गर्भको स्वामित्व आफैंले पाउनुपर्ने

-चमिना भट्टराई
समाजका केही बौद्धिक र सचेत वर्गले नै अनेक आरोप–प्रत्यारोप गर्दागर्दै पनि २०५९ असोजमा गर्भपतनले कानुनी मान्यता पायो । सरकारले उक्त निर्णय गराइरहँदा कोण कोणबाट अनेक लाञ्छना लगाउने र खिसिटउरी गर्ने काम भएको थियो । महिलाले आफ्नो गर्भबाट सन्तान जन्माउने कि नजन्माउने उसको प्रजनन अधिकार हो । तर, हाम्रो समाज महिलाको कोख उसको अधिकारमा सीमित रहनु हुँदैन भन्ने मान्यताबाट अहिले पनि माथि उठ्न सकेको छैन । सामाजिक अभियन्ता र महिला अधिकारकर्मीहरूको जोडबलमा यसले कानुनी मान्यता पायो । त्यो भन्दाअघिसम्म गर्भपतन गराउनुलाई अपराधको रूपमा हेरिने गरिन्थ्यो । पछिल्ला समय यसलाई अधिकारको रूपमा दुरुपयोग गर्नेहरूको संख्या नबढेको भने होइन । कानुनले दिएको छुटलाई दुरुपयोग गरेर विकृति भित्र्याउनेहरू पनि छन् । गर्भपतन र परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नुलाई केही नयाँ पुस्ता सामान्य जस्तै ठान्न थालेको छ ।

यो एक प्रकारमा गलत हो । कसैको दबाबमा जर्वजस्त उसले चाहको लिंगको सन्तान जनमाउनु पर्छ वा परिवारको आदेशमा दर्जनाँै पटक भए पनि गर्भपतन गराइरहनु पर्छ भन्ने अतिवाद महिला हिंसाको एउटा रूप हो, त्यो अतिवाद बन्द हुनुपर्छ । हरेक विषयका सकारात्मक र नकारात्क पाटा हुन्छन् । गर्भपतनको विषयमा पनि यसलाई दुरुपयोग गर्ने केही नकारात्मक पाटा होलान् तर, यसैलाई आधार मानेर सबै सकारात्मक पाटालाई ओझेलमा पार्नु हुँदैन । हाम्रो समाज अहिले पनि महिलालाई बच्चा जन्माउने मेसिनको रूपमा हेर्ने सोचाइबाट मुक्त हुन सकेको छैन । परिवारको लागि छोराको चाहनामा दर्जनौँ छोरी जन्माउनु पर्ने, वा परिवारको दाबाबमा दर्जनौँ पटक असुरक्षित तरिकाबाट गर्भपतन गर्न वाध्य हुने अवस्थाबाट अहिले पनि महिलाहरू मुक्त हुन सकेको छैन । सन्तान आफ्नो इच्छा र चाहनाले भन्दा पनि परिवारको दबाबमा जन्माउनुपर्ने । आफ्नो गर्भमा आफ्नोभन्दा परिवारको अधिकार हुने गलत कारणले आएको हो गर्भपतनसम्बन्धी विधेयक ।
आफ्नो इच्छाविपरीत वा कानुनले बाटो खोलेको विषय उमेर नपुगी, हाडनाताबाट रहेको गर्भ, जर्वजस्तीजस्ता करणीबाट रहेको गर्भबाहेक लिंग परीक्षण गरी गर्भपतन गर्न पाइदैँन । यसलाई कानुनी रूपमा दण्डनीय मानिन्छ । तर, अहिले पनि कयौं स्वास्थ्य संस्थाहरूले कानुनले दिएको छुटविपरीत लिंग परीक्षणको आधारमा लुकीछिपी गर्भपतन गर्ने गरेको सुनिन्छ । लिंग पहिचान गरी गर्भपतन गर्ने कार्य अहिले पनि जारी छ बन्द भएको छैन । बारबार गर्भपतन गराउँदा महिलाको स्वाथ्य बिग्रन्छ भन्ने जान्दाजान्दै पनि परिवारको जोरबलमा यस्ताकार्य हुने गरेको छ । यसले समाज र स्वयं महिलाको स्वास्थ्य र मानसिक अवस्थामा पार्ने असरबारे परिवार सचेत भएको देखिँदैन । अझ लिंगको आधारमा गरिने गर्भपतन असुरक्षित हुने गरेको छ । कानुनी रूपमा लिंगको आधारमा गरिने गर्भपतनलाई अवैधानिक मानेको कारण पनि कतिपय मानिस असुरक्षित बाटोतिर जाने गरेको देखिन्छ ।

यसका कारण कयौं महिलाले अकालमा ज्यान गुमाउन परेको घटना बेलाबेला अखबार र टेलिभिजनका समाचार बन्ने गरेका छन् । ग्रामीण भेगमा त अझ नीजि क्लिनिकमा गर्भपतन गराउन औषधि खाने र स्वास्थ्य बिग्रिएपछि अस्पताल पुग्नेको संख्या बढदै गएको छ । वैधानिक होस वा अवैधानिक गर्भ रहेपछि नजिककाले थाहा पाउलान भनेर लुकीछिपी औषधि खाएर ज्यान जोखिममा पार्नेहरूको संख्या अहिले पनि घटेको छैन । कानुनी रूपमा मान्यता पाएका गर्भपतन गर्ने संघ संस्थामा भन्दा महँगो र असुरक्षित स्वास्थ्य केन्द्रमा गएर ज्यान र धनलाई जोखिममा पार्नेहरूको संख्या घट्नुको सट्टा बढ्दै छ । असुरक्षित रूपमा हुने गर्भपतनले महिलाको प्रजनन स्वास्थ्य बिग्रने, बाँझोपन हुनु, पाठेघर झर्ने र रक्तश्राव हुने गर्छ । जसले महिलाको स्वास्थ्यमा ठूलो असर पर्ने गरेको चिकित्सकहरू बताउँछन् । तर महिलाको स्वास्थ्यमा असर पुग्छ भन्ने जान्दाजान्दै पनि परिवारले सचेतनता देखाउँदैनन् ।

उनीहरूलाई वंश धान्ने सन्तान भए पुग्छ केवल । यो भावनात्मक रूपमा पनि महिलाको अधिकारमाथि प्रहार हो । यसलाई हरेक ठाउँबाट बन्देज लगाइनु पर्छ ।
खासगरी असुरक्षित रूपमा गर्भपतनले महिलाको ज्यान जोखिममा पर्छ । अझ सरकारले २०७३ । ७४ वार्षिक बजेटमार्फत सबै सरकारी स्वास्थ्य संस्थामार्फत निःशुल्क गर्भपतन सेवाका लागि बजेट विनियोजन गरी आवश्यक कार्यान्वयनका लागि निर्देशिकासमेत तयार पारेको छ । तर, पनि कयौं महिला वा परिवार सरकारले सुविधा दिएको स्वास्थ्य संस्थामा नगएर नीजि स्वास्थ्य संस्थामा गई असुरक्षित रूपमा गर्भपतन गराउने गरेको पाइन्छ । यो रोकिनुपर्छ । कानुनले दिएको अधिकारभित्र रहेर आफ्नो गर्भ स्वामित्व आफंै हुनु पाउनु कानुनी अधिकारलाई सामाजिक रूपमा स्थापित गराउनु पर्छ ।

प्रतिक्रिया