भाजपा प्रवक्तालाई नेपाली उद्योगीले भने ; भारतमा बैंक खाता खोल्न देऊ

aaaविराटनगर । नेपाल र भारतबीच भएको सन् १९५० को सन्धि पुनरावलोकन गर्नुपर्ने विराटनगरका व्यवसायीले बताएका छन् । भारतीय जनता पार्टीका प्रवक्ता शैयद शहनबाज हुसेनको स्वागतमा मोरङ व्यापार संघका अध्यक्ष एवं सांसद् पवनकुमार शारडाले सन्धिको पुनरावलोकन हुनुपर्ने बताए । अध्यक्ष शारडाले सन्धिलाई २१औँ शताब्दी अनुकूल बनाउनुपर्ने र नयाँ विषय पनि थपिनुपर्ने बताए ।

शारडाले यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले एमिनेन्ट पिपल्स ग्रुप (इपिजी) बनाएर छलफल गराएको प्रसंग उल्लेख गरे । ‘दुबै मुलुकबीचको सम्बन्ध अझै बलियो बनाउन झन् अगाडि बढेर विस्तृत सन्धि हुनु आवश्यक देखिन्छ’, पवन शारडाले भने, ‘वर्तमान आर्थिक युगमा बढीभन्दा बढी विषयलाई सम्बोधन गरिनुपर्छ । अनि मात्र दुबै पक्षले झन् नजिक भएको अनुभव गर्नेछन् ।’

भारतमा नगदरहित कारोबार (क्यासलेस ट्रान्जेक्सन) सुरु भइसकेको अवस्थामा नेपालीलाई बैंक खाता खोल्न नदिएको उनले बताए । शारडाले भने, ‘विभिन्न कामले भारत गइरहनु पर्ने नेपालीले त्यहाँको बैंकमा खाता खोल्न नपाउँदा समस्या भोग्नुपरेको छ । नेपालको पासपोर्ट वा नागरिकताको प्रमाणपत्रलाई भारतको आधारकार्डसरह मानेर त्यहाँका बैंकमा खाता खोल्न दिइनुपर्छ ।’

अध्यक्ष शारडाले समुद्रपारका मुलुकबाट कोलकाता वा हल्दिया बन्दरगाह हुँदै जोगबनी–विराटनगर नाकाबाट नेपाल भित्रने सामान रेलमार्गबाट ल्याउन पाउनुपर्ने माग गरे ।

भारतसितको पारवहन सन्धिमा यसको व्यवस्था नभएको उल्लेख गर्दै उनले तत्काल अन्तरिम व्यवस्था गरेर रेलमार्गको प्रयोग सुरु गरिनुपर्ने र सन्धि नवीकरण गरिँदा थप गरिनुपर्ने आग्रह गरे । तेस्रो मुुलुकबाट आएका सामान कोलकाताबाट ट्रक वा ट्रेलरमा ल्याउँदा ढुवानी खर्च २० प्रतिशत बढी लाग्ने र मालसामान टुटफुट हुने जोखिम हुन्छ ।

अध्यक्ष शारडाका अनुसार नेपालबाट भारततर्फ निर्यात भई जाने विभिन्न खाद्य वस्तुको नमुना परीक्षण गर्न भारतका टाढाटाढाका सहरमा लानुपर्ने बाध्यता रहिआएको छ ।

भारतको कोलकातास्थित केन्द्रीय खाद्य प्रयोगशाला वा रक्सौल, चम्पारण पु¥याउँदा पूर्वका निर्यातकर्ताले झन्झट बेहोर्नुपरेको छ । भारतले विराटनगरमा दुबैतर्फ एकीकृत जाँच चौकी (आइसिपी)–को निर्माण गरिरहेको हुँदा अब यस्ता प्रयोगशाला जोगबनीमै निर्माण गरिनुपर्ने शारडाको आग्रह थियो ।

उनले हाल जोगबनी रेल वे स्टेसनबाट कोलकाता र दिल्ली मात्रै रेल गइरहेको उल्लेख गर्दै दक्षिण भारत, पश्चिम भारत र मध्यभारतमा पनि पुग्ने रेलको व्यवस्था गरिदिन अनुरोध गरे । जोगबनीबाट राजस्थानका लागि सिधा रेल हुनुपर्ने बताए ।

भारतीय रेलले ५८ वर्ष माथिका महिलालाई भाडामा ५० प्रतिशत र ६० वर्ष माथिका पुरुषलाई ३३ प्रतिशत छुट दिँदै आएकोमा केही समययता भारतीय नागरिकका लागि मात्र उक्त सुविधा सीमित गरिएको छ । यो सुविधा कटौतीले नेपालका जेष्ठ नागरिकले सुविधाबाट वञ्चित हुनुपरेको बताउँदै उनले तीर्थ, उपचार र आफन्तकहाँ जाने प्रौढ नेपाली यात्री आर्थिक मारमा परेको गुनासो गरे ।

प्रतिक्रिया