पश्चिमाञ्चलको विजयी सुरुआत

mai newsकाठमाडौं । पश्चिमाञ्चल विकास क्षेत्रले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेटमा पहिलो जित हात पारेको छ । बुधबार भएको खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल विकास क्षेत्रमाथि ९५ रनको फराकिलो जित निकाल्यो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (टियु) मैदानमा पश्चिमाञ्चलले दिएको २ सय ३ रनको लक्ष्य पछ्याएको मध्यमाञ्चलले ४० दशमलव ३ ओभरमा अलआउट हँुदै १ सय ७ रन मात्र बनाउन सफल भयो । मध्यमाञ्चलका लागि इशान पाण्डेले २४ तथा किशोर महतो अविजित २० रन बनाए । कुनै पनि ब्याट्सम्यानले मध्यमाञ्चलको लागि उल्लेखनीय रन जोड्न सकेनन् । मध्यमाञ्चलको पारीमा संसद आलमले १५ तथा सुमित महर्जनले १० रन जोडे । कप्तान शरद भेषावाकरले मात्र ७ रन जोडे ।

मध्यमाञ्चललाई सस्तैमा समेट्ने क्रममा पश्चिमाञ्चलका लाल अधिकारी र रोहित कुमारले समान ३–३ विकेट लिए । विपिन खत्रीले २ विकेट लिए ।यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पश्चिमाञ्चलले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय २ रनको स्कोर बनाएको थियो । एक समय ८७ रनको स्कोर बनाउदा महत्वपूर्ण पाँच विकेट गुमाएको पश्चिमाञ्चलको उच्च स्कोरमा सौरभ खनाल नायक बने । सौरभले ७८ रनको अर्धसतकीय अविजित पारी खेले । ५८ बलको सामना गरेका सौरभले ६ छक्का र ३ चौका प्रहार गरे । पहिलो खेलअन्तर्गत एपिएफ क्लबविरुद्ध उत्कृष्ट पारी खेलेका सौरभको यो लगातार दोस्रो अर्धशतक पनि हो । पश्चिमाञ्चलका लागि अन्तिम थापाले ३४, अनिल गुरुङले २८ रन जोड्दा विधान श्रेष्ठले १८ तथा कृष्ण कार्कीले १५ रन बनाए ।

मध्यमाञ्चलका लागि किशोर महतोले ३ तथा नन्दन यादवले २ विकेट लिए । जितसँगै समूह ‘बी’ मा रहेको पश्चिमाञ्चलले २ अंक जोडेको छ । यो जितले पहिलो खेलमा एपीएफसँग पराजित पश्चिमाञ्चल सेमिफाइनलमा पुग्ने सम्भावना कायम राखेको छ । यस समूहमा एपिएफको पनि २ अंक छ । मध्यमाञ्चल र सुदूरपश्चिमाञ्चलको १–१ अंक छ । समूह ‘ए’ बाट २ विभागीय टोली त्रिभुवन आर्मी र नेपाल पुलिस क्लब सेमिफाइनलमा पुगिसकेको छ ।

प्रतिक्रिया