सुस्तायो मेलम्चीको काम

काठमाडौं १९ असार । सरकारका मुख्यसचिव डा.सोमलाल सुवेदी र खानेपानी तथा सरसफाइ मन्त्रालयका सचिव डा.भीम उपाध्याय शनिबार मेलम्ची खानेपानी आयोजनाको स्थलगत अनुगमनमा पुगे । मेलम्ची खानेपानीको आयोजनाको टनेल प्रगति हेर्न तथा निर्देशन दिन मेलम्ची स्थलगत अनुगमनमा पुगिएको खानेपानी मन्त्रालयका सचिव उपाध्यायले बताए । सरकारका मुख्यसचिव सोमलाल सुवेदीले वर्षा याममा पनि काम नरोक्न निर्देशन दिएका थिए । उनले दसैँ अगावै मेलम्चीको पानी राजधानीवासीलाई खुवाउने गरी काम गर्न निर्देशनसमेत दिएका थिए ।
भेटका क्रममा टनेल खनेर माटो बाहिर ल्याउने गाडीहरू पुराना भएर समस्या देखिन थालेको ठेकेदार कम्पनीहरूले बताएका थिए । भाडामा लिएका ती गाडीहरूसँगको सम्झौता गर्न सकिन लागेकोले फेरि सम्झौता गर्नुपर्ने बेला भएको छ । यी सबै कामका लागि बजेट निकासाको व्यवस्था मिलाइदिन कम्पनीले आग्रह गरेको सचिव उपाध्यायले जानकारी दिए ।आयोजनाकै जटिल एवं कमजोर खालको भूवनोट भएको ठाउँमा काम भइरहेकाले कामदारहरूले धेरै कठिनाइकासाथ काम गरिरहेको जानकारी दिए । कार्यस्थल निकै जटिल भएकोले कामको प्रगति घटेको ठेकेदार कम्पनीले जानकारी दिएको पनि सचिव उपाध्यायले बताए । दसैँअघि नै मेलम्चीको पानी खुवाउने योजना सरकारको रहेको छ ।
टनेल खन्ने काम अझै २७३४ दशमलव ८ मिटर बाँकी छ । आयोजनाका अनुसार कमजोर खालको भूवनोट भएको ठाउँ आएकाले दैनिक १० देखि २० मिटर मात्र खन्न सकिएको छ । त्यस्तै बर्खा लागिसकेकाले काममा पनि विविध कारणले समस्या आइरहेको छ । काम सक्न ३ महिना मात्र बाँकी रहँदा दैनिक यहि दरमा खन्ने हो भने टनेलको काम नसकिने देखिन्छ । सुरुङमार्ग हुँदै मेलम्ची खोलादेखि ल्याइने खानेपानी राजधानीवासीको घरघरमा पु¥याउन बिछ्याएको पाइपलाइनको काम ८५ प्रतिशत मात्र सकिएको छ । राजधानीवासीले धुलो खान थालेको लामो समय भए पनि पूर्वनिर्धारित समयमा पानी आउला कि नआउला भन्नेमा शंका उब्जिन थालेको छ ।

प्रतिक्रिया