चितवनमा बाह्रसिंगे बचाउनै कठिन

barha-singeचितवन १७ जेठ । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जबाट यहाँको चितवन राष्ट्रिय निकुञ्जमा स्थानान्तरण गरिएका बाह्रसिंगे बचाउन कठिन देखिएको छ ।  सात बाह्रसिंगे ल्याइएकामा तीन वटा मरिसकेका तथा चार बाँकी बचेका छन् । बाह्रसिंगे हेर्दै आएका निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार यही जेठको पहिलो साता थप एउटा बाह्रसिंगे मरेको छ ।  शुक्लाफाँटाबाट ल्याएलगत्तै दुई बाह्रसिंगे मरेका थिए । उनका अनुसार हाल तीन पोथी र एक भाले जीवित छन् । पाठकका अनुसार १६ घन्टा लामो यात्रामा बाटामा ल्याउँदा बाह्रसिंगेलाई खुट्टामा घोटिएर हिँड्न कठिन भएको थियो । लामो बाटाका कारण मानसिक र शारीरिक थकानसँगै खुट्टा घोटिएर हिँड्न नमिलेपछि बाह्रसिंगे मरेको पाठकले बताए ।
अन्य चार बिस्तारै हिँडडुल र चरिचरन गर्न थालेकाले अब बचाउन सकिने अनुमान गरिएको छ । यही २ जेठमा पछिल्लोपटक मरेको बाह्रसिंगे पनि हिँड्डुल गर्न कठिन भएर तारजाली वरपर नै बसिरहेको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार लामो यात्रा गराउँदा बाह्रसिंगे बचाउन कठिन भएको हो । २५ वटासम्म बाह्रसिंगे ल्याउने योजना भए पनि सफल नहुने देखिएपछि ल्याउन रोकिएको छ । कँडेलले नयाँ तरिका अपनाएर मात्र ल्याउनुपर्ने देखिएको बताए । फराकिलो र ठूलो खोर बनाएर बथान नै राखेर बिस्तारै ल्याउन सके मात्रै स्थानान्तरण सफल हुने देखिएको बताउँदै उनले यहाँको वातावरण तथा पानी, घाँस सबै सुविधा भए पनि लामो यात्राकै कारण सबै बाह्रसिंगे बचाउन नसकिएको बताए ।
गत १३ वैशाखदेखि बाह्रसिंगे स्थानान्तरणको काम सुरु गरिए पनि सफल नदेखिएपछि सात वटा ल्याइएपछि काम रोकिएको थियो । बाह्रसिंगेलाई निकुञ्जभित्रको पदमपुरमा अर्ना राख्न बनाइएको तारबार (इन्क्लोजर) भित्र राखिएको छ । सो ठाउँमा १५ अर्ना पनि छन् ।

प्रतिक्रिया