इजरायली पूर्वप्रधानमन्त्री जेलमुक्त

रमला । इजरायलका पूर्व प्रधानमन्त्री एहुद अल्मर्ट आइतबार जेलमुक्त भएको समाचार छ । उनलाई जमानीमा मुक्त गरिएको समाचारमा जनाइएको छ । उनी भ्रष्टाचारको मुद्धमा जेलमा रहेका थिए । जमानीमा मुक्त भएका उनको बाँकी जेल बस्नुपर्ने समयको एक तिहाइजति अवधिमा कटौती गरिएको बताइएको छ । उनी इजरायलका पूर्व प्रधानमन्त्रीको हैसियतमा जेलमा बस्ने पहिलो नेता हुन् । उनलाई मध्य इजरायलको मासियाहु जेलबाट मुक्त गरिँदा त्यहाँ ठूलो संख्यामा सम्वाददाता उपस्थित भएका थिए । तर, उनले सम्वाददाताहरूलाई प्रतिक्रिया दिन मानेनन् ।

उनी जेलबाट बाहिर निस्किदाको तस्बिर लिन कैयौँ सम्वाददाताहरू बिहानै त्यहाँ पुगेका समाचार समितिहरूले जनाएका थिए ।  कालो टिसर्ट लगाएर बाहिरिएका उनले सम्वाददाताहरूले प्रतिक्रियाका लागि गरेको संकेतको वास्ता गरेनन् र सरासर अघि बढे– समाचारमा उल्लेख छ । ७१ बर्षीय अल्मर्ट सन् २००६ देखि २००९ सम्म इजरायलको प्रधानमन्त्री भएका थिए । उनीमाथिको भ्रष्टाचारको आरोप प्रमाणित भएपछि थुनामा राखिएको हो । उनलाई सन् २०१६ को फेब्रुअरीमा जेल चलान गरिएको थियो । उनलाई अदालतले २७ महिनाको जेल जीवनको सजाय सुनाएको थियो ।

तर जेल बस्नुपर्ने बाँकी अवधिका लागि उनले अब घरमै बस्नेगरी जमानी प्राप्त गरेका छन् । यसबाट उनको बाँकी जेल बस्नुपर्ने अवधिमा एक तिहाई कमी आएको समाचारमा उल्लेख छ । जेल जिवनमा कटौती गरी थुनुवाहरूलाई केही समय मिनाहा दिने बोर्डले उनीमाथिको अपराध त्यति गम्भीर प्रकृतिको नरहेको र घरैमा बसेर पनि पुनस्र्थापना केन्द्र सरह ब्यवहार र आचरणमा परिवर्तन ल्याउन आचरण सुधारका क्रियाकलाप गराउन सकिने भएकोले उनलाई जमानीमा मुक्त गरिएको बताएको छ ।

प्रतिक्रिया