छ ।

तर, जिल्ला संघ काभ्रेले भने प्रतिसिफारिस ५ हजार रूपैयाँ लिने गर्दै आएको छ । यस विषयमा सुनचाँदी व्यवसायी संघ काभ्रेका दानकाजी शाक्य भन्छन्, ‘संघको निर्णयमा हामि सबै चल्नुपर्छ । अहिले आपूmहरूले सिफारिस नदिएको भने हो’ उनले भने, ‘यस अघि आफूहरूले दिएको सिफारिस फिर्ता पठाएको हुनाले अहिले नदिएको हो ।’

वर्तमान अध्यक्ष शाक्यले पूर्व–अध्यक्षको व्यक्तिगत निर्णयमा संघलाई नै वषौंदेखि बन्धक बनाउने काम गरेको आरोपसमेत लगाएका छन् । पूर्व–अध्यक्षकै समयमा प्रति सिफारिस ३ हजार रूपैयाँ लिने गरेकोमा हाल बढाएर ५ हजार रूपैयाँ लिने गरेको उनको भनाइ थियो । जिल्ला प्रशासन कार्यालय काभ्रेका सिडिओ शिव सिम्खडाले संघविरुद्ध उजुरी परेको भन्दै यो प्रविधिक विषय भएको कारणले अनुसन्धान गरिरहेको बताएका छन् ।

प्रतिक्रिया