भारतमा भीषण वर्षा, ६ को मृत्यु

नयाँदिल्ली । उत्तरी भारतीय राज्य उत्तराखण्डमा आएको भीषण बाढीपहिरोमा परी कम्तीमा ६ व्यक्तिको मृत्यु भएको छ । गत ४८ घन्टाभित्र परेको अविरल वर्षामा परी ती ६ व्यक्तिले ज्यान गुमाएको अधिकारीहरूले बुधबार जानकारी दिएका छन् । मृतकमध्ये तीन शव मुसोरीनजिकै, अर्को एक शव प्रान्तीय राजधानी देहरादुनको रिसपाना नदी छेउमा र अरू दुई जनाको क्रमशः तेहरी र पिथोरागर्ह जिल्लामा भेटिएको सरकारी अधिकारीहरूले जनाएका छन् । वर्षाका कारण देहरादुनदेखि दिल्लीसम्म जोड्ने राष्ट्रिय राजमार्गसमेत अवरुद्ध भएको जिल्ला उद्धार तथा व्यवस्थापन केन्द्रका अधिकारी पियुष राउटेलाले सञ्चारकर्मीहरूलाई जानकारी दिए । अवरुद्ध बाटो खुलाउनका लागि प्रयास भइरहेको समेत बताए ।

‘लगातार भइरहेको वर्षाले विभिन्न ठाउँमा बाढीपहिरो गएको छ, त्यही बाढीपहिरोले सडक भत्काएको हो,’ अर्का एक अधिकारीले भने । राज्य सरकारले बाढीपहिरोका कारण अप्रिय घटना हुनसक्ने आशंकाले केदारनाथ जाने तीर्थयात्रीहरूलाई समेत रोक लगाएको छ । मौसम विभागले अझै केही समय वर्षा भइरहने पूर्वानुमान गरेको छ । साथै प्रमुख नदीहरूलाई खतराको सूचीमा राखिएको छ ।पहाडी राज्य उत्तराखण्ड यसअघि सन् २०१३ मा पनि बाढीपहिरोको चपेटामा परेको थियो । त्यतिबेला झन्डै ६ सय जनाको मृत्यु भएको थियो भने पाँच हजार सात सय जना बेपत्ता भएका थिए । उनीहरूको पनि मृत्यु भएको अनुमान गरिएको छ ।

प्रतिक्रिया