आमा छोरी एउटै पदमा भिड्दै

झापा १९ जेठ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा झापामा आमा–छोरीले एउटै पार्टीबाट उपप्रमुखको टिकट पाएका छन् । काग्रेसबाट भद्रपुर नगरपालिकामा तारा भुर्तेलले उपप्रमुखको टिकट पाएकी छन् भने उनकी छोरी दुर्गा भुर्तेल खतिवडाले मेचीनगर नगरपालिकामा उपप्रमुखकै टिकट पाएकी हुन् ।
‘राजनीतिमा आमा–छोरी भनेर जिम्मेवारी पाउने कुरामा रोकिने कुरा हुँदैन,’ कांग्रेसबाट भद्रपुरको उपप्रमुख पदकी उम्मेदवार बनेकी तारा भुर्तेलले भनिन्, ‘पार्टीमा काम गरेको आधारमा मूल्यांकन भएको हो ।’
कांग्रेसको महासमिति सदस्यसमेत रहेकी ७१ वर्षीय ताराले ०५४ सालमा भएको स्थानीय निकायको निर्वाचनमा भद्रपुरबाट वडाध्यक्ष पदमा जितेकी थिइन् । २० वर्षअघि नै जनताको प्रतिनिधि बनेर सेवा गर्ने अवसर पाएकी उनी चुनाव जित्ने दाबी गर्छिन् । राजनीतिमा उमेरले नछेक्ने उनी बताउँछिन् । ‘अहिले पनि ममा १६ वर्षेले झँै पार्टीको काममा खटिने गर्ने जोस, जाँगर छ,’ उनी भन्छिन, ‘राजनीति गर्नलाई उमेरले छेक्दैन ।’ छोरी दुर्गा भुर्तेल खतिवडा पनि कांग्रेसकी महाधिवेशन प्रतिनिधि हुन् । उनी नेपाल महिला संघको क्षेत्र नम्बर १ को पूर्वसभापति पनि हुन् । विभिन्न संघसंस्थामा सक्रिय खतिवडाले राजनीतिमा लाग्ने प्रेरणा आमाबाटै पाएको बताइन् ।

प्रतिक्रिया