दुई आरक्षलाई राष्ट्रिय निकुञ्जमा रुपान्तरण

7 ban_arthasansarकाठमाडौँ, १८ जेठ । वन तथा भूसंरक्षण मन्त्रालयले नौ महिनाका अवधिमा एक सय १७ निर्णय, १४ कार्यविधि, निर्देशिका, मापदण्ड, तीन रणनीति, ३५ कार्यदल निर्माणलगायत प्रशासनिक निर्णय तथा पाँच ऐन नियम निर्माणमा स्वीकृति तथा संशोधन गरेको छ ।

वनमन्त्री शंकर भण्डारी शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गत भदौदेखि आफ्नो कार्यकालमा भएका नीतिगत निर्णय तथा उपलब्धि सार्वजनिक गर्दै दुई आरक्षलाई राष्ट्रिय निकुञ्जमा रुपान्तरण तथा ५८ जलविद्युत्, विद्युतीय रेलमार्ग, सिंचाइ, बाटोघाटो, खानेपानी आयोजनालाई वनक्षेत्रको जग्गा अन्य प्रयोजनका लागि उपलब्ध गराउन सफल भएको बताए ।

मन्त्रालयले गत १७ देखि १८ पुससम्म हिउँ चितुवा पाइने विश्वका १२ देशका मन्त्री तथा संरक्षण क्षेत्रमा कार्यरत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुका प्रमुख र प्रतिनिधिलाई आमन्त्रण गरी दोस्रो मन्त्रिस्तरीय बैठक सम्पन्न भएको जनाएको छ ।

त्यस्तै विदेशवाट आयातीत काठ निरुत्साहन गरिएको, स्वदेशको वनक्षेत्रको उत्पादकत्व अभिवृद्धि गर्न विदेशवाट काठ आयात गर्दा अपनाउनुपर्ने मापदण्ड, २०७३ तयार गरी कार्यान्वयनमा ल्याइएको र लामो समयदेखि थाती रहेका ४८ प्रजातिका वन्यजन्तुका करिब चार हजार आखेटोपहार चितवन राष्ट्रिय निकुञ्जको कसरामा जलाएर नष्ट गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले सो अवधिमा राष्ट्रपति चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना मन्त्रिपरिषद्बाट स्वीकृत भई कार्यान्वयनमा ल्याएको तथा संघीयता कार्यान्वयनसंँगै नेपालका सात सय ४४ स्थानीय तहको वनक्षेत्रको अवस्थाको नक्सांकन तयार गरेको छ ।

मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारीको प्रतिस्पर्धात्मक प्रणालीबाट नियुक्ति र मनोनयनका लागि मापदण्ड एवं कार्यविधि तयार गरी स्वीकृत भई सोहीबमोजिम नियुक्तिको प्रक्रिया सुरु गरिएको छ ।

मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापन राहत कोष सञ्चालन कार्यविधि २०७३ र वन्यजन्तु उद्धार एवं उद्धार केन्द्र व्यवस्थापन कार्यविधि २०७३ स्वीकृत गर्नु तथा संरक्षित क्षेत्रको व्यवस्थापन योजना तयारी, लामो समयदेखि रिक्त वन रक्षक तथा हात्तीसार समूह एवं गेम स्काउटको भर्नाका लागि विज्ञापन भई भर्ना प्रक्रिया सुरु गरिएको छ ।

मन्त्रालयले भूकम्पपछिको पुनःनिर्माणका लागि सामुदायिक वनबाट सात लाख २८ हजार क्यु फिट, घरसार (घरको पुरानो काठ सार्न दिएको) व्यवस्थापनबाट एक लाख १० हजार क्यु फिट, टिम्बर कर्पोरेसनबाट ४२ हजार पाँच सय क्यु फिट काठ, विभिन्न जिल्लामा बिक्रीवितरण गरेको छ । त्यस्तै शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट करिब एक लाख ७४ हजार क्यु फिट काठ उत्पादन भई भूकम्पपिडितलाई उपलब्ध गराउने क्रम जारी छ ।

सो अवसरमा मन्त्री भण्डारीले आफूले वन मन्त्रालयलाई महत्वपूर्ण मन्त्रालयका रुपमा स्थापित गरेको बताउँदै मन्त्रालयको काममा कर्मचारीको मनोबल उच्च पारेको बताउनुभयो । उनले विभिन्न चुनौती भए पनि वन अतिक्रमण रोक्न सफल भएको जिकिर गर्दै दिगो वन व्यवस्थापनका लागि वैज्ञानिक वन व्यवस्थापन कार्यक्रममा उल्लेखनीय सफलता प्राप्त भएको अवगत गराए ।

प्रतिक्रिया